नेभिगेसन मेनु

स्थानीय तहमा बजेट बनाउने चटारो
सम्पादक:南亚网络电视
समय:2023-06-22 15:05

ण

हेटौँडा, असार ७ गते । स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ। बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नु पर्छ । 

स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नु पर्छ । 

बजेटको आकार घट्ने

योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा स्थानीय तह जुटेका हुन्। मकवानपुरका १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकाले बागमती प्रदेश सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्ट अर्थात् असार २ गते बजेट ल्याइसकेको छ। 

सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै यहाँका सबै जसो स्थानीय तहको बजेटको आकार घट्ने निश्चित भएको छ। स्थानीय तहको आगामी आवको बजेट चालु आवको तुलनामा १० प्रतिशतको हाराहारीमा घट्ने आकलन स्थानीय तहका पदाधिकारीहरूको रहेको छ।

हेटौँडा उपमहानगरपालिकाले सङ्घ र प्रदेशबाट आउने अनुदानसँगै आन्तरिक स्रोत घटेको भन्दै चालु आवको तुलनामा घटाएर आगामी आवको बजेट ल्याएको छ। आगामी आवका लागि हेटौँडा उपमहानगरपालिकाले दुई अर्ब ६० करोड ६५ लाख ४० हजार रुपियाँको बजेट ल्याएको छ। यो चालु आवको बजेटको तुलनामा ११ करोड रुपियाँले कम हो। 

कृषि, शिक्षा, स्वास्थ्य प्राथमिकतामा

स्थानीय तहको आगामी आवको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता विगत वर्षमा झैँ मूलतः कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन नै पर्ने भएको छ। 

राक्सिराङ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष हरिबहादुर प्रजाले आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार ९ गते गाउँ सभामा पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले प्रदेश र सङ्घीय सरकारबाट अनुदान रकम घटेर आएकाले आगामी आवको बजेटको आकार घट्ने बताउनुभयो। 

कैलाश गाउँपालिकाले कार्यक्रम र बजेटको रातो किताबमा पहिलो पटक गाउँपालिकाभित्र काम गर्दै आएको गैरसरकारी संस्थाको बजेट र कार्यक्रमसमेत समेटेर आगामी आवको बजेट सार्वजनिक गर्ने भएको छ। सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले यही असार ७ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी तय भएको जानकारी दिनुभयो। उहाँले बजेटको आकार घट्ने जानकारी दिँदै कृषि, पर्यटन र ग्रामीण सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर बजेट आउने बताउनुभयो। 

यसै गरी भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम असार ७ गते र बजेट असार १० गते ल्याउने गरी तयारी गरिएको छ। सो गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आवको बजेटमा शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउनुका साथै चालु आवका अधुरा योजनाले निरन्तरता पाउने बताउनुभयो। 

बकैया गाउँपालिकाले कृषि, शिक्षा र पूर्वाधारलाई जोड दिँदै आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ। गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी भइरहेको भन्दै आन्तरिक राजस्व परिचालन वृद्धि गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम आउने बताउनुभयो।

मकवानपुर जिल्लाका अन्य स्थानीय तहको जस्तै आन्तरिक स्रोत परिचालन कमजोर र प्रदेश र सङ्घीय अनुदान घटेर आएकाले थाहा नगरपालिकाको आगामी आवको बजेटको आकार पनि घट्ने भएको छ। नगरपालिकाका उपप्रमुख भरत गोपालीले असार १० मा बजेट ल्याउने गरी तयारी भइरहेको भन्दै टोल र वडास्तरमा योजनाबारे छलफल भइरहेकाले अहिले कुन क्षेत्रले प्राथमिकता पाउने भन्ने निक्र्योल नभएको बताउनुभयो।

बागमती गाउँपालिकाका उपाध्यक्ष फनिन्द्रकुमार तिमल्सिनाले कृषि, पशुपालन र पूर्वाधारलाई प्राथमिकतामा राखेर यही असार १० गते गाउँपालिकाको बजेट आउने बताउनुभयो। मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले यही असार १० देखि १२ भित्र नीति तथा कार्यक्रम र बजेट कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राख्दै ल्याइने जानकारी दिनुभयो। 

यसै गरी इन्द्रसरोवर गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गते गाउँ सभामा पेस गर्ने कार्यतालिका बनेको छ। सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले चालु आवको अनुपातमा आगामी आवको बजेट पाँचदेखि १० प्रतिशतसम्म घट्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट आउने बताउनुभयो।

बजेटको पूर्वतयारी

स्थानीय तहहरूले बजेट निर्माणका क्रममा राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परामर्श समितिले आवश्यक निर्णय लिने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले कुल बजेट अनुमान, सीमा निर्धारण, बजेट तर्जुमा मार्गदर्शन गर्ने र विषयगत समितिले वडास्तरीय र विषयगत शाखाको योजना तर्जुमा गर्ने, निर्णय र सिफारिससहित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गर्ने प्रक्रिया अवलम्बन गर्ने गर्छन्। 

साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिले आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गर्ने, वडा समितिले वडागत योजना पेस गर्ने, गाउँ कार्यपालिका बैठकले बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रस्ताव गरेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने र अन्त्यमा गाउँ सभामा प्रस्ताव नीति तथा कार्यक्रम र बजेट स्वीकृतिका लागि पेस गर्ने गरी स्थानीय तहहरूले कार्यतालिका बनाएका छन्।

असारे विकास

बजेट निर्माणसँगै असारे विकासको वर्षाैंदेखिको गलत परम्परा र प्रवृत्तिबाट मुक्त हुन नसकेका स्थानीय तहका पदाधिकारीलाई अहिले कतै तालिम उद्घाटनको रिबन काट्न त कतै सडक ढलानको शिलान्यासमा नरिवल फोड्न भ्याइनभ्याइ छ।  

आवको नौ महिना प्रक्रियालगायतमै लाग्ने गरेका स्थानीय तहहरू वैशाखदेखिको तीन महिना बजेट खर्चमा व्यस्त हुने गरेका छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर