काठमाडौं : दिनप्रतिदिन बैंकिङ कारोबारमा डिजिटल उपकरणहरू थपिँदै छन् । र, यसका प्रयोगकर्ता पनि बढ्दै छन् । यससँगै यसको जोखिम पनि बढेको छ । मुलुकले डिजिटललाई केन्द्रित गर्दै गतिविधि बढाएको छ । बिहीबारमात्रै नेपाल भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी (क्रस बोर्डर पेमेन्ट) गर्न सम्झौता भएको छ । यसले मुलुक र नागरिकलाई एड्भान्स बनाउँदै लैजाने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय एक हदसम्म विद्युतीय कारोबारमा फड्को मारेको तथ्यांकले प्रस्ट्याउँछ । तर, डिजिटल साक्षरतामा भने बैंकहरूले अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ ।
विद्युतीय उपकरणबारे बैंकहरूले अंग्रेजी भाषाको अधिकतम प्रयोग गर्दा धेरै ग्राहक झुक्किएको गुनासो छ । मोबाइल एसएमएस होस् वा इमेललगायत सबैमा नेपाली भाषा राख्न आवश्यक हुने ग्राहकहरू बताउँछन् । चाबहिलकी अस्थायी बासिन्दा एक महिलाले आफ्नो खाता भएको बैंकबाट मोबाइलमा अंग्रेजीमा आएको म्यासेज बुझिनन् । उक्त सन्देशमा अंग्रेजीमा लेखेअनुसार भनिएको थियो ‘डेबिट कार्ड नवीकरण गर्न मूल्य बढाएर ४ सय पुर्याइएको छ । तपाईं नवीकरण नगर्ने हो भने ‘नो’ लेखेर यो नम्बरमा पठाउनु होला ।’ यो मेसो नपाएर उनी नजिकैको बैंक शाखामा पुगिन् । ‘कर्मचारीलाई सोध्दा कसैले खाता खोलेको शाखा जानुस् भने । फेरि अर्को कर्मचारीले राम्रोसँग पढेर भनिदिए, नवीकरण गर्ने हो भने केही उत्तर नदिनुस्, नवीकरण नगर्ने हो भने ‘नो’ लेखेर पठाउनुस् भनेको हो,’ उनले सुनाइन् ।
बैंकमा उनीमात्रै होइन, अर्का एक युवा पनि सोही म्यासेज झुक्किएर मोबाइलमा हत्तपत्त नो लेखेर पठाएपछि डेबिट कार्ड बन्द हुने पत्तै भएन अब कसरी खुलाउने भनेर गुनासो लिएर आएका थिए । यद्यपि बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा समस्या परे गुनासो गर्न शाखा नै छुट्ट्याएर राम्रो व्यवस्था गरेको छ । जहाँ थुप्रै गुनासाहरू आउने गर्छन् । र सोहीअनुसार सम्बोधनको कोसिस गरी नै रहेका छन् । तर, जे भए पनि भाषामा मात्रै सरलीकृत गर्दा आम ग्राहकबाट सामान्य त्रुटिमा जानकार हुन पाउँछन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका विद्युतीय बैंकिङ (ई–बैंकिङ) उपकरणहरूमा आकर्षण बढ्दो छ । विद्युतीय वालेट, प्रिपेड कार्ड, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्डलगायतका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अझ यी उपकरणबाट क्यूआर कोड प्रयोगबाट भुक्तानी गर्ने ग्राहक पनि बढेका छन् । समयको माग, सरल, सहज भएकाले युवा पुस्ता यसमा आकर्षित हुनु स्वाभाविक हो ।
बैंकहरू र भुक्तानी सेवा प्रदायक संस्थाहरूले सञ्चालन गरेको विद्युतीय वालेटका प्रयोगकर्ताहरू एकै वर्ष ५० प्रतिशतले बढेका छन् । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्यांकअनुसार वालेटको प्रयोगकर्ता १ करोड ७५ लाख ६० हजार पुगेको छ । गत वर्षको चैत्रमा १ करोड १७ लाख हाराहारीमा थिए । यसबीच ५८ लाख ४० हजारको संख्यामा वृद्धि भएको छ । विद्युतीय वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो ।
वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिदबापत रकम भुक्तानी गर्न सक्छन् । वालेटबाट प्रतिकारोबार ५० हजारसम्म, प्रतिदिन एक लाखसम्म तथा प्रतिमहिना १० लाखसम्म रकमान्तर गर्न सकिन्छ । यस बैंकले समयसमयमा निर्देशन जारी गरी यसरी रकमान्तर गर्ने सीमा परिवर्तन गर्न सक्नेछ ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा डेबिट कार्डका प्रयोगकर्ता १६.०४ प्रतिशतले बढेर १ करोड २१ लाख पुगेका छन् । डेबिट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड हो ।
यसैगरी आवश्यकताका आधारमा क्रेडिट कार्ड लिने प्रयोगकर्ता २५.०८ प्रतिशतले बढेर २ लाख ८५ हजार हाराहारीमा पुगेका छन् । क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो ।
यसपछि प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या पनि २९.४८ प्रतिशतले बढेको छ । संख्यामा भने १ लाख २७ हजार हाराहारी पुगेका छन् । कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्र प्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो ।
यसैगरी मोबाइल बैंकिङका ग्राहक १७.५६ प्रतिशतले बढेर २ करोड ४ लाख ३४ हजार पुगेका छन् । यस्तै, १७ लाख ७९ हजार ९ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन् । यसबीच कनेक्ट आईपीएसका प्रयोगकर्ता २५.०५ प्रतिशतले बढेका छन् । गत वर्ष ८ लाख ४१ हजार हाराहारीको यसका प्रयोगकर्ता २ लाख १० हजारले बढेर हाल १० लाख ५१ हजार हाराहारी पुगेका छन् ।
अझ यस्ता वित्तीय उपकरणबाट स्क्यान गरेर क्यूआर (क्विक रेस्पोन्स) कोडको प्रयोगबाट भुक्तानी अधिक हुन थालेको छ । यो एक विशेष प्रकारको बार कोड हो । जसलाई विद्युतीय भुक्तानी उपकरणले गर्दा त्यसमा संग्रह गरिएका विवरणहरू प्राप्त गर्न सकिन्छ ।
यसमा भुक्तानी प्राप्त गर्ने मर्चेन्टको खाताको विवरण रहेको हुन्छ । यस्तै ई–कमर्स पनि मौलाउन थालेको छ । घरै बसीबसी सामान, खाजा, खाद्यान्नलगायतका अर्डर गर्ने प्रवृत्तिले अनलाइन भुक्तानी बढेको छ । यो बढेसँगै जोखिम पनि उत्तिकै निम्तिएको छ ।
डिजिटल कारोबार जोखिमबाट कसरी बच्ने ?
आगामी दिनमा डिजिटल भुक्तानीलाई बढाउँदै जाने क्रममा यसलाई सुरक्षित बढाउनेमा केन्द्रीय बैंकले सजगतापूर्वक विभिन्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ ले पनि सुरक्षामा जोड दिएको छ । यसले ग्राहकको सुरक्षा, सम्पत्ति शुद्धीकरण (एएमएल) लगायतमा जोड दिएको छ । साथै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई भुक्तानी प्रवद्र्धन वर्षको रूपमा मनाउन सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा सञ्चालक संस्थाहरूलाई कम्तीमा एउटा डिजिटल वित्तीय साक्षरता कार्यक्रम गर्न भनिएको छ । तर, यति पर्याप्त भने होइन ।
राष्ट्र बैंकका अनुसार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सुसूचित गर्न खोजिएको छ । ‘नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति÷समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले सचेत हुन जरुरी छ,’ सार्वजनिक सूचनामा भनिएको छ ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेका छ । यसर्थ विद्युतीय कारोबार गर्दा यस प्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी छ । यस्तै, अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नु पर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नु पर्दछ ।
सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे, नगरेको व्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनु पर्छ । अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नु हुँदैन । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् । कसैले रकम भुक्तानी गर्ने बहानामा बार कोड अथवा क्यू आर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकास्पद रूपमा लिनुपर्छ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बार कोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।
कुनै पनि वेवसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेभसाइट हो, होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्छ ।