नेभिगेसन मेनु

प्रदेश गौरवका योजना प्राथमिकतामा
सम्पादक:南亚网络电视
समय:2026-05-31 15:55

 

 3455

काठमाडौँ, जेठ १७ गते । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सडक, सिँचाइ, पर्यटन, उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ । विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग चालु आवभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन् ।

पहिरोको उच्च जोखिमका कारण बर्सौंदेखि यात्रुले सास्ती खेप्दै आएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग सञ्चालनमा आएपछि बुटवल–पाल्पा–पोखरा सडक यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ । बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 

त्यसै गरी बुटवल–नारायणगढ सडक निर्माण चालु आवभित्र सम्पन्न गर्ने, बुटवल–गोरुसिङ्गे सडक निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला–लमही सडक स्तरोन्नति गर्ने घोषणा गरिएको छ । चन्द्रौटा–धानखोला सडक स्तरोन्नतिको अध्ययनसमेत गरिने भएको छ ।

पर्यटन क्षेत्रतर्फ सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि ८३ करोड रुपियाँ विनियोजन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिने छ । साथै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गरिने बजेटमा उल्लेख छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरिने सरकारको घोषणा पनि लुम्बिनी प्रदेशका सरोकारवालाले महत्वपूर्ण रूपमा लिएका छन् । सङ्घीय बजेटप्रति प्रतिक्रिया दिँदै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सङ्घीय बजेट समग्रमा सकारात्मक रहेको बताउनुभयो । केही क्षेत्रमा कर छुट तथा आयस्रोत विस्तारका प्रयास गरिएको उल्लेख गर्दै उहाँले बजेटको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने धारणा व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशका केही महत्वपूर्ण आयोजनाले सङ्घीय बजेटमा स्थान पाएको उल्लेख गर्दै छुटेका अन्य योजनालाई आगामी प्रदेश बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो ।

ऊर्जा क्षेत्रतर्फ न्यु बुटवल प्रसारण लाइन निर्माणलाई तीव्रता दिइने तथा अन्तरदेशीय बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण कार्यलाई समेत गति दिइने भएको छ । लामो समयदेखि अपेक्षित यात्रु र उडान वृद्धि हुन नसकेको अवस्थामा विमानस्थल सञ्चालनलाई व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको छ ।औद्योगिक क्षेत्रको विकासका लागि रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिएको छ । 

कृषि उत्पादन वृद्धिका लागि सिँचाइ क्षेत्रलाई समेत बजेटले उच्च प्राथमिकता दिएको छ । बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत थप पाँच हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्न दुई अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएको छ । दाङको बृहत् दाङ उपत्यका सिँचाइ आयोजना तथा प्रगन्ना–बढ्कापथ सिँचाइ आयोजनामार्फत थप दुई हजार ३८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब २१ करोड रुपियाँ छुट्याइएको छ ।

त्यसै गरी बर्दियाको राजापुर सिँचाइ आयोजना पुनस्र्थापना गरिने भएको छ भने नौमुरे जलविद्युत् आयोजनाबाट कपिलवस्तु क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने सम्भावनाबारे थप अध्ययन गरिने कुरा बजेटमा उल्लेख गरिएको छ । कपिलवस्तुको वाणगङ्गा सिँचाइ आयोजनाको पुनस्र्थापना तथा मर्मत कार्यसमेत अघि बढाइने भएको छ ।

पर्यटन प्रवर्धनका लागि स्वर्गद्वारी र रुरु क्षेत्रलाई थप आकर्षक गन्तव्यका रूपमा विकास गरिने तथा स्वर्गद्वारी–मुक्तिनाथ उच्च पर्यटकीय मार्ग निर्माणको अवधारणा अघि सारिएको छ । भैरहवामा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) लाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य पनि सरकारले राखेको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर