
मन्दिरमा पुगेर भगवानसँग ‘वर’ माग्दा अधिकांश स्थानमा मनमनै प्रार्थना गरिन्छ । कतिपयले हात जोडेर आफ्ना इच्छा सुनाउँछन् त कतिपय मौन बसेर भाकल गर्छन् । तर पाल्पाको तिनाउ गाउँपालिका–४ को सत्यवती मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने प्रचलन रहेको छ ।
सत्यवतीमा भएको चिच्याएर वर माग्ने मेलामा भक्तजनको घुइँचो लागेको छ । गत मङ्सिर ४ देखि सुरु भएको वर माग्ने मेलामा सोमबार साँझदेखि भक्तजनको भिड लागेको हो । सत्यवती मन्दिरमा कात्तिके एकादशी देखि पूर्णिमाको अवसर पारेर हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ ।
सत्यवती बजैले कानले नसुन्ने भएकाले मनको कुरा सुनाउन भक्तजनले तालको किनारमा पुगेर चिच्याउनुपर्ने धार्मिक विश्वास छ । वर्षौंदेखि चल्दै आएको यही परम्परा पछ्याउँदै यस वर्ष पनि सत्यवती मेलामा हजारौँ भक्तजनको घुइँचो लागेको हो । कात्तिक पूर्णिमाको अवसर पारेर लाग्ने सत्यवती मेलामा पाल्पासहित रुपन्देही, अर्घखाँची, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, कास्की लगाएत विभिन्न जिल्ला संगै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने क्रम जारी रहेको छ ।

पछिल्लो समय सत्यवती प्रतिको आस्था र विश्वास बढ्दै गएको छ । भैरहवाकी ६० वर्षीया निर्मलाले श्रेष्ठ पाँच वर्षदेखि निरन्तर सत्यवती मेला भर्न आउनुहुन्छ । सत्यवतीको दर्शन र पूजाआजा धार्मिक आस्थासँगै वर्षौंदेखि जोडिएको विश्वास रहेको उहाँले बताउनुभयो । सडकको अवस्था सुधार हुँदै जाँदा टाढाटाढाबाट आउने भक्तजनलाई पनि मेला भर्न सहज भएको उहाँको भनाइ छ ।
परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्ती छ । पवित्र र सुन्दर स्थानको खोजी गर्दै हिँड्ने क्रममा उहाँ यस क्षेत्रमा आइपुग्नुभएको जनविश्वाससमेत रहेको छ । सत्यवती बज्यैले यस क्षेत्रमा बसोबास गर्ने निधो गरेपछि वरिपरिको झाडी सफा गर्नुभयो । लिपपोतका लागि कुभिन्डोको भाँडोमा पानी बोकेर ल्याउने क्रममा पानी पोखिएपछि तालको उत्पत्ति भएको किंवदन्ती छ ।

कानले नसुन्ने बजैलाई भक्तजनले चिच्याएर आफ्ना मनोकामना सुनाउने र मागेको वर पूरा हुने विश्वासले नै यहाँको परम्पराले निरन्तरता पाएको छ । पूजाको क्रममा भक्तजनले सबैभन्दा पहिले सत्यवती तालको तीन पटक परिक्रमा गर्छन् । रातको समयमा ताल बाँस, निगालो वा सालको लिगा गाड्छन् । गाडेको लिगा पहिचान गरी पुनः पूजा गरी तालको किनारमा पुगेर आफूले चाहेको मनोकामना चर्को स्वरमा व्यक्त गर्ने प्रचलन रहेको छ ।
यसपटक सत्यवती मेलामा पुग्ने दर्शनार्थी मध्ये कतिपयले पारिवारिक सुख र समृद्धि, सन्तानको उच्च शिक्षाको कामना संगै विदेश जाने भिसा छिट्टै लागोस्, कोरिया जान पाउँ भन्दै सत्यवती बजै संग भाकल गरेका थिए । कतिपय युवाहरूले स्वदेश मै काम गर्ने वातावरण सृजना होस भन्दै कामना गरेका थिए । भक्तजनले आफ्नो मनोकामना पूरा भएपछि पुनः मन्दिरमा आएर भाकलअनुसार पूजा गर्ने गर्ने गर्दछन् । भाकलअनुसार बोकाको बलि चढाउने तथा परेवा उडाउने परम्परा रहेको छ ।

सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले सत्यवती बजै प्रतिको आस्था र विश्वास बढ्दै गएकाले हरेक वर्ष दर्शनार्थीको उपस्थति बढ्दै गएको बताउनुभयो ।
विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलन थियो । पछिल्लो समय भने वैदेशिक रोजगारीमा रहनुभएका नेपालीहरूलाई मध्यनजर गर्दै तिथी जुरेको दिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।
सत्यवतीमा कात्तिक पूर्णिमा संगै फागुन र वैशाख पूर्णिमामा विशेष पूजा हुने गर्दछ । कात्तिक महिना मै पूर्णिमा परेमा विशेष रूपमा लिने गरिन्छ । योग नपरेको वर्षमा तुलनात्मक रुपमा दर्शनार्थी केही कम हुने सत्यवती मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कमल रानाले बताउनुभयो । यस वर्षको मेला आज समापन हुँदैछ ।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

तिनाउ–४ का वडाध्यक्ष तुलबहादुर आलेले सत्यवती मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै सडक यातायातलाई सहज बनाउन पहल हुँदै आएको बताउनुभयो ।
वर्षौंदेखि धार्मिक आस्थाको केन्द्र बनेको सत्यवतीमा यस वर्ष भक्तजनले नयाँ मन्दिरबाट पूजाआजा गर्ने अवसर पाएका छन् ।
पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिले तीनतले नयाँ मन्दिर निर्माण गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार ६५ लाख ५८ हजार रुपियाँभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको छ । सत्यवती सम्म पुग्न झुम्सा सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधारले टाढाबाट आउने भक्तजनलाई आवतजावतमा सहज बनाएको हो । सिद्धार्थ राजमार्गको चौबिस माइल क्षेत्रबाट पनि पैदल हुँदै सत्यवती पुग्न सकिन्छ ।


















