नेभिगेसन मेनु

अति महँगिएपछि बैंकमा थन्कियो १८५ किलो सुन
सम्पादक:南亚网络电视
समय:2023-03-31 13:06

thumb

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचाक्ली बढेपछि नेपाली बैंकबाट सुन बिक्न छाडेको छ । सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाउन थालेपछि सुन व्यवसायीले बैंकको सुन किन्न छाडेका छन् । उनीहरूले सुन किन्न छाडेपछि बिहीबारसम्म वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक रहेको नेपाल बैंकर संघले जनाएको छ । फागुन मसान्तसम्म २ सय १३ किलो स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेको संघको भनाइ छ ।

‘मूल्य बढेपछि व्यवसायीले किन्न छाडे, फागुन मसान्तसम्म २ सय १३ किलो स्टक थियो,’ संघका एक कर्मचारीले भने, ‘फागुन मसान्तयता २८ किलो बिक्री भए पनि बिहीबारसम्म १ सय ८५ किलो स्टक नै छ । बैंकमा स्टक रहेकाले सुन आयात गरिएको छैन ।’ नेपाल राष्ट्र बैंकले कोटा प्रणालीबाट सुन आयातको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कोटाअनुसार आयात र बिक्रीवितरण गर्न पाउँछन् ।

आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको हो । कोटा प्रणालीअनुसार प्रतिदिन १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । मुलुकमा सुन मुख्यतः दुबई, हङकङ, स्विट्जरल्यान्डबाट आयात गरिन्छ । उक्त सुन व्यापारीहरूले गहना बनाएर मात्रै बेच्न पाउँछन् । तर सुनको मूल्यले कीर्तिमानी मूल्य बनाएपछि सुन बिक्री सुस्त भएको छ, जसले गर्दा बैंकको सुन पनि बिक्री नभएको हो । दैनिक कोटाअनुसार यसबीचमा उपत्यका र उपत्यकाबाहिर गरी २ सय किलोको कोटा मौज्दात रहेको संघले जनाएको छ । व्यवसायीलाई तत्काल सुन आवश्यक परे दैनिक कोटाका अतिरिक्त २ सय कोटा तत्काल ल्याउन सकिने जनाइएको छ । जानकारका अनुसार बैंकमै सुन थन्किँदा होल्डिङ चार्ज बढ्दै जान्छ । बिमा पनि हुन्छ । भाउ बढ्दा घाटाको जोखिम पनि बैंकले नै बेहोर्नुपर्छ । त्यसकारण बैंकहरूले सुन आयात नगरेका हुन् ।

बजारमा बिक्री ठप्पप्रायः रहेकाले समस्या भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले बताए । ‘सुनको मूल्यले रेकर्ड बनाउन थालेपछि बजार सुस्त छ । सर्वसाधारण गहना किन्नभन्दा बिक्री गर्नतर्फ लागेका छन्,’ उनले भने, ‘न्युरोड, विशाल बजारमा सामान्य बिक्री भए पनि अन्य क्षेत्रमा ठप्पप्रायः छ । केही सुन पसलमा ग्राहक देखिए पनि खरिदभन्दा बिक्री गर्न आउने बढी छन् ।’

महासंघका अनुसार गत माघ १९ मा प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भई उच्च रेकर्ड कायम गरेको सुनको मूल्य चैत ५ मा १ लाख १० हजार रुपैयाँमा कारोबार भएर कीर्तिमानी मूल्य बनेको थियो । त्यसपछि मूल्यमा अस्थिरता देखिएको छ । चैत ६ मा थोरै घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन चैत ७ मा प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुग्यो । चैत ८ मा घटेर प्रतितोला १ लाख ७ हजार ८ सय, चैत ९ मा १ लाख ९ हजार, चैत १० मा १ लाख ९ हजार ८ सय र चैत १२ मा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । चैत १३ मा प्रतितोला १ लाख ९ हजार, चैत १४ मा प्रतितोला १ लाख ८ हजार, चैत १५ मा १ लाख ८ सय ५ सय र चैत १६ मा प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकै कारण ८ महिनामा आयात परिमाण करिब ५० प्रतिशतले घटेको छ । तर आयात रकम भने ३ अर्ब १८ करोडले बढेको छ । ०७८/७९ को ८ महिनामा ४३ लाख ४५ हजार २ सय ग्राम आयात भएको सुन चालु आर्थिक वर्षको सोही अवधिमा २६ लाख १२ हजार ७ सय ६१ ग्राम आएको भन्सार विभागको तथ्यांक छ । २०७८/७९ को ८ महिनामा सुन खरिदमा ३२ अर्ब ६८ करोड बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३५ अर्ब ८६ करोड पुगेको छ ।

मूल्यमा देखिएको अस्थिरताले बजार व्यापार ठप्पप्रायः भएको महासंघको भनाइ छ । वैशाख बिहेको सिजन हो । त्यसबेला सुन बिक्री हुने अपेक्षा महासंघको छ । तर मूल्यमा देखिएको अनिश्चितताले सुनको माग हुन सकेको छैन । ‘विगतमा बिहेको सिजन सुरु हुन दुई साताअघिदेखि नै चहलपहल हुन्थ्यो । तर अहिले सुनसान जस्तै छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘बजार अनिश्चित छ । सुनको भाउ बढेर सर्वसाधारण पर्ख र हेरको अवस्थामा छन् ।’ अमेरिकाका दुई बैंक बन्द हुनु सुनको भाउ बढ्नुको मुख्य कारण रहेको उनको भनाइ छ ।

अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढेको शाक्य बताउँछन् । सुरक्षित लगानीका रूपमा रहेको सुनमा लगानी गरेकै कारण अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको उनले बताए । त्यही भएर पनि लगानीकर्ता सुनमा आकर्षित भएको महासंघले जनाएको छ । ‘विश्वमा आर्थिक मन्दी जस्तै देखिएको छ । बैंक डुब्न थालेपछि लगानीकर्ताले सुन किन्न थाले, त्यसको असर मूल्यमा देखिएको हो,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा देखिएको अन्योलसँगै यहाँ पनि बजार मूल्य अकासिएको छ । नेपाली सुन बजार भने सुनसान छ ।’

रुस र अमेरिकाबीच थप द्वन्द्व बढ्ने संकेतले पनि पछिल्लो पटक सुनको मूल्य थप बढेको जानकार बताउँछन् । हालै द हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युक्रेनसँग युद्ध अपराधमा जिम्मेवार ठहर गर्दै अदालतले पुटिनलाई पक्राउ पुर्जी जारी गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसको स्वागत गरेका छन् । हेग अदालतले पक्राउ पुर्जी जारी गर्दैमा पुटिनलाई कुनै असर नपरे पनि अमेरिका र रुसबीचको आर्थिक तथा वैचारिक द्वन्द्व बढ्ने संकेतले सुरक्षित लगानीका लागि सुनमा आकर्षण बढेको व्यवसायीहरूको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर