नेभिगेसन मेनु

पब्जी र डोटा : खेल कि खेलबाड ?
सम्पादक:南亚网络电视
समय:2023-01-16 16:00

thumb (3)

काठमाडौँ — - नेपाल दूरसञ्चार प्राधिकरणले तीन वर्षअघि ‘पब्जी’ (प्लेयर्सअननोन ब्याटलग्राउन्ड्स) ले बालबालिकामा नकारात्मक असर गरेको भन्दै यो भर्चुअल गेममा प्रतिबन्ध लगाइएपछि अनलाइन गेम खेल्ने–बुझ्ने पुस्तामा ठूलै हलचल भएको थियो । चर्को दबाबपछि एक सातामै फिर्ता लिइएको प्रतिबन्धको निर्णय वास्तवमै पब्जी र ईस्पोर्ट्सका लागि ‘प्रोडक्टिभ’ नै बन्यो । यसबारे कुनै जानकारी नभएकालाई पनि ईस्पोर्ट्स के हो, कसरी खेल्ने भनेर बुझ्ने उत्सुकता जगाइदियो ।

- एसियाली खेलकुदमा औपचारिक रूपमै पदक गणना गरिने खेलका रूपमा ईस्पोर्ट्सलाई समावेश गरियो । १९ औं एसियाडमा समावेश ईस्पोर्ट्सका आठमध्ये ६ खेलमा नेपाली टिमको छनोट गत वैशाखमा सञ्चालन गरियो, जहाँ पब्जी मोबाइलमा मात्रै ६ सय ४४ टिमले प्रतिस्पर्धा गरेका थिए । एसियाली ओलम्पिक परिषद् (ओसीए) ले औपचारिक रूपमै ईस्पोर्ट्सलाई आफ्नो प्रतियोगितामा राखेपछि नेपालमा पनि भएको छनोटले भर्चुअल गेमलाई फेरि चर्चा दिलायो ।

- गत असारमा काठमाडौं महानगरको नयाँ बजेटमा मेयर बालेन्द्र शाहले ईस्पोर्ट्सका लागि एक करोड रुपैयाँ प्रस्ताव गरेका थिए । उनी निकटकाहरूलाई लक्षित गरी बजेट छुट्याएको आरोप लगाउँदै त्यसको समर्थन र विरोधमा ठूलै बहस भयो, हलचल मच्चियो, जसले ईस्पोर्ट्स के हो भनेर बुझ्नैपर्ने आवश्यकता बनाइदियो ।

- गत साता जकार्ता (इन्डोनेसिया) मा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ फाइनल्समा छनोट पार गरेर दुई नेपाली टिमले खेल्यो, जहाँ एक टिम उपविजेता भयो । विश्वकै सबभन्दा प्रतिष्ठित पब्जी प्रतियोगितामा दक्षिण एसियाली टिमकै ऐतिहासिक उपलब्धि हो । द रियल सोल्जर्स (डीआरएस) गेमिङ र ट्रन्ड टु किल (टीटुके) ले जितेर भित्र्याएको ४ लाख २४ हजार ५ सय अमेरिकी डलर (करिब ५ करोड ५२ लाख रुपैयाँ) पुरस्कारले फेरि पब्जीसँगै ईस्पोर्ट्सप्रति धेरैको ध्यान तानिएको छ ।

कुल ४० लाख डलर पुरस्कारको च्याम्पियनसिपको उपाधि होडमा टर्कीको एसटुजी ईस्पोर्ट्ससँग पछाडि परेको डीआरएसले प्रतियोगितामा २ लाख ९२ हजार डलर आर्जन गर्‍यो । च्याम्पियनसिप १३ औं स्थानमा टुंग्याएको टीटुकेले १ लाख ३२ हजार ५ सय डलर कमायो । सन् २०२० को अगस्ट २६ मा स्थापित डीआरएसले स्थानीय र अन्तर्राष्ट्रिय तहका प्रतियोगिताबाट हालसम्म ५ लाख १६ हजार ६ सय ३४ (६ करोड ७१ लाख रुपैयाँ बढी) पुरस्कार जितेको छ । टीटुकेले २०१८ को डिसेम्बर १० मा स्थापना भएयता २ लाख ४९ हजार ५ सय १२ डलर (३ करोड २४ लाख रुपैयाँ बढी) हात पारिसकेको छ । नेपालमा सबभन्दा लोकप्रिय खेल भलिबल, फुटबल र क्रिकेट हुन् । तर, पब्जीका डीआरएस र टीटुकेले जितेको पुरस्कारको दाँजोमा न फुटबल क्लब पुगेको छ न क्रिकेट वा भलिबल टिम नै । पीसी हुँदै मोबाइलमा केन्द्रित भएका अनलाइन गेम पब्जीमा नेपाली खेलाडीले पनि मासिक १ लाख ३०/४० हजार रुपैयाँ कमाउन थालेका छन् । त्यसैले पनि डीआरएस, टीटुकेलगायत पब्जी टिमले छोटो अवधिमै जितेको अधिक पुरस्कारले धेरै नेपाली युवालाई आकर्षित गरेको छ, लोभ्याएको छ । कुनै बेला सरकारी निकायले प्रतिबन्ध नै लगाएको पब्जीमा के अब नेपाली खेलाडीको भविष्य उज्ज्वल भएको हो ?

डीआरसका खेलाडी समीर गुरुङ (ग्यान्टे) ले भने, ‘पब्जीमा भविष्य देखेको थिइनँ, रमाइलोकै लागि खेलिन्थ्यो । बिस्तारै आम्दानी पनि हुन थाल्यो । त्यसले खेलिरहें । अहिले पब्जीमै करिअर बनाउनेमा केन्द्रित छु ।’ बीबीएस दोस्रो वर्षमा अध्ययनरत पोखराका २१ वर्षीय उनी प्रस्टै छन्, ‘जबसम्म पब्जी डाउन हुँदैन, तबसम्म खेल्न सकिन्छ ।’ उनी चिन्तित पनि छन्, ‘नेपालमा ईस्पोर्ट्समा लागेर भविष्य बनाउन गाह्रै छ । किनकि ईस्पोर्ट्स यहाँ नौलो कुरा हो । यसमा सरकारको लगानी पनि छैन । त्यसैले धेरैलाई ईस्पोर्ट्समा करिअर बन्छ भन्ने थाहै छैन ।’

लहलहैमा चार वर्षअघि पब्जीमा हात बसाल्न थालेका समीर अहिले यसैको कमाइले आफ्नो खर्च टार्न पुग्ने बताउँछन् । जकार्ताबाट फर्केर घर पुगेका उनले भने, ‘पब्जीकै कमाइले आफ्नो खर्च पुग्छ, राम्रो भइरहेको छ । दैनिक ७/८ घण्टा खेलमा गरेको मिहिनेतले मूल्य पाइरहेको छ, आम्दानी दिइरहेको छ । पब्जी नखेलेको भए पढेर बस्थें, घुमेर हिँड्न नि सक्थें ।’ पीएमजीसीमा उपविजेता भएपछि स्टेजमा पुरस्कार थाप्न उक्लिएको क्षण सम्झँदै भने, ‘सबैको लक्ष्य सहभागी भएपछि उपाधि जित्ने नै हुन्छ, मेरो र हाम्रो टिमको लक्ष्य पनि त्यही हो । जित्ने (उपाधि) भनेर पीएमजीसीमा गएको हो तर जित्न गाह्रै थियो । दोस्रो भएकामा दुःख त थियो तर त्यो पनि ठूलै उपलब्धि हो । दक्षिण एसियाली टिम पहिलोपल्ट विश्व च्याम्पियनसिपमा दोस्रो स्थानमा पुगेको हो । त्यसैले स्टेजमा राष्ट्रिय झन्डासँगै उक्लिँदा गर्व महसुस गरेको थिएँ ।’

आ–आफ्ना देश हुँदै क्षेत्रीय छनोटबाट पीएमजीसीमा ४८ टिम पुगेका थिए, जहाँ नेपालका तीन टिमले स्थान बनाएका थिए । स्काइलाइट्ज गेमिङ भने मलेसियामा भएको लिग राउन्डबाटै बाहिरिएको थियो । इन्डोनेसिया र अरू देशबाट पब्जीको स्क्रिनिङ हेर्न पुगेका हजारौं दर्शकले नेपाली टिमलाई साथ दिएको पनि गुरुङले बताए । नेपाली टिमको स्तरबारे उनले भने, ‘विश्वस्तरमा हेर्‍यो भने हामी राम्रै अवस्थामा छौं । शीर्ष पाँचभित्रै छौं । स्रोत र सुविधा हेर्दा धेरै पछाडि छौं जस्तो लाग्छ ।’ उनको कुरामा भर्चुअल गेमका अभियन्ता कुमार व्यञ्जनकार पनि सहमत छन् ।

पीएमजीसी हेर्न जकार्ता पुगेका उनले भने, ‘ग्रान्ड फाइनल्सका १६ मध्ये १४ टिमलाई उनीहरूका सरकारले ठूलो सहयोग गरेको थियो । सरकारको साथ नपाएका नेपालका दुई टिम मात्रै हो । ग्रान्ड फाइनल्समा डीआरएस र टीटुकेको खेल विभिन्न प्लेटफर्ममार्फत ३० करोड बढीले हेरेका छन्, जसमा दुई टिमले हाम्रै देश नेपालको ब्रान्डिङ गरेको छ । यति ठूलो मान्छेको संख्यामा देशको नाम राख्नु, ब्रान्डिङ गर्नु त्यति सजिलो छैन । त्यसैले पब्जीलगायत ईस्पोर्ट्समा हाम्रो सरकारले लगानी गर्नैपर्छ । यो कुरा जति चाँडो गर्‍यो, देशका लागि, नेपाली टिम र खेलाडीका लागि त्यति नै राम्रो हुन्छ ।’ उनीसँगै महानगरका मेयर बालेन्द्र शाह पनि पीएमजीसीमा पुगेका थिए । शाह आफैं पनि ईस्पोर्ट्समा रमाउने गर्छन् ।

पब्जीमा दर्जन बढी नेपाली टिमले व्यावसायिक रूपमै एक टिमका लागि ४ देखि ६ जना खेलाडीलाई तलब दिएर अनुबन्ध गरेका छन् । फुटबल, क्रिकेटजस्तो केही साताको सिजन वा महिनाका लागि होइन, पूरा वर्षभरिकै तलब पब्जी खेलाडीले पाइरहेका छन् । प्रतियोगितामा जित्ने पुरस्कारबाट टिमको लगानी उठाउन सम्भव छ ? टीटुकेकी टिम म्यानेजर संगीता गुरुङ भन्छिन्, ‘प्रतियोगिता खेलेरै टिमको खर्च उठाउन सकिन्छ । तर नाफामै जान्छ भन्नेचाहिँ छैन । किनकि कहिले प्रदर्शन राम्रो हुन्छ, कहिले बिग्रन्छ ।’

फुर्सदमा आफैं पनि पब्जी खेल्ने गरेकी उनी ईस्पोर्ट्समा भविष्यबारे बोलिन्, ‘अहिले ईस्पोर्ट्समा धेरै नै राम्रो हुँदै छ । नेपालमा पनि राम्रो भइरहेको छ । यस्तै राम्रो गर्दै गयो भने भविष्यमा राम्रै हुन्छ ।’ टीटुके पीएमजीसीमा पहिलोपल्ट सहभागी हुँदै लिग राउन्डको शीर्ष तीनमा रहेर सिधै ग्रान्ड फाइनल्समा पुगेको हो । डीआरएसले तेस्रो सहभागितामा सर्भाइभल राउन्डमार्फत ग्रान्ड फाइनलमा स्थान बनाएको थियो । सन् २०१७ मा सुरु भएको पब्जीको प्रतियोगिता टेनसेन्ट र क्राफ्टनको अनुमतिमा मात्रै गर्न सकिन्छ ।

पीएमजीसी खेल्नुअघि डीआरएसले इस्तानबुल (टर्की) मा भएको ग्लोबल ईस्पोर्ट्स गेम्स २०२२ मा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेको थियो । पदक जित्ने लक्ष्यसहित इस्तानबुल पुगेको डीआरएस पाँचौं भएको थियो । त्यहाँ अभिनव शाक्यको कप्तानीमा रहेको नेपाली डोटा टिम भने पहिलो चरणमै साउदी अरबविरुद्ध हारेको थियो । ‘नेपाली पब्जी टिमलाई खोज्दै कास्टर र फ्यानहरू आइरहेका थिए, त्यसले ईस्पोर्ट्स जगत्मा नेपाल पनि राम्रै स्तरमा छ भन्ने देखाउँछ,’ इस्तानबुलमा नेपाली टिमको व्यवस्थापन सम्हालेकी सिलु श्रेष्ठले भनिन् ।

नेपाल ईस्पोर्ट्स संघ (नेसा) सन् २०१६ मा स्थापना भएको थियो । सन् २०१८ देखि ईस्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्सपो आयोजना गरेको नेसाले आईईएसएफ वर्ल्ड ईस्पोर्ट्स च्याम्पियनसिपमा त्यही वर्षदेखि नेपाली टिम पठाउन थाल्यो । इजरायलमा भएको १३ औं संस्करणमा नेपाली डोटा टिम पाँचौं भएको थियो । ईस्पोर्ट्समा सबभन्दा बढी कमाइ गरेको खेल डोटा नै हो । त्यसपछि सीएसगो पर्दछ । कमाइ र पुरस्कारको हिसाबले पब्जी तेस्रो वरीयतामा आउँछ ।

तर, नेपालमा डोटा ओरालो लाग्दै गएको छ । करिअरको सम्भावना पब्जीमा बढिरहेको छ । स्थानीयस्तरमै १ लाखदेखि ५ लाख रुपैयाँ पुरस्कारका थुप्रै प्रतियोगिता हुन्छन् । स्वदेशमै बसेर वा फिल्ड इभेन्टमा गएर थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न सकिन्छ । त्यसैले हुन सक्छ, बुटक्याम्प पुगेरै गाली गर्नेहरू पनि केही महिनायता पब्जी खेलाडीलाई सम्मान दिन थालेका छन् ।

सहरमा खेल मैदानको अभावमा शारीरिक मिहिनेत पर्ने खेलको क्रेज घट्दै गएको छ । कोभिड–१९ महामारीले केही समय घरमै बस्न बाध्य पारेपछि भर्चुअल गेमको लोकप्रियता ह्वात्तै बढाएको हो । धेरै अभिभावकले पीसी, ल्यापटप, मोबाइल गेममै आफ्ना सन्तान झुम्मिएको देखेर छोरोछोरी बिग्रिए, मानसिक रूपमा नकारात्मक असर गर्‍यो भनेर गुनासो गर्ने गरेका छन् । यसबारे नेसाका अध्यक्ष सुरज डंगोलले भने, ‘जुनै पनि कुरा धेरै गर्‍यो भने नराम्रो भइहाल्यो । चिनी पनि बढी खायो भने तीतो हुन्छ । त्यसैले समय मिलाएर व्यक्तिगत कुरा र स्वास्थ्यमा पनि ध्यान दिन खेलाडीलाई आग्रह गरेका छौं । खेलको उपयोग कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ ।’ ग्लोबल ईस्पोर्ट्स र आईईएसएफ (अन्तर्राष्ट्रिय ईस्पोर्ट्स महासंघ) ले अनलाइन गेम खेल्नेसँगै आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेमा जोड दिइरहेका छन् । गत महिना इस्तानबुलमा भएको ग्लोबल ईस्पोर्ट्स गेम्समा खेलाडीको मानसिक स्वास्थ्य, फिटनेस र खेल्दाखेरिको शारीरिक फिटनेसबारे वर्कसप नै सञ्चालन गरिएको थियो ।

डोटामा कठिन

ब्याचलर इन कम्प्युटर एप्लिकेसनको अन्तिम वर्षमा अध्ययनरत अभिनव शाक्यले नौ वर्षको छँदादेखि नै डोटा खेल्न थालेका थिए । उनी २२ वर्षका भएका छन् । तर, पीसीको सहयोगमा खेलिने डोटा छाडेका छैनन् । तीनपल्ट विश्व च्याम्पियनसिप र एकपल्ट ग्लोबल ईस्पोर्ट्स गेम्समा नेपाली डोटा टिमको कप्तानी गरेका उनले भने, ‘अब १–२ वर्ष मात्रै खेल्छु होला किनकि नेपालमा खासै अवसर छैन । यहाँ बसेर बाहिरको स्तरमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ ।’ उनले थपे, ‘यहाँ प्रतियोगिता कमै हुन्छ, भए पनि उत्साहजनक नहुने खालका सानो गेम मात्रै हुन्छन् । अनि बाहिर खेल्न जाँदा प्लेइङ फिल्ड नै फरक लाग्छ । प्रत्येकपल्ट वर्ल्ड च्याम्पियनसिपमा जाँदा फरक खेलाडीको टिममा खेल्नुपर्दा पनि स्तरोन्नति गर्न नसकिएको हो ।’

उनी डोटा खेलेर मासिक १० हजार रुपैयाँसम्म कमाउन सकिने बताउँछन् । ‘अहिले कमाइ झन् घटेको छ, प्रायोजक पनि छैन । आम्दानी नै छैन भन्नुपर्ला,’ उनले भने, ‘विश्वमा प्राइज पुलअनुसार टपमा भए पनि डोटाको रौनक नेपालमा घट्दै गएको छ । खेल्दै जाँदा पढाइ र घरको दबाब पनि हुन्छ । भविष्य सुरक्षित भएको भए यसमा समय लगानी गर्थे होला । तर, आम्दानी नभएकाले त्यस्तो परिस्थिति छैन । कलेज सकेपछि डोटा खेलिरहने अवस्था छैन । भविष्य चुनौतीपूर्ण र असुरक्षित छ ।’ उनले नेपालमा चुनौती दिने खेलाडी खासै पाएका छैनन् । दक्षिण एसियामा पनि पहिलो वा दोसो भइरहेकै छन् । त्योभन्दा माथिल्लोस्तरको प्रतियोगितामा भने गाह्रो हुने गरेको उनको अनुभव छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर