एस् ए टी भी २८ माघ, काठमाडौँः कतारले आवासीय परिचयपत्र नभएका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिएको छ । स्वदेश फिर्ने क्रममा उनीहरूले कतार सरकारलाई जरिवाना तिर्नु वा घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा बस्नुपर्ने छैन ।
कतारको आन्तरिक मन्त्रालयद्वारा आइतबार जारी सूचनाअनुसार त्यहाँको आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फर्कन पाउनेछन् ।
श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचयपत्र बनाएर बस्न पाउने वा नपाउनेबारे भने प्रस्ट खुलाइएको छैन । यसअघि घोषणा गरिएको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ने वा वैधानिक हैसियत भएरकतारमै बस्न पाइने विकल्प दिइएको थियो ।
बिनासजाय स्वदेश फर्कन पाउने यो व्यवस्था आइतबार (२७ माघ) देखि नै लागू भएको हो । स्वदेश फर्कनका लागि श्रमिकले साल्वा रोडस्थित सर्च एन्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।
आममाफी पाउने आफ्नो मुलुकका श्रमिकका लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । कतारमा आवासीय कानुन उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको यकिन तथ्यांक भने नभएको नेपाली दूतावासले जनाएको छ ।