एस् ए टी भी १७ साउन २०८२, युशुः नेपाल र जनवादी गणतन्त्र चीन बिच कुटनीतिक सम्बन्ध स्थापना भएको सत्तरीऔँ वर्षको उपलक्ष्यमा चीनको छिङ्हाई प्रान्त युशु सहरमा हिमालय पार व्यावसायिक आदानप्रदान सेमिनारको शृङ्खला यही साउन १६ गते भव्य उद्घाटन मार्फत सुरुवात भएको छ।
युशुको मध्यम मौसममा साँझको ०८ बजे सुरु भएको उद्घाटन समारोह १० बजे सम्म चलेको थियो। समारोहमा नेपालको प्रतिनिधित्व गर्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, प्रवासी चिनियाँ संघ नेपालका अध्यक्ष चिन स्याओतोङ, प्रिफेक्चरल पार्टी कमिटी छिङ्हाईका उप सचिव तथा प्रिफेक्चरल सरकारका गभर्नर लोङ छुओ, प्रिफेक्चरल पार्टी कमिटी छिङ्हाईका उपसचिव चे दोङ्द्रुप लगायतका विशिष्ट व्यक्तीहरूको सम्मानजनक उपस्थिती रहेको थियो।
भृकुटी र स्रङ चाङ कम्पोको नाम सँग जोडिएको यस सम्बन्धको सत्तरी वर्षको वर्षगाँठ राजा कसारको भूमिमा निकै तामझामका साथ मनाइएको थियो। कार्यक्रम हेर्न कार्यक्रम स्थल कसार स्क्वायरमा हजारौँ युशुवासीहरूको उपस्थिति रहेको थियो। भाषाको अनभिज्ञतालाई पन्छाएर उनिहरू नेपाली गीत सङ्गित तथा नृत्यहरूमा मन्त्रमुग्ध भईरहेका थिए।
नेपालको प्रतिनिधि मण्डलबाट बोल्दै जीवन राम श्रेष्ठले नेपाल र चीन बिचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको र यो सम्बन्धको अन्तर्राष्ट्रिय औपचारिकता मात्र सत्तरी वर्ष भएको बताए। युशु को आतिथ्यले लोभ्याएको उनलाई यस्ता कार्यक्रमले सम्बन्ध अझ प्रगाढ र सुमधुर हुँदै जानेमा विश्वास रहेको थियो। फा स्यान, बुद्ध भद्र देखि अरनिको सम्मका साझा विभुतीहरू बाँडेका यि दुई देशले अब भने विकासका कार्यमा हातेमालो गर्नु पर्ने बेला आएको उनको तर्क थियो।
प्रवासी चिनियाँ संघ नेपालका अध्यक्ष चिन स्याओतोङले नेपाल र चीन निकै पुराना मित्र रहेको र यस मित्रतालाई प्रगाढता दिलाउन पछिल्लो समयमा युशुको स्थानीय सरकारले भूमिका खेलिरहेकोमा धन्यवाद प्रकट गरे। उनले यस्ता कार्यक्रमको महत्त्व प्रवासमा बस्ने चिनियाँलाई बढी हुने बताउँदै आयोजकको खुलेर प्रशंसा पनि गरेका थिए।
व्यावसायिक आदानप्रदानको कार्यक्रम सिलसिला यही साउन १९ सम्म जारी रहनेछ । कार्यक्रममा विभिन्न अवलोकन भ्रमण तथा अनुगमन कार्यक्रम हुने तालिका रहेको छ।