नेभिगेसन मेनु

रायरायँकोटमा पर्यटकीय संरचना बनेपछि चहलपहल बढ्यो
सम्पादक:南亚网络电视
समय:2026-04-29 12:53

 

 photo

बागलुङ, वैशाख १६ गते । बागलुङ नगरपालिका–७ स्थित रायरायँकोटमा पर्यटकीय संरचना निर्माण भएपछि चहलपहल बढ्न थालेको छ । कुनै समय गैरागाउँ, तितौरे, बाटुले, तंग्राम, मुल्पानी, तित्याङ र मालिकाबासीले पूज्ने रायरायँकोट अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको रायरायँकोट हाइकिङ गर्न रुचाउने युवापुस्ताको रोजाइमा पर्न थालेको छ । पर्यटकीय चहलपहल बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनमा चासो देखाउन थालेका छन् ।

रायरायँकोटमा विश्रामस्थल, सत्तल, मैदान र पर्खाल निर्माण गरिएको छ । कोट मन्दिरलाई व्यवस्थित गर्ने, पर्याप्त खानेपानी व्यवस्था गर्ने तथा थप पर्यटकीय संरचना निर्माण गर्ने योजना रहेको रायरायँकोट विकास समितिका अध्यक्ष नन्दलाल गौतमले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट रायरायँकोटमा करिब २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान सम्याउने काम सम्पन्न गरिएको छ । साथै, पञ्चकोटदेखि संसारकोटसम्म पुग्ने पदमार्ग निर्माणका लागि संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको छ ।

शान्त र मनोरम वातावरणमा आँखै अगाडि धौलागिरि हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने भएकाले पूर्वाधार विकास र प्रचार–प्रसारपछि रायरायँकोट चर्चामा आएको अध्यक्ष गौतमको भनाइ छ । खानेपानी र मोटरबाटोको सहज पहुँच विस्तारसँगै थप संरचना निर्माण गर्न सके रायरायँकोट पर्यटकीय हब बन्न सक्ने उहाँले बताउनुभयो ।

“पञ्चकोटमा आउने पर्यटकलाई रायरायँकोटसम्म ल्याउन सकिन्छ, त्यसका लागि पर्यटक आकर्षित गर्ने संरचना आवश्यक छ,” गौतमले भन्नुभयो । पञ्चकोटमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तर, खानेपानीको अभावका कारण ड्रममा संकलन गरिएको पानी खुवाउनुपर्ने बाध्यता रहेको छ ।

बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण गरिएको हो । मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । त्यसपछि कारीकोट, माझकोट र रायरायँकोट पर्दछन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट रहेको छ । यी पाँच कोटलाई जोडेर पर्यटकीय सर्किटका रूपमा विकास गर्न स्थानीय तह र विभिन्न संघसंस्थाले पहल थालेका छन् ।

जेसीज म्याग्दी, बागलुङ र पर्वतको पहलमा रायरायँकोटमा पर्यटकका लागि जानकारीमूलक बोर्ड पनि व्यवस्थापन गरिएको छ । बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मेघराज शर्मा गैरेले विभिन्न संघसंस्थाको सहयोगले रायरायँकोटको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको बताउनुभयो ।

जेसीजको ‘अध्यक्ष गाउँ प्रवर्द्धन कार्यक्रम’अन्तर्गत रायरायँकोटमा बोर्ड व्यवस्थापन गरिएको म्याग्दी जेसीजका महासचिव गोकुल विश्वकर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्द्धनमा यो बोर्ड व्यवस्थापनले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास छ ।”

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर