नेभिगेसन मेनु

दुई दिनपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
सम्पादक:南亚网络电视
समय:2025-11-06 11:59

 

 nepse-1712024022910-1000x0-06112025021046-1000x0

काठमाडौँ — अघिल्ला दुई दिन लगातार घटेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । सोमबार ८.२४ र मंगलबार २७.६४ अंकले घटेको नेप्से बुधबार १२.१७ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कारोबारमा आएकामध्ये १ सय ४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको घट्यो । १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसरी सेयरमूल्य बढ्ने कम्पनी घट्नेभन्दा धेरै भएपछि बुधबार समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

बुधबार ४२ हजार ८ सय ७९ पटकको कारोबारमा ९२ लाख १८ हजार ८ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो । तर यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.४५ र सामूहिक लगानी कोषको ०.०५ प्रतिशतले घट्यो ।

मंगलबारबाट कारोबारमा आएको माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको छ । बुधबार बजार बन्द हुँदासम्म यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ सय ८४ रुपैयाँ छ । यस दिन फस्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य ७.४८ प्रतिशतले घट्यो । यो कम्पनीको प्रतिकित्ता ८ सय ७८ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार युनियन हाइड्रोको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब २१ अर्ब रुपैयाँले विस्तार भएको छ । मंगलबार ४३ खर्ब ३९ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण बुधबार बढेर ४३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यससँगै लगानीकर्ताको सम्पत्तिको मूल्य करिब २१ अर्ब रुपैयाँले बढेको विश्लेषण गरिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर