एस् ए टी भी २३ फाल्गुन, काठमाडौँ: अवैध बाटोबाट अमेरिका जान लागेका दाङका एक युवाको घानामा मृत्यु भएको छ।
अमेरिका जाने क्रममा केही समयदेखि घानामै रहेका दाङका पूर्णबहादुर डाँगीको बुधबार मृत्यु भएको हो।
घर्तीको शव पोष्टमर्टम र अन्य प्रक्रियाका लागि आकरास्थित अस्पतालमा राखिएको छ।
हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विकास सुवेदीले सेतोपाटीलाई बताए।
'मैले इजिप्टमा रहेको दूतावासमा खबर गरिसकेको छु। उनलाई अमेरिका लैजान खोज्ने एजेन्टसँग पनि कुरा भएको छ। एजेन्टका अनुसार घर्तीलाई कुनै किसिमको स्वास्थ्य समस्या थिएन,' सुवेदीले भने,' एजेन्टसँग भेटेर आज थप कुराकानी हुन्छ। मृतकको शव कसरी पठाउने भनेर हामीले छलफल गरिरहेका छौं।'
अमेरिका जाने प्रलोभनमा परी आएकाहरूमध्ये ६० प्रतिशतभन्दा धेरै व्यक्ति अफ्रिकाबाटै फर्किने एनआरएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले सेतोपाटीलाई बताए।
'सुरूमा दलालले एनआरएनएका अभियन्तालाई नभेट्नु भनेर सिकाएका हुन्छन्। जब उनीहरू अप्ठ्यारोमा पर्छन्। त्यसपछि मात्र हाम्रो सम्पर्कमा आउँछन्,' नाइजेरियामा कार्यरत थापाले भने, 'गत वर्ष पनि घानामा एक युवाको मृत्यु भएको थियो। अवैध तरिकाले आएकाले शव पठाउने प्रक्रियामा पनि उत्तिकै अप्ठ्यारो हुन्छ।'
अमेरिका पठाउने दलालको चेन खोजी गर्न नेपाल सरकारले चासो नदिएका कारण दलालबाट ठगिनेहरूको संख्या बढ्दै गएको उनले बताए। अफ्रिका आउँदासम्म कम्तीमा ४० लाखको हाराहारीमा पैसा खर्च भइसकेको हुने थापाले बताए।