
काठमाडौँ, जेठ १२ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) को सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ । पछिल्लो चार महिनाको ५८ करोड रुपियाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
हाल दैनिक रूपमा ८० लाखदेखि एक करोड रुपियाँको कारोबार भइरहेकाले बाँकी रहेको ४६ करोड रुपियाँ दुई महिनामा भुक्तानी गरिने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।
दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकमसमेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।
दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
डिडिसीले दैनिक ६५ हजार लिटर दुध सङ्कलन गरिरहेकोमा ७५ हजार लिटर दुध बिक्री गरिरहेको जनाएको छ । अपुग १० हजार लिटर पाउडर र धुलो दुध प्रयोग गरी बजारमा पठाउने गरेको डिडिसीले जनाएको छ ।
दैनिक दुई हजार केजी पाउडर र एक हजार केजी बटर घोलेर अपुग दुध बजारमा पठाउने गरिएको संस्थानले जनाएको छ । दुध उत्पादनको सिजन अफ भएकाले कम परिमाणमा दुध सङ्कलन भएको संस्थानले जनाएको छ । पर्याप्त मात्रामा पाउडर र धुलो दुध मौज्दात रहेकाले किसानको रकम समयमा भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ । ७० करोड रुपियाँ बराबरको साढे चार सय मेट्रिक टन पाउडर र तीन सय मेट्रिक टन बटर मौज्दात रहेको डिडिसीले जनाएको छ ।
मन्त्री चौधरीको निर्देशनमा डिडिसी घाटामा गएको र समयमा किसानको भुक्तानी गर्न नसकेको भन्दै कर्मचारीले पाउँदै आएको घिउ र दुधको सुविधासमेत कटौती भइसकेको छ । कर्मचारीले दैनिक एक लिटर दुध र मासिक एक केजी घिउ पाउँदै आएका थिए ।


















