नेभिगेसन मेनु

कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ
सम्पादक:南亚网络电视
समय:2023-06-18 15:33

0

धनगढी, असार २ गते । कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् ।   

अहिले कैलालीसहित तराईमा चर्को गर्मी छ । उखरमाउलो गर्मीको पनि परवाह नगरेर किसानले खेतमा रोपाइँ गरिरहेका छन् । बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेको उनीहरूको भनाइ छ । “सबैतिर रोपाइँ सुरु भएमा पछि कामदार पाइँदैन,” धनगढी उपमहानगरपालिका–६ जालीका कृषक रामप्रसाद चौधरीले भन्नुभयो, “पछि कामदार नपाइने डरले डिजल जति खर्च भए पनि जेठमै रोपाइँ ग-यौँ ।” उहाँले एक बिघा जमिनमा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । 

गतवर्ष चाँडै मनसुन पुगेका कारण असारमा किसानले धमाधम रोपाइँ सुरु गरिसकेका थिए तर यो वर्ष अझै पानी परेको छैन । खेतमा धुलो उड्दैछ । जेठ अन्तिम साताबाट रोपाइँ गर्ने गरी ब्याड राखेका धेरैजसो किसान वर्षाको पर्खाइमा छन् तर बढी जग्गा जमिन भएका वा कामदारको भरमा रोपाइँ गर्ने किसानले सुक्खामै रोपाइँ सुरु गरिसकेका छन् । 

ब्याड तयार भएकाले रोपाइँ थालेको कैलारी गाउँपालिका–७, मोहनपुरका आरडी पल्परियाले बताउनुभयो तर पानी नपर्दा किसानलाई समस्या रहेको उहाँको भनाइ थियो । बोरिङको भरमा रोपाइँ गर्ने उहाँले उल्लेख गर्नुभयो । 

कैलालीमा चैतेभन्दा बर्खे धानको खेती बढी हुने गर्दछ । जिल्लाको भजनी, जोशीपुर, टीकापुरलगायतका पालिकामा कतिपय किसानले चैतेधान खेती गर्दै आएका छन् । सो क्षेत्रमा बाढीको समस्या हुने गरेकाले बर्खे धानको रोपाइँ पनि चाँडै हुने गरेको छ । तर पानी नपरेकाले यस वर्ष अहिलेसम्म फाटफुट किसानले मात्रै रोपाइँ सुरु गरेको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलालीमा धान प्रमुख बाली हो । यहाँ कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको छ । जसमध्ये ७० हजार ४०५ हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जनकराज बोहराले जानकारी दिनुभयो । गत वर्ष  यो जिल्लामा प्रतिहेक्टर ४.७ टनको दरले धान उत्पादन भएको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर