अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा आयात शुल्क बढाएसँगै विश्वका दुई ठूला अर्थतन्त्रबीच ‘व्यापार युद्ध’ चर्कने देखिएको छ । आयात कर बढाउने ट्रम्पको निर्णयपछि चीनले अमेरिकासँग ‘जस्तोसुकै युद्ध’ का लागि तयार रहेको बताएको हो ।
‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो आयात शुल्कसम्बन्धी होस् वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौं,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।
राष्ट्रिय जनकंग्रेसको वार्षिक सम्मेलनका लागि चिनियाँ नेताहरू राजधानी बेइजिङमा भेला भइरहेका बेला चीनले अमेरिकालाई चेतावनी दिएको हो । जनकंग्रेसको तेस्रो पूर्ण सत्रमा प्रतिवेदन पेस गर्दै चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीनको रक्षा खर्च ७.२ प्रतिशतले बढाउने घोषणा गरेका छन् ।विदेश मन्त्रालयको टिप्पणीलाई अमेरिकाको वासिङ्टनस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समा पुनः पोस्ट गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि लागू हुने गरी चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर थप गरेका थिए । त्यसको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशतसम्म आयात शुल्क लगाइसकेको छ ।
त्यस क्रममा लीले विश्वमा एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको बताए । जनतालाई व्यापार युद्धको जोखिमबीच पनि देशको अर्थतन्त्र विस्तार गर्न सकिने सन्देश दिन चिनियाँ प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको अनुमान गरिएको छ । अमेरिकाको तुलनामा चीन एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्ने उनको प्रयास हो ।
चिनियाँ अधिकारीहरूले अमेरिका पश्चिम एसिया र युक्रेनको आन्तरिक द्वन्द्व र राजनीतिमा फसेको बताउँदै आएका छन् । चीन पछिल्लो समय अमेरिकाले आयात कर लगाएका क्यानडा र मेक्सिकोजस्ता देशबाट पनि फाइदा लिने रणनीतिमा छ । जसका कारण पनि चिनियाँ प्रधानमन्त्रीले अमेरिकाविरुद्ध कडा प्रतिक्रिया दिएको ठानिएको छ । त्यसैले प्रधानमन्त्री लीले चीन थप खुला हुने बताउँदै विदेशी लगानी आकर्षित गर्ने विषयमा पनि जोड दिएका छन् । यसअघि पनि चीनले आफू युद्धका लागि तयार रहेको प्रतिक्रिया दिएको थियो ।
अमेरिकी कदमको जवाफमा चीनले कुखुरा, सुँगुर, भटमास र गाईको मासुलगायतका प्रमुख अमेरिकी कृषि उत्पादनहरूको आयातमा १५ प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको हो । त्यस्तै, चीनले करिब दुई दर्जन अमेरिकी कम्पनीहरूमा निर्यात नियन्त्रण र अन्य प्रतिबन्धहरू पनि लगाएको छ ।
‘चीनले आफ्नो अधिकार र हितको दृढताका साथ रक्षा गर्न जवाफी निर्णय लिनेछ,’ चिनियाँ वाणिज्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रम्पको नयाँ निर्णय एकपक्षीय र धम्कीपूर्ण भएको चीनको भनाइ छ ।
अमेरिकाले चीनबाट आफ्नो देशमा लागूऔषध ‘फेन्टनाइल’ भित्रिएको दोष लगाउँदै आएको छ । तर चिनियाँ विदेश मन्त्रालयले अमेरिकी आरोप अस्वीकार गरेको छ । ‘फेन्टनाइल मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउन पेस गरिएको कमजोर बहाना हो,’ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन् । जियानले अमेरिकाले कर युद्ध, व्यापार युद्ध वा अन्य कुनै पनि प्रकारको युद्ध लड्न जारी राख्यो भने चिनियाँ पक्षले पनि अन्त्यसम्म लड्ने’ बताएका छन् । ‘हामी धाकधम्कीबाट त्रसित हुँदैनौं । दबाब दिनु, जबर्जस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन,’ उनले भनेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत अक्टोबरमा सेनालाई युद्धका लागि सुदृढ पार्न निर्देशन दिएका थिए । त्यसबेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्याससमेत गरेको थियो । अमेरिका र चीनबीच बारम्बार तनाव हुने गरेको छ । तर ट्रम्पको शपथग्रहण समारोहमा राष्ट्रपति सीलाई निम्ता दिइएपछि ट्रम्प प्रशासनअन्तर्गत चीन–अमेरिका सम्बन्ध सहज ढंगले अघि बढ्ने अनुमान गरिएको थियो ।
ट्रम्पले पनि ह्वाइटहाउस प्रवेश गर्नु केही दिनअघि दुई नेताबीच ‘राम्रो फोन संवाद’ भएको बताएका थिए । तर गत महिना ट्रम्प र सीबीच हुने भनिएको फोन संवाद हुन सकेन ।
पछिल्लो समय राष्ट्रपति सी घरेलु मुद्दासँग जुधिरहेका छन् । चीनमा हाल घरजग्गा क्षेत्रमा संकट छ भने बेरोजगारी दर उच्च छ । घरेलु समस्या समाधान गर्न चीनले अर्बौं डलर लगानी गर्ने वाचा गरेको छ । राष्ट्रिय जनकंग्रेसमा पनि चिनियाँ नेताहरूले यससम्बन्धी सुधार योजना पेस गरेका छन् ।