
कालीकोट जिल्लाको महावै गाउँपालिका अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । पालिकालाई सडक सञ्जालमा जोड्नका लागि तिला नदीमा बेलिब्रिज पुल राख्नेदेखि बहुवर्षीय सडक निमार्णमा जोड दिइएको छ । अहिले पालिका जोड्ने सडक निर्माणले गति लिएको छ ।
कर्णाली प्रदेश सरकारको साझेदारीबाट एक करोड १० लाख रुपियाँ बजेटमा अहिले पालिका जोड्न चट्टान फोडेर सडक निर्माण गरिँदै छ । सेराबाडादेखि पालिका केन्द्र गैराखाडासम्मको सडक निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले सडकको काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै अब पालिका पनि सडक सञ्जालमा जोडिने बताउनुभयो । जिल्लाका सबै पालिकामा सडक विस्तार भए पनि आफ्नो पालिका अझै पनि सडक सञ्जालमा जोडिन नसकेकाले आफ्नो कार्यकालमै यसलाई प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो । कालीकोटका नौ पालिकामध्ये छ वटा स्थानीय तह राजमार्गसँग जोडिएका छन् भने दुई वटा पालिकामा झोलुङ्गे पुलमार्फत मोटरसाइकलसम्म पुग्ने गरेका छन् तर महावै गाउँपालिकामा पुग्न अहिलेसम्म सिधा सडक छैन ।
छिमेकी जिल्ला दैलेख हुँदै महाबु लेकसम्म सडक आएको छ । चालु आर्थिक वर्षभित्र निर्माणको काम सकेर पालिकालाई सडक सञ्जालमा जोड्ने गरी काम सन्तोषजनक रूपमा भइरहेको अध्यक्ष सिंहले बताउनुभयो ।


















