एस् ए टी भी २५ पौष, काठमाडौंः नेपाल-चीन सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन ‘चाइना फिल्म डे’ पहिलो पटक काठमाडौँमा आयोजना भएको छ। यो ऐतिहासिक कार्यक्रमले दुई देशबिचको सिनेमाटिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन, कथा-वाचन र फिल्म निर्माणमा सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजकले जनाएका छन्।
कार्यक्रम चीन फिल्म प्रशासन, नेपालस्थित चीन जनवादी गणतन्त्रको दूतावास, चीन फिल्म अभिलेखालय, र नेपाल फिल्म तथा सांस्कृतिक एकेडेमी (एनएफसीए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा तीन उत्कृष्ट चिनियाँ फिल्मको प्रदर्शन गरिएको थियो। साथै, प्रदर्शनपछि फिल्म निर्देशकहरूसँग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो। यसले चिनियाँ चलचित्रकर्मीहरूको ज्ञान,सिप र दक्षता नेपाली चलचित्र उत्सुक माझ पुगेको विश्वास लिइएको छ।
कार्यक्रममा चलचित्र क्षेत्रका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, निर्देशक, प्राविधिक तथा प्रख्यात व्यक्तित्वहरूको उपस्थितिको अपेक्षा गरिएको छ। साथै, नेपालस्थित चिनियाँ दूतावासका डिसिएम वाङ सिन लगायत उच्च अधिकारीहरू, नेपाल फिल्म विकास बोर्ड, र नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथिको रूपमा सम्माननीय सांसद र पूर्व अर्थमन्त्री वर्षमान पुनले कार्यक्रममा सहभागिता जनाएका थिए।
विशेष चिनियाँ प्रतिनिधिमण्डल, जसको नेतृत्व चीन फिल्म प्रशासनको अन्तर्राष्ट्रिय विभागका निर्देशक स्यु याङले गर्दै, कार्यक्रममा भाग लिएका थिए। चिनियाँ फिल्म उद्योगका अन्य प्रतिष्ठित प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति कार्यक्रममा देख्न सकिन्थ्यो।
कार्यक्रममा नेपाल फिल्म तथा सांस्कृतिक एकेडेमीका अध्यक्ष केपी पाठकले ‘चाइना फिल्म डे’ को महत्त्वबारे टिप्पणी गर्दै भने, “यो केवल फिल्म प्रदर्शन मात्र होइन; दुई समृद्ध संस्कृतिलाई जोड्ने पुल हो। चिनियाँ सिनेमाको सिर्जनात्मकता र गहिराइ प्रस्तुत गरेर हामी नेपाली फिल्म निर्माताहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो दायरा विस्तार गर्न अवसर प्रदान गर्दैछौं।”
चीन फिल्म प्रशासनको अन्तर्राष्ट्रिय विभागका निर्देशक स्यु याङले नेपाली चलचित्रहरू पनि पछिल्लो समय व्यावसायिक तथा अन्य थुप्रै हिसाबले सबल हुँदै गएको बताउँदै चिनियाँ पक्ष यिनको प्राविधिक पक्षमा सहयोग पुर्याउँदै सांस्कृतिक आदान प्रदानमा अझै विशेष पहल गर्ने बताएका थिए। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुँदै गर्दा नेपाली चलचित्रको बलियो उपस्थिति देखेको बताउँदै उनले दुई देश बिच कथा आदान प्रदानले दुवै देशलाई फाइदा पुग्ने विश्वास लिएका छन्। पछिल्लो समय बक्स अफिसमा तहल्का पिटेका दुई नेपाली चलचित्र 'पूर्ण बहादुरको सारङ्गी' र 'बाह्र गाउँ सम्झँदै उनले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको पनि बताएका थिए।
नेपाल स्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाली प्रधानमन्त्री के पी शर्मा वलीले भर्खरै चीन भ्रमणमा जाँदा अग्रसरता देखाएको र त्यसकै सिलसिलाको रूपमा यस कार्यक्रम सञ्चालन गरिएको बताएका थिए। नेपाल र चीन बिचको सम्बन्धले ७०औँ वर्ष पार गरेको र यस उपलक्षमा चीन सरकार विभिन्न सहयोगको लागि तयार रहेको पनि बताए। चलचित्रका माध्यमबाट नेपाल र चीनको मैत्री सम्बन्धमा अझै प्रगाढता आउने बताउँदै उनले यस चाइना चलचित्र दिवस सफलताको शुभकामना दिँदै कृतज्ञता पनि प्रकट गरे। नेपालको समग्र पर्यटन विकासमा सहयोग पुर्याउँदै आएको सम्झँदै उनले पोखरा अन्तर्राष्ट्रिय ड्र्यागन डुङ्गा दौड,लुम्बिनी पिस फेस्टिभल लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आएको र यस चाइना फिल्म डे पनि त्यसकै सिलसिला रहेको पनि बताएका थिए।
कार्यक्रममा प्रमुख आतिथ्य गरेका सम्माननीय सांसद र पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल चीन सांस्कृतिक आदान प्रदानमा 'चीन चलचित्र दिवस' एउटा कोसे ढुङ्गा साबित हुने बताए। उनले नेपालका कथाहरू चिनियाँ प्रविधिको हात पर्न गए सुनमा सुगन्ध हुने बताउँदै त्यो सहकार्यको लागि यस कार्यक्रमले मार्ग प्रशस्त गर्ने पनि विचार व्यक्त गरे। चीन ठुलो बजार मात्रै नभएर कथाहरूको पनि समुद्र रहेको बताउँदै उनले नेपालीले त्यहाँका कथाहरू मार्फत धेरै सिक्ने कुरा पनि बताए। गरिबी उन्मुलनका कथा, समृद्धिका कथाबाट हामीले हाम्रो समाज परिवर्तनमा पनि थुप्रै अवधारणा बनाउन सकिने पनि उनले बताएका थिए। कार्यक्रम आयोजनाको लागि आयोजकलाई उनले धन्यवाद पनि ज्ञापन गरेका थिए।
कार्यक्रममा प्रदर्शन गरिएका फिल्महरू यस प्रकार छन्:
हर स्टोरी (१२३ मिनेट) – निर्देशक यिहुई शाओ
मिडसमर्स भ्वाइस (१०५ मिनेट) – निर्देशक युडी झाङ
जी फर ग्याप (१०३ मिनेट) – निर्देशक फेइ लङ
उपस्थित भेटरान कलाकार निर शाहले यस्ता सांस्कृतिक आदानप्रदानहरूले आपसी सम्मान र समझदारीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
आयोजकहरूले यस पहललाई दुई देशबिच चलचित्र उद्योगमा सांस्कृतिक र व्यावसायिक साझेदारीतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरेका छन्।यो ऐतिहासिक अवसरले नेपाल-चीन सिनेमाटिक र सांस्कृतिक सम्बन्धको उज्यालो अध्यायको सुरुवात गर्दै, भविष्यमा अझ गहिरो सहकार्य र सहभागिताको ढोका खोल्ने विश्वास लिइएको छ।