नेभिगेसन मेनु

सगरमाथा आरोहणमा सर्वाधिक अनुमति
सम्पादक:南亚网络电视
समय:2023-04-27 13:36

thumb (1)

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सर्वाधिक आरोहीलाई अनुमति प्रदान गरिएको छ । अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि बुधबार अपराह्नसम्म ४ सय ६३ जनाले अनुमति लिइसकेका छन् । ‘सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो,’ पर्यटन विभागका निर्देशक युवराज खतिवडाले भने, ‘अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्छ ।’

पर्यटन विभागका निर्देशक खतिवडाका अनुसार सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन् । यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन् । दोस्रोमा अमेरिकी छन् । ८७ जना अमेरिकीले अनुमति लिएको खतिवडाले जानकारी दिए ।

एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ । अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधारशिविर पुगिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । ‘अहिले आधारशिविरमा आरोहीको व्यापक चाप छ,’ समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । उनका अनुसार आरोहीहरूले अभ्यासका क्रममा पहिलो र दोस्रो आधारशिविरसम्म आहोरदोहोर गरिरहेका छन् । ‘मे ७ पछि मौसम अनुकूल हुनासाथ आरोहण सुरु हुन्छ,’ अध्यक्ष शेर्पाले भने । नाम्चेमा पनि ८० प्रतिशत होटल भरिभराउ रहेको होटल सञ्चालक छिमिकाल्देन शेर्पाले भने ।

यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ । ‘रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी हो,’ खतिवडाले भने, ‘सबै हिमालको समेत गरेर विभागमा ७३ करोड ५४ लाख रोयल्टी जम्मा भइसकेको छ ।’

६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन् । यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन् । आरोहीले सुर्मा सरोवर नथ (६,५२३ मिटर), अन्नपूर्ण–१ (८,०९१ मिटर), पाङ्ग्री गोलदुम्बा (६,६२० मिटर), मनास्लु (८,१६३ मिटर), थोराङ पिक (६,१४४ मिटर), बरुण त्से (७,१२९ मिटर), लोत्से (८,५१६ मिटर), नोप्से (७,८५५ मिटर), हिमलुङ हिमाल (७,१२६ मिटर), गन्चेङपो (६,३७८ मिटर), धौलागिरी (८,१६७ मिटर), जाक्या पिक (६,४७३ मिटर) का लागि अनुमति लिएका हुन् । यस्तै आमा दब्लम (६,८१४ मिटर), मकालु (८,४६३ मिटर), अरनिको चुली (६,०३४ मिटर), खातुङ (६,४८४ मिटर), तु त्से (६,७५८ मिटर), पुमोरी (७,१३८ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), काब्रु (७,३१८ मिटर) र तेङ्गी रागी ताउ (अगोले) (६,९३८ मिटर) हिमालका लागि अनुमति दिइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर