धनुषा, फागुन १९ गते । नेपाल रेडक्रसद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा आँखाको गुणस्तरीय उपचार सेवा दिन थालिएपछि विरामीको संख्या बढदैगएको छ । अस्पतालमा दिनको तीन सयदेखि पाँच सयसम्म आँखाका विभिन्न रोगका विरामीहरु उपचारका लागि यहाँ आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सो अस्पतालमा आँखाको समान्य उपचारदेखि शल्यक्रिया गर्ने सम्मको काम गुणस्तरीय देखिएपछि मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटसहितका जिल्ला र भारतको मधुवनी र सितामडी जिल्लाबाट सयौंको संख्यामा आखाँका रोगीहरु यहाँ आउन थालिएको जानकी आँखा अस्पताल विकास समितिका अध्यक्ष नरेश सिंहले जानकारी दिनुभयो ।
उहाँले मधेशका जिल्लाको ग्रामीण भेगमा अस्पातलले विभिन्न संघ संस्थासँगको सहकार्यमा शिविरहरु सञ्चालन गरी आँखाका जटिल बिरामीहरु पता लगाएर अस्पतालमा ल्याई निःशुल्क रुपमा शल्यक्रिया गराई निको पार्ने काम गर्नेगरेको जानकारी गराउनुभयो ।
जानकी आँखा अस्पतालमा प्रत्येक दिन एक सयभन्दा बढी मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया गरी आँखा निको पार्ने काम गर्दैआएको अस्पतालका प्रमुख एवम रेटिना तथा फेकोसर्जन डा. आशिष बोहराले जानकारी दिनुभयो । अस्पतालमा विनासुईको (टोपिकल फेको) शल्यक्रिया गराउने आँखाका बिरामीले शल्यक्रिया गरेको एक घण्टामै संसारलाई हेर्नेगरेको बताउनुभयो ।
प्रत्येक वर्ष १२ हजारभन्दा बढी मोतीबिन्दुका विरामीले यस अस्पतालमा शल्यक्रिया गराई लाभ लिएको जानकारी गराउनुभयो । अस्पतालका प्रमुख डा. बोहराका अनुसार सात वर्षमा आफुले एकलै २५ हजारभन्दा बढी मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया गरी निको पारेको बताउनुभयो । प्रतिदिन एक सयभन्दा बढी मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि आफुलाई कुनै किसिमको थकान नहुने र शल्यक्रियापश्चात बिरामीले देख्दा बिरामीभन्दा बढी आफुलाई खुशी लाग्नेगरेको उहाँको भनाइ छ ।
डा. सन्दुक रुइतको प्रेरणाले आफु यस क्षेत्रमा आएको बताउँदै आँखाको समान्य उपचार गराएका विरामीलाई औषधीको पैसा तिर्न नसक्ने अवस्था देखिएपछि अस्पतालबाटै औषधि समेत दिने गरिएको उहाँले जानकारी दिनुभयो । मधुमेह रोग लागेका विरामीमा अन्धोपना बढी देखिएको भन्दै डा. बोहराले मधुमेह रोग लागेका व्यक्तिले प्रत्येक छ महिनामा आँखाको जाँच गराउनु पर्ने सुझाव समेत दिनुभयो ।