नेभिगेसन मेनु

प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला
सम्पादक:南亚网络电视
समय:2023-03-23 13:55

thumb (1)

सुदखोरमात्र होइन, प्रहरी, प्रशासन, अड्डा अदालतबाट समेत लखेटिएका महिला बर्दिवासबाट हिँडेको आठौं दिन हेटौंडा आइपुगेका छन्, तर नागरिक किन पैदल आउँदै छन्, दाहाल सरकारलाई वास्तै छैन

पथलैया, बारा — प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भन्दै थिए, ‘अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु ।’ भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन । निम्तोबिना भारतको पाहुना बन्न आतुर दाहाल स्वयम्लाई भेट्न महिलाहरू सिंहदरबार आउँदै छन्, त्यो पनि राजमार्गमा हिँडेर । तर, उनीहरूको माग के हो ? प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदै छन्, सरकारलाई वास्तै छैन ।

पीडित पदयात्रा : नलिएको ऋणबाट ‘मुक्ति’ पाउन र मिटरब्याजी तमसुक व्यवस्था खारेजीको माग सुनाउन महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ हिँडिरहेका महिलाहरू पूर्वपश्चिम राजमार्गअन्तर्गत अमलेखगन्जमा । चैत २ मा यात्रा सुरु गरेका उनीहरू बुधबार राति हेटौंडामा बास बसेका छन् । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन् । मिटरब्याजपीडितले विगतमा जस्तै यस पटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेशका पीडितहरू बर्दिबासमा जम्मा भएर काठमाडौंको मार्चमा छन् । यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।

‘तमसुक व्यवस्था खारेज गर’ भन्ने मुख्य नारासहित चैत २ मा बर्दिबासबाट निस्केको मार्च मंगलबार साँझ बाराको पथलैया आइपुगेको थियो । बुधबार बिहान पथलैयाबाट सुरु भएर साँझ मकवानपुरको हेटौंडासम्म करिब २५ किलोमिटर यात्रा पछ्याइरहेको कान्तिपुर टिमले पैदलयात्रीको मनोविज्ञानमा कुनै अन्योल भेटेन ।

 अलिअलि भएको पुर्ख्यौली सम्पत्ति र जिन्दगीभरको पसिना सुदखोरले कब्जा गरिदिएपछि गुमाउन के बाँकी छ ? अब परीक्षा सरकारको हो भन्नेमा उनीहरू ढुक्क छन् । सिरहाकी पुनितादेवी महतोले भनिन्, ‘न्याय नइमिल्तै त घरे नइएबै (न्याय नपाएसम्म घर फर्कने कुरै छैन) ।’

गोलबजार–५ की पुनितादेवीलाई सुदखोर मात्र होइन, पछिल्लो एक वर्ष प्रहरी प्रशासनले पनि लखेटिरहेको छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्को १२ वर्षअघि उतै मृत्यु भयो, एक्लै तीन छोरा हुर्काउने अवस्था आइलाग्दा उनी २२ वर्षकी मात्र थिइन् । पुरानो व्यवहार मिलाउन र छोराहरूलाई हुर्काउन, पढाउन गोलबजारकै शारदादेवी साहबाट ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । २०७३ माघमा ऋण लिएलगत्तै ५ हजार फिर्ता गरिन् भने बाँकी ५० हजारका लागि ब्याज तोकियो– साताको ११ हजार रुपैयाँ ।

उनले यही बेला जीवन विकास लघुवित्तमा पनि ऋणका लागि आवेदन गरेकी थिइन् । १ लाख रुपैयाँ ऋण पाएपछि लघुवित्तका कर्मचारीकै अगाडि उनले शारदादेवीलाई तिरिन् । तर, तमसुक माग्दा घरमा आउन भनियो । घर पुगेपछि भने ऋण ५ लाख पुगेको भन्दै थप चार लाख दिए मात्रै तमसुक च्यात्ने भनियो । १० धुर ऐलानी जग्गामा बनेको कच्ची घरमा जीविका चलाउँदै आएकी पुनितादेवी गुजारा गर्न पनि ज्यालादारी गर्छिन्, उनले लिँदै नलिएको चार लाख पैसा किन तिर्नु, कहाँबाट तिर्नु ?

पीडित पुनितादेवी हुन्, तर अदालतमा मुद्दा लिएर पुगिन् शारदादेवी । ‘मैले तिर्न सक्दिनँ भनेपछि मेराविरुद्ध अदालतमा मुद्दा पर्‍यो । त्यो मुद्दा मैले हारें । मलाई जेलमा पठाउने फैसला भएको थाहा पाएपछि लुकेरै हिँड्नुपरेको छ, आफ्नै गाउँमा भागीभागी बस्नुभन्दा काठमाडौं नै जान्छु भनेर हिँडेकी छु,’ उनले कान्तिपुरसँग भनिन् ।

भोक न निद्रा : बाराको चुरियामाई मन्दिरनजिक बुधबार बिहान खाना खाँदै । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

५० हजार ऋण लिएकी पुनितादेवीले साताको ११ हजार ब्याज जोडेर एक लाख तिरिन् । तर तमसुक र सुदखोरको बयानलाई प्रमाण मानेर अदालतले पुनितादेवीले थप एक लाख ६५ हजार ऋण लिएको ठहर गर्‍यो । न्यायाधीश नरनारायण पौडेलले २०७७ को पुस २३ मा गरेको फैसलामा साँवा, ब्याज र अदालती शुल्कसमेत भराउन भनिएको छ ।

मकवानपुरको रातोमाटेस्थित राजमार्गछेउमा आराम गर्दै मिटरब्याजपीडित । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पुनितादेवीले पैसा नतिरेपछि उनलाई पक्राउ गरी थुनामा राख्न र बक्यौता असुलउपर गर्न भनी शारदादेवीले सिरहा जिल्ला अदालतमा दरखास्त हालिन् । २०७८चैत १ मा प्रहरीले सातदिने म्याद घरमा लगेर टाँसिदिए । त्यसयता उनी लुक्दै हिँडिरहेकी छन् । छोराहरू ममाघरमा छन् । ‘गयो भने पक्राउ गर्छन्, लिएको पैसा तिरियो, नलिएको पैसा कसरी तिर्ने ? तर लुकीलुकी कति दिन बाँच्ने ?’ पुनितादेवी भन्छिन्, ‘मेरो धेरै माग छैन । ५५ हजार ऋण लिएकोमा शारदादेवीलाई एक लाख तिरिसकें । अब थप तिर्न नपरोस् । म मेरै घरमा छोराहरूलाई हुर्काउन पाऊँ, आफैंले पकाएर खुवाउन पाऊँ । प्रहरीले पक्राउ नगरोस् ।’ पुनितादेवी काठमाडौंको दोस्रो यात्रामा छिन् । १२ वर्ष पहिले काठमाडौं पुग्दा काखमा ६ महिने छोरा थिए । साउदी अरबबाट ‘कफिनमा आएका’ श्रीमान्लाई एम्बुलेन्समा लिएर उनी गाउँ फर्किएकी थिइन् । यसपालि ‘न्याय’ लिएर फर्कने अठोटमा छिन् ।

धनुषा सबैलाकी कल्पना धामी त अहिले नै कोखमा ६ महिने दूधे बच्चा च्यापेर काठमाडौं जान हिँडिरहेकी छन् । श्रमका लागि श्रीमान्लाई साउदी पठाएको दुई दिनपछि उनी मार्चमा निस्केकी हुन् । लघुवित्तबाट लिएको ऋण तिर्न उनले स्थानीय मुसरु ग्वार (यादव) बाट ५० हजार सापट लिएकी थिइन् । तर, साहुले ब्याज तोके– साताको १० हजार । मिटरब्याज तिर्न उनले अर्को लघुवित्तबाट एक लाख ऋण लिइन् । पैसा पाए पनि साहुले तमसुक च्यातेनन्, बरु थप एक लाख तिर्न फेरि धम्की दिए ।

कल्पनाले पैसा नतिरेको भन्दै ग्वारले जिल्ला अदालत धनुषामा मुद्दा दिएका छन् । उनलाई अदालतमा आफ्नो पक्ष राख्न मन छ, तर वकिल राख्ने पैसा छैन । पाँच वर्षका जेठो छोरालाई जेठानीसँग छाडेर उनी मार्चमा हिँडेकी हुन् । भन्छिन्, ‘जे गर्नुपर्ने हो गर्ने, तर न्याय नपाएसम्म नफर्किने भनेर आन्दोलनमा आएकी छु ।’

मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले आयोजना गरेको बर्दिबास–काठमाडौं मार्चमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका ७५ किसान सहभागी छन् । जसमा ९ जना मात्रै पुरुष छन् । बर्दिबासबाट हिँडेको पहिलो दिन उनीहरू गौशाला रोडमा बसे । दोस्रो दिन लालबन्दी, तेस्रो दिन वाग्मती, चौथो दिन चन्द्रनिगाहापुर पुगेका उनीहरू पाँचौं दिन निजगढ, छैटौं दिन पथलैयामा बास बसेका थिए । बुधबार हेटौंडामा सुस्ताएका उनीहरू दैनिक औसत २५ किलोमिटर हिँडेर अब ४ दिनमा काठमाडौं पुग्ने लक्ष्यमा छन् ।

संघर्ष समिति एक वर्षदेखि मधेशमा आन्दोलित छ । संयोजक मनोजकुमार पासवान मधेश प्रदेश र प्रमुख जिल्ला अधिकारीहरूले बेवास्ता गरेपछि बाध्यताले काठमाडौं मार्चमा निस्केको बताए । ‘गत साउन १५ मा ७ बुँदे माग राखेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थियौं, तर पीडित किसानका समस्या समाधानमा मधेश सरकारले कुनै पहल लिएन,’ भन्छन्, ‘बरु अड्डा/अदालतले पीडितलाई उल्टै थुनामा पठाउने र उनीहरूको सम्पत्ति पनि जफत गर्न थाले, त्यसैले काठमाडौंको बाटो लागेका हौं ।’

काठमाडौं हिँड्नुअघि संघर्ष समितिले गत फागुन १८ मा साउनमै राखेका ८ बुँदे मागको पुनः स्मरण गराउँदै मधेशका मुख्यमन्त्री सरोज यादवलाई स्मरण पत्र बुझाएको थियो । जसमा मिटरब्याजीलाई कारबाही, पीडितको जफत गरिएको सम्पत्ति फिर्ता, मिटरब्याजीको सम्पत्ति छानबिन, सहुलियत दरमा ऋणको व्यवस्था, मिटरब्याजीबाट पीडितमाथि गरिएको यौनशोषणको छानबिन र दोषीलाई कारबाही, तमसुक व्यवस्था खारेजलगायतका माग राखिएका छन् ।

कुनै पनि मागमा राज्यका कुनै पनि निकाय संवेदनशील नभएपछि बाध्य भएर पीडितहरूलाई एकीकृत गर्ने अभियानमा खटिएको महोत्तरीका संघर्ष दाहालले बताए । ‘मधेशमा मिटरब्याज समस्या दुई तप्काका मानिसमा देखिन्छ । एक, अत्यन्त गरिब– जसले जीविका चलाउनैका लागि ऋण लिएका छन् । अर्काथरी, सामान्य व्यापारका लागि ऋण लिएका छन्,’ दाहालले भने, ‘तर दुवै थरीमाथि ज्यादती छन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर