काठमाडौं । काठमाडौं देशको राजधानी हो। देशको राजधानी मात्र होइन देशकै सबैभन्दा बढी साक्षरता दर भएको जिल्ला पनि हो। यहाँका मतदाता देशका अन्य क्षेत्रका भन्दा बढी शिक्षित र जानकार छन, भन्ने आम बुझाइ हुन्छ। त्यसैले भोट दिँदा पनि विवेकसम्मत ढंगबाट दिन्छन् भन्ने धारणा बन्ने गरेको पाइन्छ।
तर, २०७४ सालको स्थानीय तह निर्वाचनको नतिजा केलाएर हेर्दा आमबुझाइ नै चकित पार्ने तथ्यांक भेटिन्छ। नतिजाको तथ्यांकले काठमाडौं महानगरपालिकाका १५ प्रतिशतभन्दा बढी मत बदर भएको देखिन्छ। महानगरपालिकामा तत्काल कायम रहेका कुल २ लाख ७९ हजार ३ सय ९ मतदातामध्ये १ लाख ९७ हजार २ सय २७ जनाले मतदान गरेका थिए। तीमध्ये एकलाख ६७ हजार २ सय ८६ मत मात्रै सदर भएको देखिन्छ।
२९ हजार ९ सय ४१ मत बदर भएको थियो। जुन संख्या अहिलेको निर्वाचनका लागि तय भएको मनाङ र मुस्ताङको कुल मतदाता संख्याको जोडभन्दा झण्डै दोब्बर बढी हो। मनाङमा यसपटक ६ हजार ४ सय ९६ कुल मतदाता निर्वाचनमा भाग लिँदैछन् भने मुस्ताङको कुल मतदाता संख्या १० हजार ४ सय ८५ रहेको छ।
काठमाडौं महानगर मात्रै होइन, नजिकैको उपत्यकाभित्रकै अर्को नगरपालिका ललितपुरको अवस्था झन् विकराल देखिन्छ। जहाँ खसेको कुल मत ८७ हजार ४८ मतमध्ये ७० हजार २ सय ४८ मतमात्रै सदर भएको थियो। १६ हजार ८ सय मत बदर भयो। जुन १९ दशमलव २९ प्रतिशत हुन आउँछ। मत सदर÷बदरको प्रसंग सिधै ‘निर्वाचन शिक्षा’सँग जोडिन्छ। देशको केन्द्र रहेको उपत्यकाका दुई स्थानीय तहको यत्रो ठूलो मत बदर हुँदा निर्वाचन आयोगले सञ्चालन गर्ने ‘मतदाता शिक्षा कार्यक्रमको यस्तो हविगत रहँदा देशका अन्य क्षेत्रको अवस्था कस्तो होला?
यो प्रश्नको उत्तर सहजै अनुमान लगाउन सकिन्छ। पछिल्ला निर्वाचनको बदर मतको यस्तो अवस्था हेर्दा निर्वाचन शिक्षाको अवस्था कहालीलाग्दो देखाउँछ। तथ्यांकहरू केलाएर हेर्दा स्थानीय निर्वाचनमा देशभरमा औसतमा लगभग १५ प्रतिशत मत बदर भएको थियो। आयोगले जिल्लाको अलग–अलग तथ्यांक राखेकाले एकीकृत तथ्यांक भने छैन्। जिल्लाहरूको तथ्यांक केलाएर हेर्दा धेरैजसो जिल्लाको अवस्था दयनीय देखिएको आजको नागरिक दैनिकमा खवर छ ।