
स्याङ्जा, असार ५ गते ।भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ।नगर पालिकाले कृषि उत्पादन वृद्धि तथा व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले औजार वितरण गरेको हो ।
नगरपालिकाले किसानलाई ५२ वटा हाते ट्याक्टर, ३२ वटा डिजेल तथा २० पेट्रोल इन्जिन र १८ वटा कम्बाइन्ड मिल वितरण गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
अनुदानपछि पेट्रोल इन्जिन हाते ट्याक्टर १९ हजार पाँच सय, डिजेल इन्जिनको हाते ट्याक्टर २६ हजार रुपैयाँ र कम्बाइन्ड मिल २० हजार रुपियाँमा कृषकले पाएका हुन् ।
नगरपालिकाले यान्त्रिकरण प्रयोजनका लागि आर्थिक वर्ष २०८२/८३ मा १५ लाख रुपियाँ बजेट छुट्याएको थियो । लघुउद्यमशीलता र यान्त्रिकरण प्रवर्द्घन गर्न कृषकको माग र आवश्यकताका आधारमा अनुदानमा कृषि औजार वितरण गरिएको लम्सालको भनाइ छ ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले वितरण गरिएका हाते ट्याक्टर र कम्बाइन्ड मिलको सही सदुपयोग गर्न तथा छिमेकी किसानलाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले किसानबाट वडामार्फत प्राप्त माग तथा निवेदनका आधारमा कृषि औजार वितरण गरिएको जानकारी दिनुभयो ।
यहाँ पछिल्लो क्रममा व्यवसायिक तरभुजा खेतीको परीक्षण सफल भएको छ भने अकबरे खुर्सानी खेती पनि विस्तार भइरहेको छ ।
यस्तै तरकारी, दुध र मासु उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहेको छ ।









