नेभिगेसन मेनु

काठमाडौं महानगरको महँगो ‘बसाइँसराइ’
सम्पादक:南亚网络电视
समय:2023-04-04 12:36

valley2023-04-04-08-44-15

कमलादीस्थित काठमाडौं प्लाजामा ‘बसाइँ सर्न’ लागेको काठमाडौं महानगरले कार्यालय प्रयोजनामा आवश्यक फर्निचरमा मात्रै करोडौँ खर्चन लागेको छ । यसका लागि महानगरले फर्निचर खरिद प्रक्रिया अघि बढाएको छ । हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरले पुराना फर्निचर प्रयोग नगर्ने भन्दै नयाँ सामान खरिद प्रक्रिया अघि बढाएको हो । 

महानगरले फर्निचर खरिद प्रक्रियाका लागि माघमै टेन्डर प्रक्रिया अघि बढाएको हो । सोही प्रक्रियाअनुसार एक करोडको फर्निचरसमेत आइसकेको छ । माघमा एक करोड ६ लाख ५७ हजार पाँच रुपैयाँबराबरको सामान खरिदका लागि टेन्डर आह्वान गरेकोमा करिब एक करोडको सामान आइसकेको महानगरले जनाएको छ । त्यसमध्ये सोफा, कुर्सी र दराज ठेकेदारले महानगरलाई हन्तान्तरण गरिसकेको छ ।

ती सामान काठमाडौं प्लाजामा प्रयोग गर्ने तयारी भइरहेको प्रशासन विभागले जनाएको छ । यी सामान पुरानै भवनका लागि खरिद गरिएको भए पनि नयाँ भवनमा सर्ने समय नजिकिएकाले सीधै काठमाडौं प्लाजामा राख्ने महानगरको तयारी छ । काठमाडौं प्लाजामा सर्न यति फर्निचरले मात्रै पुग्दैन । महानगरपालिकाको सार्वजनिक निर्माण विभागका अनुसार नयाँ भवनमा करिब १२ करोडको फर्निचर लाग्नेछ ।

डा. शिवप्रसाद अधिकारी, प्रमुख, खरिद इकाइ विभाग

काठमाडौं प्लाजामा बसाइँ सर्ने निधो भएपछि सेटअप सुरु भएको छ । पुराना सामान सबै काम लाग्दैनन्, यताउता गराउँदा झन्झट पनि हुन्छ । नयाँ फर्निचर खरिदका लागि एउटा टेन्डर आह्वान भइसकेको छ, ती सामान पनि काठमाडौं  प्लाजामै राखिन्छ ।

प्रशासन विभागले प्लाजामा लाग्ने सजावटका सामानबारे माग प्रक्षेपण सुरु गरेको छ । माग अनुमानपछि सार्वजनिक निर्माण विभागले टेन्डर आह्वान गर्नेछ । त्यसपछि जिन्सी विभागले फर्निचर खरिद प्रक्रिया अघि बढाउनेछ । महानगर प्रमुख बालेन्द्र साहकै इच्छाअनुसार नयाँ फर्निचर खरिद प्रक्रिया सुरु गरिएको खरिद इकाइ विभागले जनाएको छ । खरिद इकाइ विभागका प्रमुख डा. शिवप्रसाद अधिकारीका अनुसार काठमाडौं प्लाजामा बसाइँ सर्ने निधो भएपछि त्यहाँ कार्यालय सेटअप सुरु भएको छ । ‘पुराना सामान सबै काम लाग्दैनन्, यताउता गराउँदा झन्झट पनि हुन्छ,’ उनले भने, ‘नयाँ फर्निचर खरिदका लागि एउटा टेन्डर आह्वान भइसकेको छ, ती सामान काठमाडौं प्लाजामै राखिन्छ ।’

महानगरका सहप्रवक्ता दीपक अधिकारीका अनुसार कतिपय पुराना फर्निचर पनि प्रयोग गरिनेछ । तर, ती सामान प्रयोग गर्दा पनि नयाँ फर्निचरमा ठूलो खर्च हुनेछ । सार्वजनिक निर्माण विभागले १२ करोड लाग्ने अनुमान गरेको छ । आवश्यक फर्निचर खरिद र नयाँ कार्यालय व्यवस्थापनका लागि प्रशासन, खरिद, सार्वजनिक निर्माण र जिन्सी विभागलाई जिम्मा दिइएको छ । ‘आवश्यक परेका सामान खरिद गर्छौँ,’ सहप्रवक्ता अधिकारीले भने, ‘त्यो भवन ठूलो छ, त्यहाँ महानगरका सबै शाखा र विभाग राख्नुपर्ने भएकाले फर्निचर धेरै चाहिन्छ ।’ 

काठमाडौं प्लाजाको कुन तलामा के कार्यालय ?

सेवा एकीकृत गर्न भन्दै ०७७ मा मन्त्रिपरिषद्बाट नेपाल ट्रस्टको काठमाडौं प्लाजा भवन भाडामा दिने निर्णय भएको थियो । काठमाडौं प्लाजा भवनको पहिलो तलाबाट नागरिकलाई सेवा प्रवाह गरिनेछ । तेस्रो तलामा नगर प्रमुख र उपप्रमुखका कार्यकक्ष रहनेछन् । प्रशासन विभागका अनुसार दोस्रो तलामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष निर्माण गरिनेछ । यी कार्यकक्षका लागि चाहिने सबैजसो फर्निचर नयाँ हुनेछन् । हाल नगरप्रमुख, प्रशासकीय अधिकृत र उपप्रमुखका कार्यकक्षमा भएका फर्निचरमध्ये कुर्सी मात्रै प्रयोगमा ल्याइनेछ । अन्य सामान नयाँ हुनेछन् । पुराना सामान वातावरण विभागले प्रक्रियाअनुसार लिलामी गर्नेछ । 

मन्त्रिपरिषद्बाट निर्णय भएको करिब तीन वर्षपछि काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिनेबारे महानगर र ट्रिटबीच दुई साताअघि सम्झौता भएको थियो । महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी सम्झौता गरिसकेको छ । हाल काठमाडौं प्लाजामा रहेका पसल तथा व्यवसायको म्याद चैत महिनाभित्रै सकिँदै छ । त्यसपछि महानगरले नयाँ फर्निचरसहित सजावट गर्नेछ । 

०७२ को भूकम्पपछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ । कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ । दुई वर्षभित्रै आफ्नै नयाँ भवन बनिसक्ने भए पनि काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ । यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गर्न पाउँछ । महानगरमा विभिन्न १६ वटा विभाग छन् । १६ विभाग १० ठाउँमा छरिएकाले नागरिकलाई सास्ती हुँदै आएको छ । 

करोडौँको फर्निचर कबाडी बन्दै 

हाल काठमाडौं महानगरका १६ वटा विभाग र त्यस कार्यालयमा करिब २५ करोडका फर्निचर र सामान रहेको अनुमान छ । काठमाडौं प्लाजमा ती कार्यालय सरेपछि अधिकांश फर्निचर कबाडीका रूपमा महानगरको टेकुस्थित वातावरण विभागमा थुप्रिनेछन् । वातावरण विभागमा आएपछि लिलाम समितिले लिलामी प्रक्रिया अघि बढाउनेछ । ‘नयाँ ठाउँका लागि नयाँ सामान चाहिन्छ,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘त्यो ठाउँ पनि ठूलो छ, फर्निचरजन्य सामान पनि धेरै चाहिन्छ ।’ काठमाडौं प्लाजामा नगर प्रहरी बल, दमकल तथा विपद् व्यवस्थापन शाखा र वातावरण विभाग सर्नेछैनन् । यी कार्यालयले अहिले जहाँबाट सेवा दिइरहेका छन्, त्यहीँ रहनेछन् । यसअघि बागदरबारबाट जेडिए कम्प्लेक्समा कार्यालय सार्दा पनि पुराना फर्निचर त्यसै छाडिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर