नेभिगेसन मेनु

समर गुफा बन्दै पर्यटकीय नयाँ गन्तव्य
सम्पादक:南亚网络电视
समय:2026-05-31 16:03

 

 gufa

काठमाडौँ, जेठ १७ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा रहेको पुरानो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पुरातात्त्विक महत्वको तीनतले समर गुफा नयाँ पर्यटकीय गन्तव्य बनेको छ।

१६औँ शताब्दीदेखि मानव बस्ती रहेको मानिने यो गुफा मर्मतसम्भारको अभावमा जीर्ण बनेपछि स्थानीय समुदायको सक्रियतामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङले पदमार्ग मर्मतसहित पूर्वाधार विस्तार गरेपछि उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो।

समर गाउँबाट नजिकै रहेको गुफासम्म पुग्ने सिँढीसहितको पदमार्ग तथा गुफाभित्र झ्याल–ढोका निर्माण गरिएपछि तीन वटै तल्लासम्म सहजै पुग्न सकिने पूर्व वडा अध्यक्ष नवीन गुरुङले बताउनुभयो।

स्थानीय युवा गुरुङले भन्नुभयो, “पुर्खाहरू गाउँमा बसोबास गर्नुभन्दा पहिले गुफामा बस्ने इतिहास जीवितै छ। जीर्ण गुफाको मर्मतपछि अहिले आकर्षक रूपमा देखिएको छ।”

समर गुफामा साना–ठुला गरी १५ वटा कोठा रहेका छन्, जसको अवलोकन गर्न सकिने व्यवस्था छ। सदरमुकाम जोमसोम–लोमान्थाङ हुँदै कोरला जाने सडकमार्गबाट करिब आधा घण्टाको दूरीमा रहेको यो गुफा सजिलै पुग्न सकिने स्थानमा पर्छ।

गुफाभित्र भाँडाकुँडा लगायत पुराना सामग्रीहरू पनि भेटिने गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “यो गुफा पर्यटकका लागि नयाँ गन्तव्य हो। यहाँ आउने पर्यटक गिद्ध अवलोकन केन्द्रसम्म पनि पुग्न सक्छन्।”

गुफाबाट करिब एक किलोमिटर नजिकै गिद्ध अवलोकन केन्द्र स्थापना गरिएकाले पर्यटकको बसाइ लम्ब्याउन सहज भएको प्रमुख पौडेलको भनाइ छ। एक्यापले उपल्लो मुस्ताङमा रहेका प्राचीन सभ्यता झल्किने क्षेत्रहरूको संरक्षणमा विशेष ध्यान दिँदै आएको छ।

गुफा मर्मत तथा पूर्वाधार विस्तारमा एक्यापमार्फत ११ लाख रुपियाँभन्दा बढी खर्च भएको छ। गुफा प्रवेश गर्ने पर्यटकलाई समर गाउँ, गुफा र गिद्ध अवलोकन केन्द्रसहित समर खोला आसपासका क्षेत्रमा पनि भ्रमण गराउने वातावरण बनाइएको स्थानीय गोपाल गुरुङले बताउनुभयो।

गुफाको प्रचार–प्रसारका लागि विभिन्न निकायसँग सहकार्यको पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङस्थित छोसेर क्षेत्रमा रहेको लो गुफु गुफा, लो निफु गुफा र सिजा झोङ गुफा प्रमुख आकर्षणका रूपमा रहे पनि यस क्षेत्रमा पहाडमा खोपिएका एक हजारभन्दा बढी साना–ठुला गुफा रहेको अनुमान गरिन्छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर