‘हामीले सर्टमा याद लेख्थ्यौं,’ खाडीमा भेटौंला शीर्षकको नागरिक दैनिकको समाचार सेयर गर्दै सामाजिक सञ्जालमा चर्चित साइग्रेस पोखरेलले लेखेका छन्, ‘उसले यथार्थ लेख्दियो।’
भक्तपुरको बागेश्वरी माविबाट अघिल्लो बुधबार बिदाइ हुँदै गरेको क्षणमा यही यथार्थ लेख्ने कक्षा १२ का विद्यार्थीले मौका मिले स्वदेशमै फक्रन चाहेको बताएका छन्। संसारभरका नेपालीले आफ्नो पीडा सुनेको बताउँदै उनीहरूले राज्यले पनि उत्तिकै चासो दिएर बाध्यताको यात्रालाई रोकिदिए राम्रो हुने सुनाए। ‘सक्छौ खाडीबाट जान हामीलाई नै रोक,’ कक्षा १२ का निराजन मैनालीले भने, ‘सक्दैनौ भने कम्तीमा हाम्रा सन्ततिले खाडीमा जानुपर्ने दिन नआओस्।’
तस्बिर र समाचार भाइरल भएसँगै सामाजिक सञ्जालमा व्यस्त उनीहरूले बिदेसिनु मुलुककै प्रमुख समस्या रहेको यथार्थ बुझेको सुनाए। ‘सुरुमा हामीलाई खाडीमा जानुपर्ने आफ्नो गाउँ र घरको मात्र समस्या जस्तो लागेको थियो,’ काभ्रे तिमालका मैनालीले नागरिकसँगको भेटमा भने, ‘सामाजिक सञ्जालमा मुलुकभरबाट आएका प्रतिक्रिया देख्दा यो मुलुकको मुख्य समस्या रहेको भन्ने थाहा भयो।’
उनका जस्तै धारणा राखे वकिल बन्ने चाहना राखेका निरज तामाङ र बिसन नगरकोटीले पनि। ‘हाम्रो ठुलो सपना पनि छैन, पढाइलाई निरन्तरता दिएर वकिल बन्ने चाहना छ,’ निरजले भने, ‘तर अहिले त्यो पूरा हुन सक्ने अवस्था देखेनौं।’ कमाएर ल्याउँछ भन्ने परिवारको आशाका कारण आफ्नो सपनालाई त्याग्नु परेको उनले सुनाए। ‘बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा अरू सपना देख्न मुस्किल भयो,’ उनी भन्छन्, ‘नत्र त हामी पनि आफ्नै आँगनमा खेल्न र रमाउन चाहन्थ्यौं।’
घर छाडेर केही समय राजधानीमा बस्दा त परिवारको यादले पोल्ने गरेकोमा खाडीको तातोमा जान निकै मुस्किल हुने आफूहरूले बुझेको उनीहरू बताउँछन्। ‘यस्तोमा परिवार छाडेर खाडीमा जाँदा कति मन पोल्ला,’ बिसन नगरकोटी भन्छन्, ‘तर विकल्प नहुँदा यस्तो लेख्न बाध्य भयाैं।’
पत्रकार बन्ने चाहना राखेका राजन मानन्धर आज आफू नै समाचार बनिरहेको सुनाउँछन्। ‘पत्रकार बन्नकै लागि १२ कक्षामा पत्रकारिता लिएर पढें,’ उनले भने, ‘तर अब समाचार बनेर बाहिरिनुपर्ने बाध्यता छ।’ स्वदेशमै केही गरेर पढाइलाई निरन्तरता दिने सोच भए पनि त्यस्तो अवस्था नदेखिएको उनले बताए।
सरकारले युवा विद्यार्थीलाई देशभित्र रोजगारीको बन्दोबस्त गर्न नसकेको, देशको अर्थतन्त्र झन्झन् कमजोर बन्दै गएको, राष्ट्रिय उत्पादनमा चासो नदेखाएको, कृषिप्रधान देशमा रासायनिक मल कारखाना नभएको, कोभिडजस्तो रोग फैलँदा समेत अक्सिजन नपाएको, समयमै खोप नपाएको, कुनै पनि क्षेत्रमा आशा नदेखिएकाले निराश हुनुपर्ने अवस्था आएको मानन्धरले सुनाए। ‘हामीले पढाइसँगै देशमा पनि के भइरहेको छ नियालेका हुन्छौं,’ उनले भने, ‘हामीलाई अहिलेको अवस्थाले आशा जगाउन सकेन।’
अझै पनि सरकार आफ्नै स्वार्थमा अल्झिरहेकाले आफूहरूको समस्याको सुनुवाइ हुनेमा उनी आशावादी छैनन्। ‘हाम्रा काका र दाइ पनि विदेश गएका हामीले देख्यौं,’ उनले थपे, ‘अब हाम्रा छोरानातिले कामका लागि बिदेसिन नपरोस् भन्ने चाहन्छौं।’
आफूहरूले लेखेको सन्देशले समाजको ध्यान खिचेकोमा भने उनीहरू खुसी छन्। संसद्मा समेत ‘खाडीमा भेटौंला’ भन्ने सन्देशको आवाज गुन्जिएकोमा उनीहरू खुसी भएका हुन्। ‘कम्तीमा यो तितो यथार्थमाथि फेरि बहस सुरु भएको छ,’ उनले भने, ‘कुनै दिन यो तितोको पनि अन्त्य हुने आशा गर्छौं।’
उनले भनेजस्तै फेसबुक, टिकटक, ट्विटरलगायतका समाजिक सञ्जालका भित्ताहरूमा उनीहरूको तस्बिर राख्दै विभिन्न टिप्पणी भइरहेका छन्। कसैले यसलाई समाजको तितो यथार्थ भन्दै टिप्पणी गरेका छन् त कतिपयले सरकारी असफलताको परकाष्ठा भनेर क्रोधित भएका छन्।
‘नेताहरूको मै खाऊँ मै लाऊँ’ नीतिको परिणामस्वरूप आज विद्यालय स्तरमा पढ्ने कलिला विद्यार्थीको मानसिकतामा समेत देश तथा व्यवस्थाप्रति कस्तो नकारात्मक सोच आउन लागेछ, यसले छर्लङ्ग पार्छ,’ सामाजिक सञ्जालमा चन्द्र खड्का लेख्छन्, ‘यस्तै स्थिति रहे देशको भविष्य कस्तो होला?
त्यस्तै नेपालमा भएको औद्योगिक वातावरण बिग्रँदै जादा युवाहरूको पलायन हुने सोच पलाएको कतिपयको बुझाइ छ। नेपालमा भएको कलकारखानाहरूले निरन्तरता पाइरहेको भए यी कलिला बच्चाले जन्मँदै विदेश सोच्नु पर्दैनथ्यो होला। सामाजिक सञ्जालमा दुर्गा तिवारी लेख्छिन्, ‘विभिन्न बहानामा स्वदेशी कलकारखानालाई विस्थापित गरी नेपाली कामदार बिदेसिनुबाहेक अर्को विकल्प के नै छ र...? यस्तो कुरा जिम्मेवार व्यक्तिहरूले बेलैमा जिम्मेवारी लिनुपर्दैन...?
तर यस्तो जिम्मेवारी कसैले लिएको देखिँदैन। त्यसैले निराशाको यो अवस्था अहिले मुलुकबाट २ हजार युवा कामको खोजीमा विभिन्न मुलुकमा गइरहेका छन्। राजनीतिक अस्थिरताले काम गर्ने वातावरण खस्कँदै जानु, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती हुनु, युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनुलगायत कारणले बिदेसिने युवाको लर्कोमा कमी आउन सकेको छैन।