
काठमाडौँ, भदौ २५ गते । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाउनुभयो । उहाँले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभएको हो ।
त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाउनुभयो । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३र३ विकेट लिनुभयो । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिनुभयो । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।


















