नेभिगेसन मेनु

बुटवलका सार्वजनिक जग्गामा भूमाफियाका आँखा
सम्पादक:南亚网络电视
समय:2023-01-26 16:38

IMG_20230120_12513716744045261674706157

रूपन्देहीका धेरै सार्वजनिक जग्गा भूमाफियामार्फत् व्यक्तिका हातमा पुगेको पाइएको छ।

तिलोत्तमा नगरपालिका-६ को करिब साढे दुई बिघा सार्वजनिक जग्गा भूमाफियाले लालपुर्जा बनाएर बेचबिखन गर्न लागेको समाचार सार्वजनिक भएसँगै बुटवलको पनि सार्वजनिक जग्गा भूमाफियाहरूको नियन्त्रणमा पुगेको तथ्य खुलेको हो।

बुटवल उपमहानगर-११ को ‘९ग’ नक्सा, कित्ता नं. १९९ को ७ कट्ठा र कित्ता नं. १८७ को ४ कट्ठा ५ धुर गरी ११ कट्ठा ५ धुर आँकडा जग्गा भूमाफियाले लालपुर्जा तयार गरी बेच्न लागेको पाइएको छ। यो जग्गाको मूल्य करोड बढी पर्छ।

उक्त दुवै कित्ता व्यक्तिका नाममा दर्ता भएको तर लालपुर्जा नपाएको अवस्थामा छ।

वडा नम्बर ११ का वडा सदस्य नकुल शाहीका अनुसार सोही वडाको ती दुई कित्ताका आँकडा जग्गा कृष्णप्रसाद भुसाल जैसीले लालपुर्जा बनाएर बिक्री गरेका छन्।

बुटवलमा आँकडा, बहाल बिटौरी र कोदाले जग्गामा बस्नेहरूको संख्या धेरै छ। वडा सदस्य शाहीका अनुसार वडा नम्बर ११, बुद्धनगर र मोतीपुर क्षेत्रमा बसोबास गर्ने अधिकांश बासिन्दाको जग्गा आँकडा प्रकृतिको छ। आँकडा जग्गा भनेको झाडी फाँडेर व्यक्तिले भोगचलन गरेको तर लालपुर्जा नबनेको जग्गा हो।

शाहीले वर्षौंदेखि वडा नम्बर ७, दीपनगरमा बसेकी पार्वती पाण्डेले जोतभोग गर्दै आएको उक्त आँकडा जग्गाको लालपूर्जा कृष्णप्रसादको समूहले व्यक्तिको नाममा बनाएर बेचबिखन गरेको अवस्थामा फेला परेको बताए।

‘हामीले उक्त जग्गा पार्वती पाण्डेले भोगचलन गरेको आधारमा सरकारले बनाएका सुकुम्वासी आयोगमा फारम भरेको जानकारी पाएका थियौं,’ शाहीले भने, ‘अहिले कृष्णप्रसाद भुसालको नाममा लालपुर्जा बनाएर बिक्री गरिएको भन्दा अचम्म लाग्यो।’

जग्गाको जोतभोगको सिफारिस गर्दै आएको ‘पाँचमौजा तपाह सिँचाइ व्यवस्थापन समिति’ ले २०७१ सालमा उक्त ११ कट्ठा ५ धुर जग्गा वडा नं ९ का बासिन्दा भविश्वर पाण्डेकी छोरी पार्वती पाण्डेले जोतभोग गर्दै आएको प्रमाणित गरेको छ। जोतभोगको प्रमाणित गर्ने सिँचाइ व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रेश्मी हाल वडा नं १७ का वडाध्यक्ष छन्।

उक्त जग्गा पार्वतीले २०६३ सालमा हरिकला भुसालबाट लिएको कुरा आफूहरूले थाहा पाएको स्थानीयवासी बताउँछन्। २०७२ सालमा बुटवल उपमहानगरले उक्त जग्गा फिल्ड बुकमा रूद्रप्रसाद शर्माको नाममा दर्ता भएको र निजको मृत्युपछि श्रीमती हरिकला भुसालले घरसारमा पैसा लिई पार्वती पाण्डेलाई बेचेको ठहर गरी बहाल बिटौरी, आँकडा लगत बमोजिम जग्गा दर्ता समिति, २०७२ लाई सिफारिस गरेको थियो।

बुटवल उपमहानगर ११ को कित्ता नम्बर १९९ र १८७ को उक्त जग्गाको लालपुर्जा कृष्णप्रसाद भुसाल जैसीको नाममा छ। लालपुर्जामा २०५१ सालमा सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको हस्ताक्षर छ।

आयोगले दिएको भनिएको लालपुर्जा लिँदा कृष्णप्रसादको उमेर १३ वर्ष देखिन्छ। मालपोत कार्यालयका अनुसार संरक्षक नराखी नाबालकको नाममा लालपुर्जा दिने प्रावधान छैन।

बुटवल उपमहानगर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री २०५१ सालमा गठन गरिएको भोजप्रसाद श्रेष्ठ नेतृत्वको सुकुम्वासी समस्या समाधान आयोग, रूपन्देहीले बुटवल ‘९ग’ नक्साको कुनै पनि कित्ताको लालपुर्जा वितरण नगरेको बताउँछन्।

त्यति बेलाको सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष श्रेष्ठ हाल लुम्बिनी प्रदेशसभा सदस्य छन्। उनले पनि आफ्नो नेतृत्वको आयोगले ‘बुटवल ९ग’ कुनै पनि जग्गाको लालपुर्जा नदिएको बताए।

उनले भने, ‘म अध्यक्ष रहेको आयोगले बुटवल ९ग क्षेत्रको कुनै पनि जग्गाको लालपुर्जा वितरण गरेको थिएन। हस्ताक्षर गर्ने कुरै भएन। हस्ताक्षर छ भने त्यो मेरो होइन।’

कृष्णप्रसादले २०७२ सालमा उक्त जग्गा मालपोत कार्यालयको कम्प्युटरमा अभिलेख दर्ता गराएका छन्।

गत पुस ९ गते कित्ता नं १९९ को लालपुर्जाको प्रतिलिपी निकालेर पुस १० गते नै बुटवल १४ (साविक मोतीपुर-७, सेमलार) की लक्ष्मी न्यौपानेलाई बेचेर मालपोत कार्यालय बुटवलबाट नामसारी गरिदिएका छन्।

कृष्णप्रसादले लालु खड्का (वि.क.) र गिरिप्रसाद भुसालको मध्यस्थतामा उक्त जग्गा लक्ष्मीलाई बेचेको लक्ष्मीका एक आफन्तले बताए।

उनले प्रश्न गरे, ‘लालपुर्जा गलत थियो भने मालपोत कार्यालयले पुस ९ गते प्रतिलिपी दिने र १० गते जग्गा पास गर्ने काम कसरी गर्‍यो?’

मालपोत कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेलले उक्त जग्गा कृष्णप्रसादले लक्ष्मीलाई बेचेको लालपुर्जाको अभिलेख मालपोत कार्यालयमा नदेखिएको बताए।

‘त्यो आँकडा उल्लेख भएको जग्गा हो। कसले, कसरी लालपुर्जा बनायो, हामी खोज्दै छौं,’ उनले भने।

कार्यालयका अधिकृत घनश्याम अर्यालको नेतृत्वमा टोली बनाएर अनुसन्धान सुरू गरेको उनले बताए।

मालपोत कार्यालयको अभिलेखमा नदेखिएको भनिएको उक्त जग्गाबाट बुटवल उपमहानगरले कर लिएको देखिन्छ।

२०७२ सालमा कृष्णप्रसाद भुसालले लालपुर्जाको प्रतिलिपी निकालेर उपमहानगरको वडा नं. ११ बाट आर्थिक वर्ष २०७९/८० को भूमिकर भुक्तान गरेका छन्।

वडा सदस्य शाहीका अनुसार २०७९/०८० मा एकमुष्ठ ४ हजार ४२८ रुपैयाँ भूमिकर भुक्तान गरेको भए पनि यो रकम कहिलेदेखिको हो भन्ने खुलेको छैन। विगतमा भूमिकर नतिरेका जग्गा कसरी यस वर्षमात्रै इन्ट्री गरेर कर लिइयो भन्ने पनि अनुसन्धानको विषय भएको वडा सदस्य शाहीको भनाइ छ।

उनले भने, ‘यसमा हाम्रै वडाका कर्मचारी समेतको मिलेमतो छ कि भन्ने आशंका उब्जिएको छ।’

भूमाफियाहरूले उक्त जग्गाको लालपुर्जा निकालेर मालपोत कार्यालय, बुटवलको कम्प्युटरमा समेत अभिलेख बनाएका छन्।

कम्प्युटरमा दर्ता गर्न सफल भए पनि मोठ (जग्गाको अभिलेख राख्ने रजिस्टर) मा अभिलेख राख्न भरपर्दो माध्यम खोजिरहेका बेला भूमाफियाको चलखेल बाहिरिएको हो।

कृष्णप्रसाद भुसाल जैसीका नाममा लालपुर्जा निकालेको उक्त जग्गा लालु खड्का र गिरिप्रसाद भुसाल मिलेर बैंकबाट ऋण निकाल्ने योजना थियो।

ऋण लिन सहज नदेखिएपछि लक्ष्मी न्यौपानेलाई बिक्री गरेको देखिन्छ।

कृष्णप्रसादले भने, ‘उनीहरूले लालपुर्जा दिएपछि बैंक वा व्यक्तिबाटै भए पनि दुई करोड रुपैयाँ निकाल्ने भनेका थिए तर मैले मानिनँ।’

मालपोत कार्यालय, बुटवलका प्रमुख अर्यालले उक्त लालपुर्जा शंकास्पद देखिएकोले बदर गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्।

यसअघि बुटवल उपमहानगर-१७ मा रहेको २२ कट्ठा सरकारी जग्गाको पनि व्यक्तिको नाममा लालपुर्जा बनेको थियो। पछि फिर्ता गराइएको थियो।

नापी कार्यालयमा २०२७ सालदेखि पर्ती देखिने उक्त जग्गा मालपोत कार्यालयमा कित्ता नम्बर थपेर व्यक्तिको नाममा गराइएको थियो।

नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने कित्ता नं. ४२ बनाएर व्यक्तिको नाममा पास गरिएको थियो। मालपोत कार्यालयको मोठमा केरमेट गरेर नयाँ कित्ता नम्बर लेखिएको थियो।

स्थानीयका अनुसार उक्त सरकारी जग्गा एकपछि अर्कोलाई बेच्दै चौथो व्यक्तिमा पुगेको थियो।  

वडा कार्यालयबाट चौकिल्ला सिफारिस गरेका वडा नं १७ का वडाध्यक्ष रेश्मीले आफूबाट गल्ती भएको स्वीकार गर्दै जग्गा रोक्का गर्न मालपोत कार्यालयमा निवेदन दिएपछि कार्यालयले लालपूर्जा बदर गरेको हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर