नेभिगेसन मेनु

यौन अपराधसम्बन्धी कानुनमा व्यापक परिमार्जन गर्दै जापान
सम्पादक:南亚网络电视
समय:2023-06-22 17:29

0

सात वर्षकी नाबालिक हुँदा आफूमाथि भएको यौन दुर्व्यवहारबारे उजुरी गर्दा प्रहरीले हाँसोमा उडाएको केनेको मियुकीले अझै बिर्सिएकी छैनन् । ‘म यसै पनि अन्योलग्रस्त र भयभीत थिएँ । उनीहरूले मलाई बच्ची भनेर गम्भीर ढंगले लिँदै लिएनन् ।’ त्यसपछिको अनुसन्धानले त अवस्थालाई झनै खराब बनायो । सोधपुछपछि उनलाई अभिभावकको उपस्थितिविना नै दुर्व्यवहार स्थलमा लगियो, जुन सम्पूर्ण रूपलेआधुनिक विधिशास्त्रविपरीत थियो ।

प्रहरीले उनका आरोपितलाई कहिल्यै न्यायको कठघरामा उभ्याएनन् । यो अनुभव कानेकोका लागि असाध्यै पीडादायी रह्यो, उनले यो कुरा वयस्क नहुँदासम्म दबाएर राखिन् भने ४० को दशकमा टेकेपछि मात्रै त्यो त आफूमाथि यौनहिंसा भएको रहेछ भनेर बुझ्न सकिन् । 

कानेको जस्तै अनगिन्ती जापानी महिला आफ्ना गुनासालाई यौनहिंसाको ‘मापदण्डभित्र नपर्ने’ भनेर यौनहिंसा एवं दुर्व्यवहारको बेवास्ता गर्ने गरिएको बताउँछन् । सन् २०२० को एक सरकारी सर्वेक्षणअनुसार जापानमा करिब ९५ प्रतिशत पीडितले कहिल्यै पनि आफूमाथिका यौनहिंसाबारे प्रहरीमा उजुरी गर्दैनन् भने करिब ६० प्रतिशतले त्यसबारे कसैलाई पनि बताउँदैनन् । अब भने यो प्रवृत्तिमा परिवर्तन हुन सक्ने देखिएको छ । यसै शुक्रबार जापानी संसद्ले पुरानो र अपर्याप्त भन्दै लामो समयदेखि आलोचना भइरहेको यौन अपराधसम्बन्धी कानुनलाई परिमार्जन गर्ने विधेयकको मस्यौदा पास गरेको छ । 

नयाँ कानुनले सहमतिको अवधारणामा जोड दिँदै बलात्कारको परिभाषालाई फराकिलो बनाएको छ । गोप्य क्यामेराबाट तस्बिर खिच्ने कार्यलाई वर्जित गर्दै यौनसम्बन्धका लागि सहमतिको उमेरहद १६ वर्ष पुर्‍याइएको छ । यसअघि जापानमा यौनसम्बन्धका लागि सहमतिको उमेर १३ वर्ष राखिएको थियो, जुन विकसित विश्वकै कम हो । पछिल्लो कदम यौन उत्पीडनका पीडित एवं अभियन्ताहरूका लागि ठूलो विजय हो ।

उनीहरूमध्ये केहीले यस परिवर्तनका लागि दशकौँदेखि लबिङ गरिरहेका थिए । ‘हामीसँगसँगै आवाज उठाउने यौनहिंसाका सम्पूर्ण पीडितलाई गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ यौन पीडितको पक्षमा वकालत गर्दै आएको समूह ‘स्प्रिंग’ले भनेको छ । हदम्याद बढाउने, पदमा रहेको व्यक्ति संलग्न भएका यौनहिंसाजन्य कसुरलाई सम्बोधन गर्नेलगायत थुप्रै विषयमा काम गर्न बाँकी रहेकोप्रति सचेत गराउँदै समूहले नयाँ विधेयकलाई प्रगतिको संकेत भएको बताएको छ । 

सहमतिको प्रश्न र उमेरहद

शुक्रबार पारित कानुनको सबैभन्दा ठूलो सुधार भनेको बलात्कारलाई परिभाषित गर्न प्रयोग गरिने भाषामा गरिएको परिवर्तन हो । बलात्कारको परिभाषामा सहमतिको अवधारणामा विशेष जोड दिइएको छ । यसअघि पीडितको ‘अचेतन अवस्था वा प्रतिरोध गर्न नसक्ने’ अवस्थाको फाइदा उठाएर ‘आक्रमण गरेर वा डर–त्रास देखाएर’ गरिएको ‘जबर्जस्ती यौनसम्पर्क’का रूपमा बलात्कारलाई परिभाषित गरिएको थियो । यसैगरी बलात्कार स्थापित हुन ‘प्रतिरोधको प्रयास’ गरेको प्रमाण दिन सक्नुपथ्र्याे । यसैले अभियन्ताहरूले डरत्रासका कारण पीडितले भौतिक रूपले प्रतिकार गर्न नसक्नेजस्ता स्थितिमा प्रतिरोध प्रमाणित गर्न असम्भव हुने भनेर सुधारको माग गर्दै आएका थिए । 

नयाँ कानुनले ‘जबर्जस्ती यौनसम्पर्क’लाई ‘सहमतिरहित यौनसम्पर्क’ले प्रतिस्थापन गरेको छ भने यौन दुव्र्यवहारको परिभाषालाई पनि विस्तार गरेको छ । मदिरा वा लागुपदार्थको नशाको प्रभावमा यौनशोषणमा परेका, मानसिक वा शारीरिक समस्या खेपिरहेका र पीडकको सामाजिक एवं आर्थिक हैसियतका कारण प्रतिकार गर्न नसकेका पीडितलाई समेट्ने गरी यौनहिंसा तथा दुव्र्यवहारको परिभाषालाई विस्तार गरेको छ । यौनहिंसाको आघात वा अन्य ‘मनोवैज्ञानिक’ कारणले गर्दा प्रतिरोध गर्न नसक्नेहरूलाई पनि समेटेको छ ।

नयाँ कानुनले सहमतिमा हुने यौनसम्पर्कको उमेरहद १६ वर्ष पुर्‍याइएको छ । यसअघि जापानमा यौनसम्बन्धका लागि सहमतिको उमेर १३ वर्ष थियो, जुन विकसित विश्वमध्येकै कम हो । 

अन्य मुख्य परिवर्तनमा सहमतिको उमेरलाई दुवै पक्ष नाबालिग भएको अवस्थामा बाहेक १६ वर्षसम्म पु¥याइएको छ, जुन अमेरिकाका विभिन्न राज्य, बेलायत, फिनल्यान्ड तथा नर्वेलगायत युरोपेली देशसरहको व्यवस्था हो । यो संशोधनले नाबालिकलाई सुरक्षा प्रदान गर्छ । पहिलोपटक नयाँ कानुनले यौनजन्य तस्बिर माग्ने वा यौन उद्देश्यका लागि नाबालिकलाई भेट्ने जस्ता गतिविधिलाई पनि यौनअपराध मानेको छ ।

त्यस्तै, नयाँ कानुनले जानकारी वा सहमतिविना कसैको अश्लील वा अभद्र फोटो खिच्ने तथा वितरण गर्नेलाई पनि अभियोजनको बाटो खुलाएको छ । जापानमा गोप्य क्यामेराबाट स्कर्ट लगाएका महिलाको आपत्तिजनक फोटो खिच्ने र तिनलाई सामाजिक सञ्जालमा फैलाउने समस्या लामो समयदेखि रहिआएको छ ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार गत वर्षको एउटा सर्वेक्षणमा जापानभरका ३८ हजारभन्दा बढी उत्तरदातामध्ये करिब नौ प्रतिशतले अरूको नग्न तस्बिर वा यौन क्रियाकलाप हेरेर यौन आनन्द लिने ‘भोयेरिज्म’को सामना गरेको बताएका थिए । पीडितमध्ये केहीले आफ्नो स्कर्टमुनिबाट फोटो खिचेर र केहीले चाहिँ चेन्जिङ रुम तथा बाथरुमबाट गोप्य रूपमा तस्बिर खिचेर सामाजिक सञ्जालमा सेयर गरी पीडित बनाएको बताएका थिए ।

सहभागीले यसले आफ्नो मानसिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव परेको र रेल एवं स्कुललगायत सार्वजनिक स्थानमा असुरक्षित महसुस गर्ने गरेको बताएका थिए । एनएचकेको खोजमा यस्ता घटनाबारे उजुरी गर्दा पनि पीडितले बिरलै सहयोग पाउने गरेको, बरु साथीभाइ वा प्रहरी अधिकारीले भड्किलो पोसाक लगाएर आफूलाई आफैँले जोखिममा पारेको प्रतिक्रिया पीडितहरूको थियो । 

अहिलेसम्म जापानमा भोयेरिज्मविरुद्धका कानुन स्थानिय सरकारलेमात्रै लागू गर्दै आएका थिए । अब भने यो संघिय कानुन अन्तरगत आएको छ । एक विमान परिचारिकाको स्कर्टमुनीबाट लिइएका थुप्रै तस्विर सहित सन् २०१२ मा एक यात्रु पक्राउ परेपछि भोयेरिज्मबारे निकै बहस भए । तर, आपत्तिजनक फोटो खिच्ने अपराध स्वीकार गर्नेविरुद्ध अभियोजन नै दर्ज भएन । किनभने अपराध उडिरहेको विमानमा भएको थियो र अपराध हुँदा विमान कुन प्रिफ्याक्चरमा थियो भन्ने क्षेत्राधिकारको प्रश्नमा नै अभियोजक अलमलिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर