
काठमाडौँ, वैशाख १५ गते । पर्वतको सबैभन्दा उच्च भागमा अवस्थित हम्पाल लेक अचेल लालीगुराँसले ढाकिएको छ । लालीगुराँसको जङ्गलका रूपमा परिचित हम्पालमा फूल हेर्न, तस्बिर तथा भिडियो खिच्न र सामाजिक सञ्जालका लागि सामग्री बनाउन पुग्ने पर्यटकको सङ्ख्या एकाएक बढेको छ ।
जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सिमानामा समुद्री सतहदेखि करिब तीन हजार तीन सय मिटर उचाइमा रहेको हम्पालमा धेरै प्रजातिका लालीगुराँस पाइने गरेको छ । फागुनदेखि जेठसम्म लालीगुराँस फुल्ने भएकाले यो क्षेत्र अहिले पर्यटकको रोजाइमा परेको हो । यहाँ रातो, सेतो, पहेँलो, गुलाबी, बैजनी, हरियो, निलो र खैरोलगायतका लालीगुराँस फुल्ने गर्छन् । जता हेरे पनि गुराँसैगुराँस देखिने दृश्यले जो कोहीलाई मोहित बनाउने गरेको स्थानीय पर्यटन व्यवसायी नरसिंह पुन बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो समय सडक सञ्जाल र पदमार्गको पहुँच विस्तार भएपछि हम्पाल पुग्न सहज बनेको छ । यसै कारण विद्यार्थी, अनुसन्धानकर्ता तथा विदेशी पर्यटकसमेत यहाँ पुग्न थालेका छन् । विभिन्न पुराणमा वर्णित कालञ्जर भूमिसँग जोडिएको यो क्षेत्र हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रूपमा चिनिन्छ ।
यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका छन् । यहाँ आश्रयस्थल, खानेपानी, शौचालय तथा सडक स्तरोन्नति जस्ता संरचना निर्माण भइसकेका छन् । हम्पाल–जलजला क्षेत्रको समग्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन पनि निर्माण भइसकेको छ ।





