नेभिगेसन मेनु

गरिबलाई शीतलहरको सकस
सम्पादक:南亚网络电视
समय:2023-01-15 13:02

sitlahar22_20230115091244

भनिन्छ– ‘पुस फासफुस।’ तर, गरिबलाई यो महिना शीतलहरका कारण ज्यादै कष्टकर बन्ने गरेको छ। यस वर्षको पुस पनि कहरमै बितेको छ। मधेसलाई एक सातादेखि बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ। जसकारण शीतलहरको कहर चलिरहेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित मुसहर टोलका १० वर्षीय सकलदेवले पुस २१ गते बुवा ४५ वर्षीय राजु भनिने देवु सदालाई गुमाए। देवुको चिसोले मृत्यु भएको भन्दै गाउँपालिकाले परिवारलाई राहत प्रदान गरेको छ। सकलदेवले चार वर्षअघि पुसमै आमा सौम्यादेवीलाई गुमाएका थिए। शीतलहरकै कारण दुवै जनाले ज्यान गुमाएको स्थानीयवासी बताउँछन्। विष्णुपुर गाउँपालिका–१ मा सुतेको अवस्थामा पुस ८ गते जाडोले कठ्यांग्रिएर ४७ वर्षीय प्रेम यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रमुख एसपी अविनारायण काफ्लेले बताए। 

शीतलहरले अन्य कतिपय विपन्न परिवारका सन्तानलाई अनाथ पारे पनि घटना सार्वजनिक हुन नसकेको सुरुंगा नगरपालिकाका विश्वेन्द्र पासवानको भनाइ छ। दिउँसो पनि तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन चिसो भई सुतेकै बेला कतिपयको ज्यान जाने गरेको चिकित्सक बताउँछन्। चिसोबाट ज्येष्ठ नागरिक, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको डाक्नेश्वरी नगरपालिका–६ का ७० वर्षीय नारायण दासको भनाइ छ। 

निरन्तरको कठ्यांग्रिँदो जाडो, चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर चौपाया पशु, पन्छी तथा बालीनालीसमेत प्रभावित भएका छन्। सहरी तथा ग्रामीण भेगमा चहलपहलमा कमी आएको छ। बाक्लो कुहिरोका कारण यातायातका साधन कम चल्न थालेका छन्। ऊनी कपडाको बिक्री बढेको छ। गरिबहरू भने दिनभर आगो तापेर बस्ने गरेका छन्।  

बिहानदेखि बेलुका अबेरसम्म चिया पसलमा अत्यधिक भीड हुने गरेको राजविराजका व्यवसायी महेन्द्र साहले बताए। अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य चौकीमा विभिन्न किसिमका बिरामीको संख्या बढेको चिकित्सक बताउँछन्। 

आर्थिक रूपले कमजोर व्यक्तिहरू जाडोको मारमा परेको चिकित्सक डा. मनोज यादवले बताए। उनका अनुसार चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ। तापक्रम कम भएपछि श्वासप्रश्वास, रक्तसञ्चारमा समस्या हुने र मुटुले समेत काम गर्न छोड्ने डा. यादवको भनाइ छ।

विपन्न समुदायका बालबालिकाको पठनपाठनमा समस्या हुँदै गएको र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या आधा घटेको बोदे बर्साइन नगरपालिका–८ स्थित राजाजी जनता माविका प्रधानाध्यापक सत्यनारायण यादवले बताए। अधिकांश विपन्न वर्गका विद्यार्थीसँग जाडो छल्ने लुगा नहुँदा हाजिरी अनुपात ह्वात्तै घटेको उनको भनाइ छ।

चिसोले मधेसमा धेरैको ज्यान जानुका पछाडि चेतनाको कमी पनि कारण भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा बताउँछन्। खासगरी तातो खाने, पहिला नै न्यानो लुगाको जोहो गर्ने बानी नरहेको र कतिपय त किन्न नै नसक्ने अवस्थाको पनि रहेको उनको भनाइ छ।

परालको सहारा

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ स्थित मुसहरी टोलकी ६० वर्षीया श्रीवती सदा शीतलहरको कहर भोग्ने विपन्नमध्ये एक हुन्। ‘आगो ताप्न दाउरा छैन। पराल तापेर गुजारा गर्न‘पर्छ। त्यो पनि मालिकसँग मागेर ल्याउँदै काम चलाउँदै छु। आफ्नो खेतबारी छैन। सधैं अरूको भरमा बाँच्नुपर्छ’, उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर छ। ज्याकेट, कम्बल किन्न सक्दैनौं। अब कमजोर भएँ। ममा शक्ति छैन। सरकारले हामीलाई दिँदैन। कसरी खान्छौं, कसरी सुत्छौं, त्यो हामीलाई नै थाहा छैन।’ 

उनका अनुसार चमार, डोम, मुसहर समुदायको बसोबास रहेको बस्तीमा कपडा नभएर थरथर काम्दैै गरेको धेरै परिवार छ। ‘घरको झुप्रोमा पराल नै ओछ्याउने, परालकै सुकुलमा सुत्ने र ओढ्ने गरेको छ’, उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर छ। दाउरा किनेर सधैं खाना पकाउन सकिँदैन। परालकै सहारामा खाना पकाउनुपर्छ।’सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा कपडा अभावमा आगो तापेर शरीर न्यानो पार्दै स्थानीयवासी ।  तस्बिर : मनोहर पोखरेल   

परालको सुकुल ओछ्याएको देखाउँदै मरनीदेवी सदाले भनिन्, ‘घरमा केही छैन, रातमा परालको सुकुल ओडेर सुत्छौं। मानिसहरू भन्छन्– गाउँ–गाउँमा सरकार आयो। तर, हामीलाई कसैले केही दिएन। सहर बजारतिर कम्बल बाँडेको सुनिन्छ। तर, यहाँ कोही आउँदैन। हामीसम्म त्यो आइपुग्दैन, हामीलाई कसले हेर्दिने ?’

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पुलकित सदाले गरिबलाई शीत छल्न मुस्किल रहेको बताए। फुसले छाएको घर देखाउँदै उनले भने, ‘यी हेर्न‘होस् वर्षौंदेखि हाम्रो घर यस्तै छ। यहाँ बसेको धेरै भयो। तर, कसैको आँखा परेको छैन। न गतिलो ओत छ, न आङ ढाक्ने कपडा नै। काम पाएको दिन चुल्हो बल्छ। नत्र भोकै सुत्छौं।’ 

बस्तिकी शिवो सदायले जाडोयाममा पराल सिरक र डस्ना बनाएर सुत्ने गरेको बताइन्। पराल दिनुपर्छ भन्ने सर्तमा मालिकको धान काट्न गएको उनको भनाइ छ। जनकपुर उपमहानगरपालिका १ धर्मवान टोलस्थित मुसहर बस्तीमा त्रिपालमुनि जाग्राम बसेर घुर ताप्दै रात काट्नुपरेको शविशक्ति सदाले बताइन्। उनी मात्रै होइन, ममता मल्लिक, इन्दल, निर्मला, बिनिता, तेततरी, कञ्चल सदालगायत सय घरपरिवारको अवस्था दयनीय छ। स्थानीयवासी लीला मेस्तरले भनिन्, ‘जाडोको समयमा बिहान साँझ जसोतसो रहेका छौं। सरकारले जाडो पीडित परिवारलाई दिने भनेको राहतको नाममा केही पाएका छैनौं। चुनावमा सधैं भोट देउ कि देउ भने। तर, अहिले दुःखपर्दा कोहीले पनि सोधी खोजी गरेनन्। अहिले हामीलाई गतिलो कम्बल दिएहुन्थ्यो, नि ! सरकारले गतिलो कम्बल दिए, कम्तीमा राम्रोसँग सुत्न त पाउँथ्यौं नि !’

घरबाहिर निस्कनै सकस

सर्लाहीमा कठ्यांग्रिँदो चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्कन सकेका छैनन्। आआफ्नो कामधन्दा छोडेर घरभित्र बस्न बाध्य बनेका छन्। बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित छन्। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार झनै समस्यामा परेका छन्। मलंगवा, चक्रघट्टालगायत स्थानीय तहले आआफ्नो पालिकाको सामुदायिक विद्यालयमा बिदासमेत दिएका छन्। किनमेल गर्ने ग्राहक नहुँदा बजार पनि सुनसान देखिएका छन्। व्यापार मन्द रहेको व्यापारी बताउँछन्।

मलंगवा नगरपालिका–४ का ४५ वर्षीय तिलाई पासवानले घरबाहिर गएर काम गर्न नसकेको बताए। उनले भवन निर्माणको काम गर्दै आएका छन्। दिनभरि न्यानो कपडा ओढेर र आगो तापेर घरमै बस्दै आएको उनको भनाइ छ। ‘धेरै दिन यस्तै रह्यो भने हातमुख जोड्न पनि समस्या हुन्छ’, पासवानले भने, ‘स्थानीय तहले विपन्न परिवारलाई राहतको व्यवस्था गर्नुपर्छ।’

चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकुमार माझीले चिसोका कारण मुसहर समुदाय निकै प्रभावित बनेको बताए। उनका अनुसार गाउँमा चार दर्जनभन्दा बढी मुसहर परिवारको बसोबास छ। सबैले दैनिक ज्याला मजदुरी गरेर नै जीवन निर्वाह गर्ने गरेका छन्। तर, चिसोका कारण कोही पनि काममा जान सकेका छैनन्। 

उनीहरू अधिकांश इँटाभटामा काम गर्छन्। यस्तो चिसोमा इँटा बनाउने काम गर्न समस्या छ। तर, घरपरिवार चलाउन केही व्यक्ति ज्यानलाई नै जोखिममा राखेर काम गर्ने गरेको माझीले बताए। कही कतैबाट न्यानो कपडाबाट र आगो ताप्नका लागि काठका व्यवस्था गरिएको छैन। घरमा भएको पराल जलाएर आगो ताप्ने गरेको उनको भनाइ छ। 

जिल्ला बिपद व्यवस्थापन समितिले केही स्थानमा राहतस्वरूप न्यानो कपडा बितरण गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। संघ र प्रदेश सरकारबाट प्राप्त रकमबाट राहतका सामान किनेर बाँड्ने तयारीमा रहेको गौतमको भनाइ छ। 

‘सप्लार्यस खोजेर समान खरिद गर्ने तयार गर्दै छौं’, उनले भने, ‘केही सप्लार्यस आएको थियो। तर, उनीहरूको सामान चित्त बुझ्दो नभएपछि खरिद गर्न सकेनौं।’ स्थानीय तहलाई पनि राहत सामग्री बितरण तथा ठाउँ–ठाउँमा आगो ताप्नका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरिएको गौतमले बताए।  केही समाजसेवीले आफ्नै पहलमा न्यानो कपडा तथा दाउरा बितरण गरेका छन्। केही स्थानीय तहले आफ्नो पालिकामा काठको मुढा बितरण गरे पनि त्यो अपुग भएको स्थानीयवासीको भनाइ छ। जिल्लामा चिसोका कारण ६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रदेशबाट ८/८ लाख राहत रकम

मधेस प्रदेश सरकारले शीतलहरबाट हुन सक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई ८ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश विपद् पीडित उद्यार तथा राहत कोषबाट प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापन समितिलाई सो रकम उपलब्ध गराइने निर्णय गरिएको हो। उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ। 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम १६ को उपनियम (२) मा भएको व्यवस्था बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिबाट गत आर्थिक वर्ष २०७८÷७९ मा भएको कामको एकमुस्ट वार्षिक प्रतिवेदन हालसम्म प्राप्त नभएकाले सोही नियमावलीको नियम १६ को उपनियम (३) मा भएको व्यवस्थाबमोजिम प्रदेशको एकमुष्ट वार्षिक प्रतिवेदन तयार गर्न कठिनाइ भएकाले प्रदेशका सबै जिल्ला विपद् व्यवस्थापन समितिलाई सो अनुसारको विवरण पठाउन अनुरोधसमेत गरिएको गृहमन्त्री भरतप्रसाद साहले बताएका छन्। 

यसका साथै मधेस प्रदेश सरकारले विपद्बाट प्रभावितहरूको तथ्यांक अधावधिक गर्न मधेस प्रदेशका सुरक्षा निकायहरूको प्रतिनिधि र मन्त्रालयको प्रतिनिधि रहेको कार्यदल गठन गरी जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापनसँग समेत समन्वय गरी जोखिम भएका व्यक्ति÷परिवार तथा उद्यार एवं राहत वितरणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ। 

न्यानो पाउन घुरको भर 

केही दिनदेखि निरन्तर हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित बनेको छ। जसबाट विपन्न परिवार सबैभन्दा बढी समस्यामा परेका छन्। मोरङको बूढीगंगा गाउँपालिका–३ की ५५ वर्षीया फेकनी रिसिदेव शीतलहरको असरबाट जोगिन दिनभर घुर ताप्छिन्। नहरको डिलमा बिहान ४ बजेदेखि बेलुकासम्म परिवारका सात सदस्यसहित आगो तापेर बिताउने गरेका छन्। 

घुर बाल्न साहूबाट पराल र भुस मागेर ल्याउनुपरेको उनले बताइन्। ‘साना–साना नातिनीहरू छन्। घुर नबाले चिसोले कठ्यांग्रेर मृत्यु हुन्छ’, उनले भनिन्, ‘कोही हाम्रो अवस्था बुझन आउँदैन।’ मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित नहर डिलमा बस्दै आएका सुकुम्बासी परिवार घुर ताप्दै।  

५० वर्षीय हरिनारायण रिसिदेवले दुई–तीन परिवार मिलेर घुर ताप्ने गरेको सुनाए। ‘काम छैन। खान त ऋण नै लिनुपर्ने अवस्थामा कहाँ जाने र के गर्ने अन्योलमा हामी छौं’, उनले भने। नहरको डिलमा ऐलानीमा बसेका करिब १ सय ५० घर सुकुम्बासी परिवारको दिनचर्या नै यस्तै छ। वडा नम्बर ४ का ६८ वर्षीया शान्ति चौधरीले भनिन्, ‘हाम्रो पीडा बुझन कोही आउँदैन्। न्यानो लुगा मात्र दिए पनि हुन्थ्यो।’ काम गरेर पेट फाल्न नै धोधो रहेकाले लुगा किन्न समस्या भएको उनले सुनाइन् । 

अर्की स्थानीयवासी लखन्तरी चौधरीले पराल जोगाएर राखेकाले चिसोबाट जोगिएको बताइन्। मालिक र साहूसँग जति गुहार गरे पनि लुगा किन्न पैसा नदिने गरेको उनको दुखेसो छ। भनिन्, ‘हामीलाई आगो बाल्न पराल दिनसमेत आलटाल गर्ने गरेको छ। कम्तीमा दाउराको व्यवस्था मिलाइदिए चिसोबाट जोगिन सहयोग पुग्थ्यो।’ 

बालबच्चा र ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी समस्या भएको स्थानीयवासी रमेश थारुले बताए। छिमेकीसँगै पराल बालेर आगो तापिरहेका उनले भने, ‘जाडोका कारण धेरै समस्या भएको छ। न्यानो कपडाको अभावमा कसरी जाडो कटाउने भन्ने पिरलो भएको छ।’  उनका अनुसार मुसहर बालबालिका सबैभन्दा बढी प्रभावित छन्। भने, ‘राज्यले केही राहतको व्यवस्था गर्न‘पर्ने हो। तर, अहिलेसम्म तीनै तहको सरकारको ध्यान विपन्न नागरिकप्रति गएको छैन।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर