
घोराही, वैशाख ६ गते । निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयसम्म अलपत्र परेको दाङको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणको आधा काम सकिएको छ । गढवा–कालाकाँटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक निर्माणको आधा काम सकिएको हो ।
सडक निर्माणको कामले गति लिएसँगै लामो समयसम्म अलपत्र परेको हुलाकी सडक निर्माण हुने स्थानीयमा आशा पलाएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्ज बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयसम्म अलपत्र परेको गढवा–कालाकाँटे हुलाकी सडकको आधाभन्दा बढी काम भइसकेको जानकारी दिनुभएको छ ।
भण्डारीका अनुसार गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडकखण्डमध्ये १६ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा कालोपत्रेका लागि पहिलो चरणको काम भइरहेकाले अब कालोपत्रेको अन्तिम चरणमा रहेको बताउनुभयो । जसमध्ये गढवाको बजार क्षेत्रमा भने कालोपत्रे गर्ने काम भइसकेको छ ।
हुलाकी सडक निर्माणको जिम्मा वज्रगुरु कान्छाराम जेभीले पाए पनि निर्माणको काम वज्रगुरु निर्माण कम्पनीले गर्दा लामो समयसम्म सडक निर्माणको काम अलपत्र परेको थियो । वज्रगुरुबाट सडक निर्माणको काम हुन नसक्ने निष्कर्षसहित ठेक्का तोड्ने प्रक्रिया हुलाकी सडक आयोजनाले अघि बढाउन खोज्दा सडक निर्माणको जिम्मा चालु आर्थिक वर्षमा कान्छाराम निर्माण सेवाले समालेसँगै कामले गति लिएको दाबी प्रमुख भण्डारीले गर्नुभएको छ ।
सडक निर्माणका लागि २०७६ कात्तिक २९ गते ६५ करोड रुपियाँमा वज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ कात्तिक मसान्तभित्र सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीको लापर्बाहीका कारण पटक पटक म्याद थप गर्दा पनि निर्धारित समयमै काम हुन सकेको थिएन ।
तर पछिल्लो समय सडक निर्माणको काम कान्छाराम निर्माण कम्पनीले समालेसँगै सडक निर्माणको आधाभन्दा बढी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि पेम्बा लामाले बताउनुभयो । उहाँका अनुसार चालु आवभित्रै सडक निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको छ । सडक क्षेत्रमा पर्ने करिब १५० वटा हरिया रुख र ३८ भन्दा बढी विद्युत् पोल हटाउनुपर्ने भए पनि समयमा नहटाउँदा अहिले सडक निर्माणमा समस्या देखिएको दाबी गरिएको छ ।
हाल गढवा बजारदेखि पुतलीबजारसम्मको सडक निर्माण काम लगभग सम्पन्न भइसकेको छ भने पूर्वी खण्ड अन्तर्गत वडा नं. १ को बडहरा क्षेत्रमा निर्माणको काम जारी रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने आयोजना पाँच वर्षसम्म पनि सम्पन्न हुन नसक्दा स्थानीयवासीले समस्या भोग्दै आएका थिए ।





