
तनहुँ, असार २१ गते । बागमती प्रदेश सरकारको सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिकालाई चितवनको भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकासँग जोड्न त्रिशूली नदीमा दुई वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् ।
उक्त दुई वटा पुल निर्माणका लागि बागमती प्रदेश सरकारले कुल एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाको आवश्यकता र अनुरोधलाई विशेष प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रतिपुल ५० लाख रुपियाँका दरले बजेट व्यवस्थापन भएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । दुई स्थानमा झोलुङ्गे पुल बनेपछि यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा ठुलो सहजता मिल्ने विश्वास अध्यक्ष चुमानले व्यक्त गर्नुभयो ।
चुमानका अनुसार आँबुखैरेनी गाउँपालिका–५ सँग चितवनको भरतपुर महानगरपालिका–२९ लाई जोड्न एउटा पुल र आँबुखैरेनी गाउँपालिका–४ सँग चितवनकै इच्छाकामना गाउँपालिका जोड्न अर्को पुल निर्माण गर्न लागिएको हो ।
यस महत्वपूर्ण योजनालाई स्वीकृत गराई बजेटको व्यवस्थापन गराउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा र मन्त्रालयका प्रदेश सचिव इन्जिनियर ईश्वरचन्द्र मरहठ्ठाको विशेष भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो ।










