नेभिगेसन मेनु

पर्यटकीय गन्तव्य बन्दै डमरु दह
सम्पादक:南亚网络电视
समय:2026-05-13 13:05

 

 212

काठमाडौँ, वैशाख ३० गते । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा अवस्थित डमरु दह अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । अग्लो तथा समथर भूभागका बिचमा चारैतिर बस्तीले घेरिएको यस दहलाई पछिल्लो समय व्यवस्थित र आकर्षक बनाउने काम पनि भइरहेको छ । दहवरिपरि पैदलमार्ग तथा पार्क निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

दहको सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई विशेष आकर्षित गरिरहेको छ । यहाँ आउने पर्यटकले तस्बिर तथा भिडियो खिचेर टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन् । सामाजिक सञ्जालमार्फत डमरु दह भाइरल बन्दै जाँदा यसको चर्चा देशभर फैलिएको छ ।

सन्धीखर्क–गोरुसिङ्गे सडकखण्ड अन्तर्गत पर्ने डमरु दह दैनिक यात्रुको नजरमा पर्ने भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको छ । शीतगङ्गा नगरपालिकाले सङ्घ र प्रदेश सरकारको सहयोगमा दहलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।

बहुवर्षीय योजना अन्तर्गत करिब चार करोड रुपियाँको लागतमा सुपाखोलाबाट दहमा पानी ल्याउने काम भइरहेको छ । नगरपालिकाका उपप्रमुख गीता भाटले वर्षायाममा दह भरिभराउ हुने र हिउँदमा सुक्ने समस्यालाई समाधान गर्दै बाह्रै महिना पानी रहने दह बनाउने लक्ष्य रहेको बताउनुभयो ।

उहाँका अनुसार दहलाई स्थायी रूपमा पानीयुक्त बनाएर प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गरिने छ । यही पानी सङ्कलन गरेर शीतगङ्गा नगरपालिका–४ र १२ का गाउँमा सिँचाइ सुविधा विस्तार गरिने योजना छ ।

सुपादेउराली दर्शनका लागि आउने धार्मिक पर्यटकलाई ठाडामा बसोबास गराउने तथा गर्मी छल्न पहाड उक्लिने पर्यटकलाई शीतगङ्गामै बस्ने, खाने र घुम्ने वातावरण तयार गर्ने योजना पनि अघि सारिएको छ ।

दहपरिसरमा घुमफिर, विश्राम, तस्बिर तथा भिडियो खिच्न मिल्ने संरचना निर्माण गरिएको छ । अग्लो स्थानबाट यस क्षेत्रको मनोरम भूदृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटक यहाँ रमाउने गरेका छन् ।

२०८३ मङ्सिरसम्म सुपाखोलाको पानी दहसम्म ल्याइसक्ने लक्ष्यसहित काम भइरहेको छ । यस आवमा सङ्घ सरकारले ९० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने आगामी वर्ष सङ्घबाट एक करोड १० लाख र नगरपालिकाबाट दुई करोड रुपियाँ बजेटको काम भइरहेको जनाइएको छ ।

पर्याप्त पानी उपलब्ध भएपछि यस क्षेत्रको कृषि तथा पशुपालनमा थप सम्भावना बढ्ने अपेक्षा गरिएको छ । तरकारी, खाद्यान्न तथा पशुपालन व्यवसाय विस्तारका लागि पनि यो योजना महìवपूर्ण मानिएको छ । कपिलवस्तु, रुपन्देही तथा भारतबाट गर्मी छल्न आउने पर्यटकलाई शीतगङ्गाका गाउँमा एक रात बसालेर स्थानीय परिकारको स्वाद चखाउने योजनासमेत नगरपालिकाले बनाएको छ । सुपाखोलाको पानी दहमा पुगेपछि डमरु दह अझ आकर्षक बन्ने, सिँचाइ विस्तारसँगै कृषि उत्पादन बढ्ने तथा स्थानीय घरहरू होमस्टेका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

डमरु आकारको यस दहको उत्तरतर्फ रहेको वराह मन्दिरमा भगवान् विष्णुको वराह अवतार प्रकट भएको धार्मिक विश्वाससमेत रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहमा पानीको सतहमा आफ्नै प्रतिविम्ब देख्न सकिने भएकाले पर्यटक लोभिने गरेका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर