नेभिगेसन मेनु

बर्दिबासको चुरे भेगमा गोठमै छिरेर चौपाया मार्न थालेपछी स्थानीय त्रसित
सम्पादक:南亚网络电视
समय:2026-06-19 14:10

 

 IMG-20260615-WA0013-(2)

बर्दीबास असार ५ गते । बर्दिबास नगरपालिकाको चुरे क्षेत्र तथा आसपासका बस्तीहरूमा हिंस्रक वन्यजन्तुको आक्रमण बढ्दै गएपछि स्थानीयवासी त्रास र असुरक्षाको वातावरण सृजना भएको छ ।

पछिल्लो समय गोठभित्रै पसेर पशुचौपाया मार्ने घटनाहरू लगातार दोहोरिन थालेपछी वन क्षेत्र आसपासका बासिन्दा थप चिन्ता बढेको छ ।पछिल्लो घटना बर्दिबास नगरपालिका–३ पाटुडाँडाको दमार टोलमा भएको छ ।

स्थानीय रुपमाया खड्काको घरको खोरभित्रै पसेर बाघले आक्रमण गरेको पीडित परिवारले जनाएका छन् । गए राति खोरमा प्रवेश गरेको बाघले देवाली पूजाका लागि छाडिएको करिब आठ धार्नीको बोकोलाई मारेर खोरमै छाडेको थियो भने ब्याउने अवस्थामा रहेको अर्को बाख्रीलाई घर पछाडिको बाँसको भर्‍याङतर्फ लगेर अधिकांश भाग खाइदिएको अवस्थामा फेला परेको थियो ।

यो घटनाको तीन दिनअघि पनि सोही स्थानका कृष्णबहादुर मगरको खोरमा पसेर बाघले करिब तीन धार्नी तौलको सुँगुरको पाठा मारेको थियो ।यसअघि बर्दिबास–५ स्थित चुरे क्षेत्रको टुटेश्वर बरडाँडामा पनि बाघले गोठबाटै दुईवटा ठूला चौपाया मारेको स्थानीयले बताएका छन् ।

वडाअध्यक्ष कहारमान स्याङ्वाका अनुसार रातको समयमा गोठभित्र प्रवेश गरेको बाघले सुरुमा प्रेमबहादुर थिङको करिब ५० हजार रुपियाँ मूल्यको लैनु गाई मारेर खाएको थियो ।

अर्को दिन बृजबहादुर थिङको ७५ हजार रुपैयाँ बराबरको बहर गोरु पनि मरेपछि गाउँ आतङ्कित छ ।‘पल्किएको बाघले जुनसुकै बेला अर्को आक्रमण गर्न सक्ने सम्भावना बढेपछि गाउँलेहरूले राँको बालेर २४ घण्टा चौकीदारी गर्न थालेकाले अहिले गाउँमा बाघ पस्न छाडेको छ’ वडा अध्यक्ष स्याङ्वाले भन्नुभयो ।

स्थानीयवासीको बुझाइमा सोही बाघ अहिले पूर्वतर्फको बर्दिबास–३ पाटुडाँडाको दमार टोल क्षेत्रमा पुगेको अनुमान गरिएको छ।यद्यपि, दिनहुँजसो बस्तीमा पसेर चौपाया मार्ने वन्यजन्तु बाघ, चितुवा वा ब्वाँसो हो ? भन्ने विषयमा अझै आधिकारिक पुष्टि हुन सकेको छैन ।

स्थानीयका अनुसार कसैले प्रत्यक्ष रूपमा वन्यजन्तुलाई नदेखेकाले यकिन गर्न कठिन भएको हो । तथापि, घटनास्थलमा देखिएका पदचिन्ह, सिकार मार्ने र खाने शैलीका आधारमा आक्रमणकारी पाटेबाघ नै भएको दाबी गरिएको छ ।

सामुदायिक वन समितिका पदाधिकारीहरूका अनुसार सिन्धुली सीमासँग जोडिएको महोत्तरीको सुदूर उत्तरी चुरे क्षेत्रमा बेलाबखत दुईवटा पाटेबाघ देखिने गरेको आधारमा पनि यस्तो दावी गरिएको हो ।

बर्दिबास–४ माईस्थानस्थित सशस्त्र वन सुरक्षा शाखाका प्रमुख सुमन श्रेष्ठले पनि चुरे भेगमा वन्यजन्तु आक्रमणका घटनाहरू भएको पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार पछिल्लो समय सर्लाहीको घारीबथानदेखि महोत्तरीको रातुखोला पश्चिमतर्फको चुरे क्षेत्रमा हिंस्रक वन्यजन्तुको गतिविधि बढेको छ ।

लगातारका घटनाले चुरे आसपासका बस्तीहरूमा त्रास फैलिनुका साथै वन क्षेत्र नजिक रहेका गाउँका सर्वसाधारणलाई निर्वाध हिँडडुल, घाँसदाउरा तथा चरिचरनमा समेत असुरक्षा बढेको कारे भोगटे सामुदायिक वनका अध्यक्ष रमेश खत्रीले बताउनुभयो ।

वन्यजन्तुको गतिविधि बढेपछि उक्त सामुदायिक वनले चुरे तथा दमार क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

वन समितिले जङ्गल वा झाडी क्षेत्रमा एक्लै नजान, बाघ वा चितुवा देखिएको सङ्केत पाए तत्काल सम्बन्धित निकाय वा वन उपभोक्ता समितिलाई जानकारी गराउन, बालबालिकाको विशेष निगरानी गर्न तथा पशुचौपायालाई सुरक्षित र बलियो खोरमा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर