
ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिकनाचमा सोमबार साँझ वस्त्रहरण लीला प्रहसन प्रस्तुत गरिएको छ । कार्तिक २७ गतेदेखि सुरु भएको ऐतिहासिक कार्तिकनाचमा कृष्णलीलालाई नाचको माध्यमबाट प्रस्तुत गरिएको छ ।
वस्त्रहरण लीलामा कृष्णको प्रवेश हुन्छ । भगवान् कृष्णको प्रवेशपछि राधाका र उहाँका साथीहरू प्रस्तुत गरिन्छ । राधिका साथीहरूसँग स्नान गर्न नदीमा जान्छन् । स्नानमा रमाइरहेका राधाको वस्त्र कृष्णले लुकाइदिनुहुन्छ ।
यसरी स्नान सकेर आउँदा वस्त्र नभेटेपछि राधिकाले काले कृष्णले लुगा लुकाएको भन्दै रिस व्यक्त गर्नुहुन्छ । त्यसैबेला भगवान् कृष्ण भने रुखमा बसेर आफ्नै बाँसुरीको धुनमा मग्न हुन्छन् । रिसमा होस गुमाएकी राधाले कृष्णलाई आफ्नो लुगा लुकाएकोमा गाली गर्नुहुन्छ तर जवाफमा कृष्णले यसरी बिनावस्त्र नुहाउन लाज नलागेको भन्दै जवाफ फर्काउनुहुन्छ । दुई जनाको केहीबेरको बहसपछि राधाले भगवान् कृष्णसँग माफी माग्नुहुन्छ । राधाले माफी मागेपछि कृष्णले उहाँलाई बाजाको तालमा लुगा फिर्ता गर्नुहुन्छ । आजको वस्त्रहरण नाच सोही कथामा घुमेको छ । सात जना कलाकारको उपस्थितिमा देखाइने वस्त्रहरण लीलानाच रोचक तरिकाले प्रस्तुत गरिएको थियो ।
कार्तिकनाच संरक्षण समितिका सदस्य तथा तलेजु भवानीका पुजारी सञ्जय राजोपाध्यायले वस्त्रहरण लीलापछि मङ्गलबार मङ्सिर ८ गते दधिलीला प्रस्तुत गरिने जानकारी दिनुभयो । उहाँले त्यससँगै यस वर्षको कार्तिकनाच समापन हुने बताउनुभयो । कार्तिकनाच संरक्षण समितिको आयोजनामा सञ्चालन भइरहेको नाच प्रत्येक दिन साँझ पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा प्रस्तुत हुँदै आएको छ ।


















