नेभिगेसन मेनु

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र ऋणात्मक
सम्पादक:南亚网络电视
समय:2025-01-08 12:03

fast track

एस् ए टी भी,२४ पौष काठमाडौंः राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो ।

उक्त अवधिमा निर्माण क्षेत्र ऋणात्मक र अन्य केही क्षेत्रको विस्तारमा संकुचन आउने प्रक्षेपण छ ।

कार्यालयका अनुसार कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण, पर्यटन आगमन र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिका कारण सकारात्मक आर्थिक वृद्धि रहने देखिएको हो । ‘यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १७ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २१.४ प्रतिशत छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत छ ।

‘आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।’ तर, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्माणसम्बन्धी वस्तुको आयातमा गिरावटले निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर तीन प्रतिशत हुने अनुमान कार्यालयको छ । धानलगायत वर्षे बालीको उत्पादन बढ्नुका साथै तरकारी तथा नगदे वाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए ।

‘समयमै मलको उपलब्धता, उन्नत बिउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएकाले कृषिजन्य उत्पादनमा वृद्धि भएको हो,’ उनी भन्छन्, ‘यद्यपि बाढीपहिरो क्षति पुर्‍याएकाले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन ।’

Economic growth of 3.4 percent in the first quarter, construction sector negative

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारको वृद्धिदर पनि निराशाजनक छ । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो क्षेत्रमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिले व्यापार क्षेत्रको वृद्धि सकारात्मक भएको रेग्मीले प्रस्ट्याए ।

‘यो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले धनात्मक छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएकाले यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहेको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘यस वर्षको पहिलो त्रैमासमा शिक्षा क्षेत्र ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत, घरजग्गा कारोबार ३.१ प्रतिशतले बढेकोलगायत सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य छ ।’

आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास (गत वैशाख, जेठ र असार) को तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमास (गत साउन, भदौ र असोज) मा भने ०.२ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । यसअनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये यस वर्षको पहिलो त्रैमासमा १२ वटाको उत्पादन बढेको र ६ वटाको घटेको छ ।

ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अंकले मात्र वृद्धि हुने अनुमान गरिएको कार्यालयले प्रस्ट्याएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी ८.५ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ । ‘यो अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ०.८ प्रतिशतले ऋणात्मक रहने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसकारण समग्र अर्थतन्त्रको वृद्धिदर ०.२ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान छ ।’

ऋणात्मक वृद्धि रहेका ६ औद्योगिक क्षेत्रमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर १३.९, व्यापारको ३.७, कृषि, वन तथा मत्स्यको ०.८, निर्माणको ०.६, पानी, आपूर्ति तथा फोहोर व्यवस्थापनको ०.३ र उत्पादनमूलक उद्योगको वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक हुने कार्यालयको प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । यता विश्व बैंकले गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको सरकारको दाबी छ । तर, निर्माण, उत्पादन तथा प्रशोधन, थोक तथा खुद्रा व्यापारलगायत क्षेत्रको वृद्धिदर सन्तोषजनक छैन । यी क्षेत्रमा सुधार नहुने हो भने यस आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न मुस्किल हुने जानकारहरू बताउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर