उपेन्द्र सुब्बाको कथा र निर्देशन रहेको प्रदर्शनरत नेपाली चलचित्र ‘जारी’ मौलिक कथाको आँगनमा लिम्बु संस्कृतिको केही झाँकीसहित प्रस्तुत छ ।
वैशाख ९ गते सिभिल मलमा साँझको सो हेर्दा मेरो छेउमा दुई खसआर्य युवती थिए । हामीबीच चिनजान नभए पनि उनीहरूले अनौठो मानेर सोधे– पालाम भनेको के हो ? मैले फ्याट्ट भनिदिएँ– कविता ।
पालाम भनेको धाननाचमा गाउने गीत हो भन्ने मैले सोलोडोलो रूपमा बुझेको थिएँ । तर, फिल्ममा कवितात्मक रूपमा आएको छ । यसपछि मलाई यस फिल्ममा आएका लिम्बु संस्कृतिबारे खोज्ने मन भयो । यस आलेख खासगरी यस फिल्ममा आएका लिम्बु संस्कृति र प्रथामा बढी केन्द्रित हुनेछ ।
माइतीले जारी तिर्न नसकेपछि चलचित्रकी नायिका (हाङ्मा) आफ्नो पूर्वश्रीमान् (नाम्साङ आङदाम्बे)कहाँ गोठालो (नोकर) बस्न जान्छिन्, ‘जारी’ फिल्मको कथासार यही हो । तर, यही कथासारभित्रको संघर्ष र उतारचढावका घटनाले छुटिसकेको दम्पतीबीच पुनः प्रेम उत्पन्न गर्छ र समग्रमा फिल्मले व्यावहारिक प्रेमको परिभाषा दर्शाउँछ ।
सन्तान नभएका कारण श्रीमान्ले श्रीमतीलाई थारी र श्रीमतीले श्रीमान्लाई नामर्दको संज्ञा वा गाली दिँदै भएको झगडा हातपातसम्म पुग्छ, यतिमै श्रीमती घर छाडेर माइत जान्छिन् । फिल्मको सुरुमै आएको नायक र नायिकाको यो झगडा एक झोँक्का हावा जत्तिको सानो आवेगले सिर्जना गरेझैँ लाग्छ, यद्यपि यो आवेगको पृष्ठभूमि सानो छैन । समाजले (केही हदसम्म प्रकृतिले पनि) निर्माण गरेको विषाक्त पुरुषत्व (मस्कुलिनिटी) र स्त्रीत्व (फेमिनिनिटी)को जगमा झगडाले विस्फोटको रूप भएको बुझिन्छ ।
हाङ्माले घर छाडेर हिँड्ने बेला श्रीमानलाई सिक्काले निधारतिर हानेकी हुन्छिन् । २०४२ मा प्रकाशित शिवकुमार श्रेष्ठको पुस्तक ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’मा लिम्बु विवाहबारे पनि उल्लेख छ । जसअनुसार, लगनको गाँठोस्वरूप एक रुपैयाँ दुलहीको बर्कोमा वाचा गरेर राखिन्छ, यसलाई ‘युप्पारे चेम्मा’ भनिन्छ । विवाहमा फेदाङमाले दुलहालाई बाँचुन्जेल दुलहीसँग मिलेर बस्ने, आफ्नो जिउसरह ठानी तिनलाई कहिले हेला नगर्ने तथा झगडा नगर्ने प्रतिज्ञा गराउँछन् । यस्तै, फेदाङमाले दुलहीलाई पनि आफ्नो लोग्नेलाई शिर ठानी इज्जतसाथ बस्ने र बाँचुन्जेल लोग्नेसँग मिलेर बस्ने प्रतिज्ञा गराउँछन् ।
इतिहास र लिम्बु संस्कृतिका अनुसन्धाता राजकुमार दिक्पालका अनुसार, लिम्बु विवाहमा विभिन्न वाचा–प्रतिज्ञासहित दुलाहाले दुलहीको पछ्यौरामा चाँदीको मोहर बाँधिदिने ‘युप्पारुङ/युप्पालुङ याङ’ परम्परा छ । त्यो चाँदीको मोहर श्रीमतीले जीवनभर सुरक्षित राख्नुपर्ने र श्रीमतीले चाँदीको मोहरले निधारमा हाने सम्बन्धविच्छेद हुने मानिन्छ ।
पुरुषका लागि सबैभन्दा ठूलो गाली वा चोट हो– नामर्द र नपुंसक शब्द (अन्य लिंगको सन्दर्भमा होइन) । यी दुई शब्दले पुरुषको घाँटी रेट्छ । यसमा खासगरी विषाक्त पुरुषत्व (मस्कुलिनिटी)को भूमिका रहँदै आएको छ । पुरुषलाई समाजले दबाब दिँदै र प्रशिक्षित गर्दै आएको पनि छ– तँ जसरी होस् मर्द साबित हुनैपर्छ । यही विषाक्त पुरुषत्वले समाजमा अनेक नकारात्मक र हिंसात्मक घटना बढिरहेका छन् । फिल्ममा नाम्साङले केटी तानेर बिहे गर्न खोजेको दृश्य छ । माइती पक्ष आएर केटीलाई सोध्छन्– राजी कि विराजी ? केटी राजी नभए अर्थात् विराजी भए माइती पक्षले फिर्ता गर्ने लिम्बु परम्परा हो । फिल्ममा केटाको बाबुले छोरालाई गाली गर्छन्– थुक्क जाँ.. एउटा केटी तान्न सकिनस् ?’ यद्यपि यो खालको अन्यायपूर्ण विवाह अहिले हटिसकेको छ ।
थारी शब्दले स्त्रीत्व (फेमिनिनिटी)माथि प्रहार गर्छ । स्त्रीत्वको अर्थ जैविक र सामाजिक रूपमा जोडिएको छ, तर यसलाई कुन हदसम्म जैविक र सामाजिक रूपमा लिने भन्ने बहसकै विषय छ ।
श्रीमान्सँग सम्बन्ध तोडेर हिँडेकी हाङ्मा दोस्रो बिहे गर्न पुग्छिन् । यो विवाहमा लिम्बु संस्कृति र दर्शन जोडिएर आएको छ । मेलामा जाँदा पालाममा हराउने पुरुषसँग बिहे गर्ने सर्तले हाङ्मा बाँधिएकी हुन्छिन् ।
अम्बिकाकुमार सम्बाहाम्फेको पुस्तक ‘चार माया पालाम’का अनुसार, पालाम लिम्बु जातिले लोकलयमा गाइने एक गीत हो, प्रीत हो, लिम्बुको गौरव र गीता हो । लिम्बुको लोकप्रिय नाच यालाङ (धाननाच)सँग जोडिएर आउँछ, पालाम । अर्थात् धाननाचमा गाइने गीत पालाम हो । पालाम नायक र नायिकाले गहकिला सवाल–जवाफ गरेर गाउँछन् ।
यस सम्बन्धमा अनेक आख्यान भेटिन्छन् । एउटा आख्यान भन्छ– आदिम युगमा ‘फेत्लेरे फेम्पुना’ चरीले मानिसलाई घैया धानको बिउ दियो । बिउ दिँदा उसले पाकेपछि आधाआधा खाने सर्त राखेको थियो । जब धान पाक्यो, चराहरू धान खान हुल बाँधेर आए । ती चराबाट जोगाउन मानिसले धान काटी खलामा थुपारे, चरालाई धपाउने हेतुले आपसमा हात समाएर लयबद्ध भाकामा ‘हा हा हा’ गर्दै मधुर स्वरमा धानमाथि नाच्न थाले । यसरी धाननाच सुरु भयो ।
परापूर्व कालमा सुरु भएको धाननाचले क्रमशः संस्कृतिको रूप लिँदै आयो र यो सभ्य नियममा बाँधिन थाल्यो– साइनो नलाग्ने तरुनी–तन्नेरी मात्रै नाच्ने, मेला–पर्वमा जाँदा आफ्ना चेलीसँग नाच्नका लागि माइतीले नै अर्को साइनो नलाग्ने समूहसँग अनुरोध गर्ने, यसरी नै अर्को समूहले पनि आफ्ना चेलीसँग नाच्नका लागि अनुरोध गर्ने, नाच्नुअघि साइनो केलाउने आदि । फिल्ममा पनि धाननाचअघि साइनो केलाइन्छ ।
पालामको अनगिन्ती लय बनाउन सकिन्छ, तर यो नौ अक्षरको छन्दमा हुन्छ । कहिलेकाहीँ आठ र दश अक्षर पनि पर्न सक्छ, त्यसलाई पालामको लयमा मिलाएर नौ अक्षरको बनाउनुपर्ने सम्बाहाम्फेको उपरोक्त पुस्तकमा उल्लेख छ । उनका अनुसार, पहिले पालाम लिम्बु भाषामा मात्रै गाइन्थ्यो, नेपाल एकीकरणपछि पालाममा नेपाली भाषा मिसिन थाल्यो ।
पालाममा प्रश्नोत्तरबाट बौद्धिकता जाँचिन्छ । सम्बाहाम्फेको पुस्तकमा उल्लिखित एउटा पालाम यस्तो छ । केटीले लिम्बु भाषामै छन्द मिलाएर सोध्छिन्– उहिल्यै लासारायम्बा र नाम्सारा चुक्निबा र न्याउली चरीको प्रेमविरह भन्नुहोस् है ।
केटाको जवाफ हुन्छ– उहिल्यै लासारायम्बा र नाम्सारा चुक्निबा दुई घाम थिए । तिमी न्याउली चरीले हामी दुई दाजुभाइलाई मार्छन् भनेर समाचार भनेकी थियौ, तर हामीले नसुन्दा मेरो दाजुलाई मारे । म एक्लो भएँ । अब म तिमीलाई घुमाउन आकाशमा लैजान्छु । यति भनेपछि घामले न्याउली चरीलाई उडाएर घुमाउन थाल्यो तर घाम मात्रै लागिरह्यो । त्यो न्याउली चरीको खानेकुरा आकाशमा थिएन । त्यसैले दुब्लाउन थाली । यस्तो भएपछि घामले न्याउलीलाई सुनको मुख र कान लगाइदिएर भन्यो– तिमी तल धरतीमै रहनू । जब बिहान झुल्किन्छु, मध्याह्नमा लागिरहेको हुन्छु र अस्ताउँछु उतिबेला तिमीले मलाई सम्झेर सेल्लोक सेल्लोक गर्दै विरहमा रुनू ।
बौद्धिकता जाँच्न नायकबाट पनि नायिकालाई प्रश्न सोधिन्छ । एउटा पालाम छ, जसमा नायकले सोध्छन्– बाह्र हाँगा, बाह्रैसा हाँगामा बत्तीससम्म पात । के होला त्यसको जात ? नायिकाको जवाफ हुन्छ– सुरिलो सल्ला भनेको एक वर्ष हो, बाह्रैसा हाँगा भनेको १२ महिना हुन्... ।
फिल्म ‘जारी’को कथा अनुसार, नायक नाम्साङलाई पालाम भन्न आउँदैन । उनलाई आमाले सोधेकी हुन्छिन्– भन् त, घर कसरी बन्छ ?
नाम्साङको सिधा जवाफ हुन्छ– ढुंगा, माटो, काठपातले । नाम्साङको जवाफ सही र वैज्ञानिक लाग्छ । तर, आमाले भोगाइको जीवन–दर्शन बताउँछिन्– घर मायाप्रीतिले बन्छ ।
सम्बाहाम्फेको उपरोक्त पुस्तक अनुसार, समग्रमा चार प्रकारको मायाभित्र रही पालाममार्फत दर्शन भनिन्छ । १) फूलमाया : यसमा फूललाई मायाको प्रतीक मानी भावना व्यक्त गरिन्छ । २) जिउमाया : यसमा पिरती गाँसेको र बिहेको बयान आउँछ । ३) दिलमाया : यसमा वियोगान्त र आदर्श प्रेमको भावना व्यक्त हुन्छन् । ४) संसारीमाया/बोलमाया : यसमा जारी बिहे पनि पर्छ ।
जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’ अनुसार, लिम्बु समुदायमा चार प्रकारको विवाह प्रथा थियो– मागी विवाह, चोरी विवाह, प्रेम विवाह र जारी विवाह । अर्काकी स्वास्नीलाई फकाएर वा कुनै रीतले आफ्नी बनाउनुलाई जारी विवाह भनिन्छ ।
संस्कृत शब्द ‘जार’बाट जारी शब्द बनेको हो । अर्काकी श्रीमती भगाएर लैजाने व्यक्तिलाई पहिलो श्रीमानले सम्बोधन गर्ने शब्द हो– जार । र, पहिलो लोग्नेलाई ‘साधु’ सम्बोधन गरिन्थ्यो । पुरानो मुलुकी ऐनमा जार हान्ने (जार काट्ने) व्यवस्था थियो ।
प्रकाश वस्तीको पुस्तक ‘हाम्रो कानुनी इतिहासको नालीबेली : किरातकालदेखि २०७८ सालसम्म’ अनुसार, साधुले व्यक्तिगत हैसियतमा जारलाई मृत्युदण्ड दिन पाउने प्रथा ‘पर्वते’हरूमा कायम थियो । उनी लेख्छन्, ‘महिलालाई सम्पत्तिका रूपमा ग्रहण गरिने सामाजिक मान्यताको उपज हो, जार हान्ने व्यवस्था ।’
जंगबहादुरले १९१० को मुलुकी ऐनमा जार हान्ने व्यवस्थामा केही खुकुलो बनाउन खोजेको देखिन्छ । यस ऐनमा जार काट्नुको सट्टा जारको सर्वस्व लिने, जात पतीत गर्ने, टाङमुनि छिराउने, पैताला नचाउने, अभक्ष खुवाउने, दामल गराउने जस्ता विकल्प दिइए । जारप्रति यति कठोर थिति वा कानुन बन्नुको एक मात्र उद्देश्य थियो, विवाह संस्थालाई स्थापित गर्नु ।
लिम्बु समुदायमा भने जारीखत माइतीले भर्नुपर्छ । अनुसन्धाता दिक्पालका अनुसार, लिम्बु संस्कृतिमा जारी विवाहको पृष्ठभूमि फरक छ । उनी भन्छन्, ‘लिम्बु संस्कृतिमा जारी प्रथालाई बुझ्न सोतरीत परम्परालाई बुझ्नुपर्छ ।’ उनका अनुसार, पहिले लिम्बुहरूको विवाहमा दुलाहा पक्षले दुलही पक्षलाई नगद, सुन–चाँदी आदि बुझाउने चलन थियो, जसलाई रीत भनिन्थ्यो । अहिले सोतरीत भनिने यो संस्कारको विधि जीवितै छ । जन्माई हुर्काएकी छोरी अरूलाई दिनुपर्दा क्षतिपूर्तिका रूपमा तथा छोरीले पराईका घरमा गई काम गर्नुपर्ने भएकाले पनि सोतरीत लिइएको भन्ने मान्यता पाइन्छ । ‘१९३२ सालमा मेरो बराजुको विवाह हुँदा ९३ रुपैयाँ १२ आना रीत तिरेको कागज अझै मसँग छ,’ हाल विदेशमा रहेका उनले फेसबुक मेसेन्जर कलमार्फत भने, ‘पछि श्रीमती अर्कोसँग गइन् भने पहिले माइतीले खाएको रीत जारीका रूपमा तिर्नुपर्ने हो । फाल्गुनन्द (किरात धर्मका गुरु)ले १९८८ सालतिर एउटा भेला गरी छोरीचेलीको रीत (सुनौली रूपौली) खानु हुँदैन भनी चलन चलाएका थिए ।’ अहिले रीत प्रथा पहिलेजस्तो महँगो नभएको र सांकेतिक रूपमा मात्रै अभ्यासमा रहेको उनी बताउँछन् । अर्थात् रीतको नाममा दुई–चार सय वा हजार राख्दा विवाह चल्छ ।
फिल्म जारीमा जारी लिएको मिति २०५२ पुस ४ गते उल्लेख छ । त्यतिबेलासम्म छिटपुट रूपमा जारीको अवशेष रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘अहिले चाहिँ बिहेको दिन बेहुलाले बेहुलीलाई झपक्कै हुने गरी सुन लगाइदिने चलन छ ।’
फिल्ममा हाङ्माका भाइले ‘च्याब्रुङ’ बेचेर जोडेको ६० हजार रुपैयाँ जारी स्वरूप तिर्छन् । आइत खजुमको पुस्तक ‘च्याब्रुङको नालीबेली’ अनुसार, के (च्याब्रुङ) बाजाबिना लिम्बुहरूको कतिपय संस्कारगत विधि पूरा हुँदैन । लिम्बुहरूले आफ्नो यस मौलिक सांस्कृतिक बाजालाई सुख वा खुसियाली जहिले पनि बजाएर नाच्न सक्छन् । र, उनीहरूले यस बाजालाई अत्यन्तै सम्मान गर्छन् ।
यस फिल्मले २८–३० वर्षअघिको लिम्बु समाजलाई जस्ताको तस्तै देखाउन खोजेको छ । फिल्ममा जारी लिन जाँदा भनाभन भएको दृश्य राखिएको छ । केटा पक्षले बेहुलीलाई पालेको पनि हिसाब खोज्छ । यहीँनेर माइती पक्षको आवेग प्रकट हुन्छ, उसो भए हाम्री चेलीलाई ऊ त्यो गरेको (सायद संसर्ग गरेको) ... । यहाँनेर संवेदनशील दर्शकलाई लाग्न सक्छ– यौनको हिसाब नगरेको भए हुने ! हुन त यो समाजकै आवेग हो ।
फिल्ममा जाँड वा तुम्बा खाएको निकै देखाइन्छ । फिल्म हेर्दै गर्दा यस्तो लाग्छ, राम्रो जाँड–रक्सीले लिम्बु समाज टिकेको छ । नाम्साङकी आमाको मृत्युपछि घरमा जाँड–रक्सी बनाउने कोही हुँदैन । अन्ततः हाङ्माले सासुको बिँडो थाम्छिन् । अधिकांश पुरुषवादी समाजमा महिलाहरु नै संस्कृतिका संवाहक हुन्छन् । यद्यपि, लिम्बु समुदाय लगायत अधिकांश जनजाति महिलाले धान्दै आएको जाँड–रक्सी बनाउने सीप यतिखेर खतरामा छ, राज्यले यसको संरक्षण गर्न आवश्यक छ ।
यस फिल्ममा श्रीमती श्रीमान्सँग तँ भनेर मुखमुखै मात्रै लाग्दिनन्, हातहतियार नै उठाउने हिम्मत गर्छिन् । लिम्बु समुदायका महिलालाई यो बल मातृसत्ताले दिएको आभास हुन्छ । पहिले लिम्बु समुदाय केही मातृसत्तात्मक रहेको जनकलाल शर्माले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘१८९६ सालसम्म आमाकी बहिनी अर्थात् सानीआमासित विवाह गर्ने चलन थियो । त्यसै साल भएको एउटा लालमोहरद्वारा यसमा प्रतिबन्ध लाग्यो । सम्भवतः १८९६ सालको माघमा लालमोहरको विरोध गर्ने लिम्बुहरूको प्रतिनिधिमण्डल काठमाडौं आयो । यसबाहेक सहोदर दाजु परलोक भएमा देवरको हक लाग्ने प्रथा त अद्यापि (पुस्तक छापिएको २०३९ साल) कायम छ ।’
राजकुमार दिक्पालका अनुसार, राजा राजेन्द्रविक्रमले जारी गरेको रुक्काले केही जाति र भौगोलिक क्षेत्रका बासिन्दालाई भाउजूसँग विवाह गर्ने वा यौनसम्बन्ध राख्ने छुट दिएको थियो । कतिपय जातिका पुरुषलाई त्यस्तो सम्बन्ध राख्दा जात पतीत हुने, लिंग काटिने मात्रै होइन, मारिनेसम्मको आदेश यो रुक्काले गरेको छ ।
‘भाउजु बिराउ’ भनिएको यस रुक्का (वि.सं. १८९३ आषाढ सुदी ७ बुधबार) मा भनिएको छ, ‘जंगला मुलुक हुनाले जातको तजविज गर्नु पर्दा हाल किराँती लिंवु लाप्चा र जुम्लीहरू वाहिक राषी आजदेषि उप्रान्त जानी जानी कसैले साक्षात भाउजु विराउ नगर्नु भन्या थीति वन्धेज बाँधि बक्स्यौं ।’ त्यसबेला उपाध्याय ब्राह्मण, क्षेत्रीहरूले जानाजानी भाउजूसँग विवाह गरे वा यौनसम्बन्ध राखे जात पतीत गरी चारपाटा मुडी देश निकाला गरिन्थ्यो ।
चोरी विवाहमा समेत राजी–विराजी सोध्ने, आफूलाई अप्ठेरो भएको अवस्थामा चाँदीको सिक्काले हानेर सजिलै सम्बन्धविच्छेद गर्ने हक महिलामा हुनु ठूलो कुरा हो ।
यो फिल्म संवाद र लडाइँको दुष्चक्रमा फसेको छैन । गोठालो बस्न गएकी हाङ्मा गोठ (खोल्मा)मै सुत्छिन् । परिवारका सदस्यसँग उनको कुनै दोहोरो संवाद हुँदैन, उनीबाट व्यवहारको प्रेम प्रकट हुन्छ । सम्बन्धको मामिलामा स्त्री नै झुक्नुपर्छ, कठोर पुरुषलाई स्त्रीको कोमलताले गलाउनुपर्छ भन्ने होइन, तर खराब प्रथा वा समयका बीच जसरी हाङ्माले मानवता बिर्सिंदिनन्, त्यसले व्यावहारिक प्रेमलाई दर्शाउँछ । अन्तमा धनको घमण्डले फुलेको र पुरुषत्वमाथिको प्रश्नले रिसाएको नायक नाम्साङ झुकेर आफ्नी पूर्वपत्नीलाई दोस्रोपटक माग्न जानुपर्छ । यस फिल्मले अचेल आवेगमा सम्बन्ध तोड्ने पति–पत्नी वा प्रेमी–प्रेमिकालाई व्यावहारिक प्रेमको मूल्य बुझाउँछ ।
पालाम वा सर्तमा हारेकी हाङ्माले आफ्नो पूर्वपतिको प्रेममा पर्दै गर्दा आफ्नो वर्तमानको प्रेमीलाई बिर्सिरहेकी हुन्छिन्, मानौँ उनको त्यो आवेगको निर्णय थियो, वास्तविक विवाह थिएन । यहाँनेर स्त्रीलाई अलि अविश्वासी रूपमा प्रस्तुत गरिएको आभास हुन्छ । यस्तै, हाङ्मा र नाम्साङले छोरी पाएपछि फिल्म सकिन्छ, तर कुन उपचार वा के वैज्ञानिक कारण सन्तान भयो भन्ने फिल्ममा देखाइँदैन ।
फिल्म समग्रमा राम्रो बनेको छ, फिल्ममा हिन्दू संस्कार र संस्कृति मात्रै हेर्दै आएका दर्शकलाई मौलिक कथा र लिम्बु संस्कृतिले नयाँ स्वाद दिएको छ । दयाहाङ राई, मिरुना मगर, विजय बराल र अधिकांश कलाकारको अभिनय जीवन्त छ ।