नेभिगेसन मेनु

सगरमाथा बेसक्याम्पमा ‘टेन्ट भिलेज’
सम्पादक:南亚网络电视
समय:2023-04-24 14:20

Front_Story2023-04-24-06-54-44

क्षणभरमै घाम लागेर न्यानो हुन्छ, उत्तिखेरै बादलले ढाकेर कठ्याङ्ग्रिँदो चिसो ल्याउँछ । हिउँ पर्न कत्ति बेर लाग्दैन । छिनछिनमै बदलिने मौसममा लेक लाग्ने सम्भावना उत्तिकै हुन्छ । तैपनि गगनचुम्बी सेता हिमालहरू नजिकैबाट हेर्न र शिखर चुम्न चाहनेहरू बर्सेनि बढेको–बढ्यै छन् ।

सोलुखुम्बु क्षेत्रका पदमार्ग र सगरमाथा बेसक्याम्पमा लागेको विदेशी तथा स्वदेशी पर्यटकको भिडले यसलाई पुष्टि गर्छ । वसन्तकालीन सिजन सुरु भएसँगै ५,३६४ मिटर उचाइमा रहेको सगरमाथा बेसक्याम्प रंगिविरंगी टेन्टले भरिभराउ छ, अर्थात् ‘टेन्ट भिलेज’जस्तै देखिएको छ । अहिले बेसक्याम्पमा ठूलो संख्यामा आरोही र गाइडहरू टेन्ट टाँगेर बसिरहेको त्यहाँबाट पत्रकार फुर्पा शेर्पाले जानकारी दिइन् । 

‘यतिवेला सगरमाथा आरोहण गर्ने आरोही र पदयात्रीहरू बेसक्याम्पतर्फ आउने क्रम जारी छ,’ बेसक्याम्प पुगेकी उनले सुनाइन्, ‘आइसफल डाक्टरले चुचुरोसम्म पुग्नका लागि डोरी टाँगेर बाटो बनाउनेबित्तिकै आरोहण सुरु हुने बताइएको छ ।’ अहिले ६१ देशका आरोही सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्नका लागि त्यसतर्फ गइरहेका छन् । 

अहिले पनि सगरमाथा बेसक्याम्पमा हिउँ परिरहेको छ । अझै चुचुरोसम्म बाटो बनाउने काम सकिएको छैन । गत हप्ता तीनजनाको ज्यान जाने गरी भएको दुर्घटनाका कारण चुचुरोसम्म पुग्ने बाटो बनाउन ढिलाइ भएको हो । खराब मौसमले पनि साथ दिएको छैन । यतिवेला आरोहीहरू बेसक्याम्पमा ट्रेनिङ गरिरहेका छन् । हिमाल चढ्नुभन्दा अघि शेर्पाहरूले विशेष पूजा गर्छन्, त्यसको पनि तयारी भइरहेको छ । आइसफल डाक्टरले चुचुरोसम्म बाटो बनाउनेबित्तिकै साइत हेरेर आरोहण सुरु गरिन्छ । तर, ट्रेकिङ गर्नेहरू भने अधिकांश बेसक्याम्प पुगेर फोटो खिच्ने र ५,१६४ मिटर उचाइमा रहेको गोरकसेप झर्ने गर्छन् ।

यो सिजनका लागि २१ अप्रिलसम्म चार सय ५४ आरोहीले सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिइसकेका छन्, जसमध्ये ९३ महिला र तीन सय ६१ पुरुष छन् । अनुमति लिनेमा सबैभन्दा धेरै चिनियाँ, दोस्रोमा अमेरिकी र तेस्रोमा भारतीय छन् ।

विभागका अनुसार ९६ चिनियाँ, ८७ अमेरिकी, ४० भारतीय, १९ रुसी, १८ बेलायती, १२ नेपाली, २१ क्यानेडेली, १३ फ्रान्सेली, १२ अस्ट्रेलियाली, १८ युएईलगायत देशका आरोहीले सगरमाथा चढ्नका लागि अनुमति लिएका छन् । हिमाली भेगमा देखिएका आरोही र पदयात्रीको भिडले कोभिडपछि थलिएको पर्यटन लयमा फर्किन थालेको संकेत दिन्छ । २०२३ मार्चमा एक लाख पर्यटक नेपाल भित्रिएका छन्, जुन कोभिडपछिकै सबैभन्दा धेरै हो । कोभिडअघि १९ मार्च २०१९ सँग तुलना गर्दा मार्च २०२३ मा पर्यटक आगमन ७८ प्रतिशत ‘रिकभरी’ भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । 

वसन्तकालीन सिजन सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । यो समय सगरमाथा आरोहणका लागि आउने आरोहीहरू धेरै हुन्छ । शरद सिजनमा अरू हिमाल चढ्ने धेरै हुने आरोहण व्यवसायी बताउँछन् । वसन्त ऋतुमा दुई दर्जन हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीमध्ये ४५ प्रतिशत सगरमाथा चढ्न लागेका छन् । यतिवेला खुम्बु क्षेत्रमा सगरमाथालगायत हिमाल चढ्नेभन्दा बेसक्याम्प, कालापत्थर, गोक्यो लेकसम्म पुगेर फर्किने पदयात्री धेरै रहेको ट्रेकिङ एजेन्ट एसोसिएन अफ नेपाल (टान)का पूर्ववरिष्ठ उपाध्यक्ष नवीन त्रितालले बताए । बेसक्याम्प पुग्न नसक्ने पदयात्री नाम्चे बजारसम्म भए पनि पुगेर फर्किने गर्छन् । खर्च गर्न सक्ने तर हिँड्न नचाहने वा नसक्ने पदयात्रीलाई गन्तव्य (बेसक्याम्प/कालापत्थर) पुर्‍याउन लुक्लाको तेन्जिङ हिलारी एयरपोर्टबाट हेलिकोप्टरले दिनभर ओसारिरहेका छन् ।

दैनिक ३७० सम्म फ्लाइट

सगरमाथा क्षेत्रमा आरोही र पदयात्रीको संख्या बढेपछि जहाज र हेलिकोप्टरको व्यस्तता पनि बढेको छ । लुक्ला विमानस्थलमा दैनिक तीन सय ७० सम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख द्वारिकानाथ अछामीले बताए । ‘शुक्रबार जहाज र हेलीको कुल मुभमेन्ट दुई सय ५६ थियो, जहाजकै ६४ वटा उडान–अवतरण भए,’ उनले भने, ‘२ अप्रिलमा दिनमै तीन सय ७० वटासम्म फ्लाइट मुभमेन्ट भएको रेकर्ड छ ।’ हेलिकोप्टरले काठमाडौं–लुक्ला र लुक्लाबाट बेसक्याम्प, कालापत्थर, गोक्यो लेक, कोङ्देलगायत ठाउँमा पर्यटक बोक्दै आइरहेका छन् ।

पर्यटकले लुक्ला, फाक्दिङ, नाम्चेका होटेलदेखि बेसक्याम्पसम्म भरिभराउ रहेको उनको भनाइ छ । सगरमाथा, लोत्से, लोबुचे, नुप्छे, आमादब्लम, पुमोरीलगायत थुप्रै हिमशृंखला आरोहण गर्न, नजिकैबाट नियालेर रमाउन बर्सेनि खुम्बु क्षेत्रमा पर्यटकको भिड लाग्छ । पछिल्लो समय सोलुखुम्बु सदरमुकाम सल्लेरीसम्म सडक पुगेकाले सडक यात्राबाट जानेहरू पनि उत्तिकै हुन्छन् । सल्लेरीसम्म गाडी पुगेकै कारण दोलखाको जिरी, किन्जा हुँदै लुक्ला पुग्ने पुरानो परम्परागत ट्रेकिङ रुट अहिले सुनसान बनेको छ । तर, यहाँबाट विदेशी पर्यटक भने फाट्टफुट्ट सगरमाथातिर लागेको देखिन्छ । 

अहिले सगरमाथा बेसक्याम्प पुग्न नै बाटोमा मान्छे पन्छाउँदै हिँड्नुपर्ने अवस्था छ । पत्रकार एवं आरोही पूर्णिमा श्रेष्ठले गत बिहीबार एउटा भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘सगरमाथा हेर्न जानेहरूको भिड ।’ भिडियोमा बेसक्याम्पतिर उकालो लाग्ने र फर्किने स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो भिड देखिन्छ । 

‘१५–२० वर्षदेखि ७५–८० वर्षसम्मका बुढाबुढी पनि सगरमाथालाई नजिकबाट हेर्न र महसुस गर्न खुम्बुको उकालो चढिरहेको भेटिए,’ एभरेस्ट बेसक्याम्प पुगेकी पत्रकार शेर्पाले सुनाइन्, ‘यो भिडले कोभिड महामारी र अहिलेको अर्थिक संकट पूरै बिर्साउँछ । सगरमाथा बेसक्याम्पसम्म आएर फोटो खिचेर फर्किने धेरै हुन्छन्, आरोहीहरू उपयुक्त मौसमको पर्खाइमा टेन्ट टाँगेर बेसक्याम्पमा बसिरहेका छन् । चुचुरोसम्म डोरी टाँगेर बाटो बनाउने काम सम्पन्न भएपछि आरोहीहरू उकालो लाग्नेछन् ।’ 

सगरमाथा जान मन्थलीबाटै लाइन

वसन्त ऋतुमा हिमाल चढ्न आएका आरोहीको काठमाडौंका होटेलदेखि हिमालका बेसक्याम्पसम्म भिड लागेको छ । सगरमाथा क्षेत्रमा जानेको भिड रामेछापको मन्थली विमानस्थलबाटै सुरु हुन्छ । तर, गाडी चढेर जानेको भने सोलुखुम्बुको सल्लेरीबाट बल्ल यात्रा सुरु हुन्छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मन्थली एयरपोर्टलाई आधार बनाएर लुक्ला उडान गर्ने व्यवस्था गरेको छ । शुक्रबार काठमाडौंबाट लुक्ला सीधा उडान जम्मा चारवटा मात्र भएको एयरपोर्ट प्रमुख अछामीले बताए । यतिवेला लुक्ला उडानका लागि मन्थली एयरपोर्टमा स्वदेशी तथा विदेशी पर्यटकको भिड लागेको छ । 

पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले मन्थलीबाट लुक्लामा दैनिक चार दर्जनभन्दा बढी उडान भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । तारा एयरले मात्रै मन्थली–लुक्ला दैनिक १० देखि १५ उडान गर्दै आइरहेको छ । होलिकोप्टरको पनि उडान जोड्दा लुक्लामा दैनिक साढे दुई सयदेखि साढे तीन सयसम्म फ्लाइट मुभमेन्ट भइरहेको एयरपोर्ट प्रमुख अछामीले बताए । लुक्लामा तारासहित समिट र सीता एयरले पनि उडान भर्छन् । 

‘अहिले खुम्बु क्षेत्रमा पर्यटकको ओइरो लागेको छ, सगरमाथा बेसक्याम्प पुगेर भाइरल ढुंगोमा फोटो खिचेर फर्किन चाहने धेरै छन्,’ पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने, ‘साँच्चिकै लुक्लादेखि बेसक्याम्पसम्मको दृश्य अत्यन्तै लोभलाग्दो र रमाइलो छ ।’ खुम्बु क्षेत्रका होटेल व्यवसायीलाई व्यवसाय गर्न भ्याइनभ्याई छ । होटेल एसोसिएसन नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाले पदयात्रा र हिमाल आरोहणमा आउने पर्यटक उत्साहजनक रहेको बताए । 

सगरमाथा जान मन्थलीबाटै लाइन, लुक्लामा दिनमै ३७० उडान

द्वारिकानाथ अछामी, प्रमुख

तेन्जिङ हिलारी एयरपोर्ट, लुक्ला 

बेसक्याम्प पुग्ने पर्यटक धेरै आइरहेका छन् । आरोहीभन्दा पदयात्री बढी देखिन्छन् ।उनीहरू बेसक्याम्प, कालापत्थर, गोक्यो लेक, नाम्चेसम्म पुगेर फर्किन्छन् । खुम्बु ट्रेकमा पर्ने होटेलहरू पनि भरिभराउ छन् ।

वसन्तकालीन सिजनमा काठमाडौंपछि सबैभन्दा व्यस्त रहने एयरपोर्ट लुक्ला नै होला । शुक्रबार मात्रै जहाज र हेलीबाट २५६ उडान–अवतरण भए, जसमध्ये ६४ वटा जहाजका थिए । २ अप्रिलमा एकै दिन ३७० वटासम्म फ्लाइट भएको रेकर्ड छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर