नेभिगेसन मेनु

राति पनि तरकारीको गुणस्तर परीक्षण
सम्पादक:南亚网络电视
समय:2025-01-06 11:53

khaadya parikshan

एस् ए टी भी २२ पौष, काठमाडौंः बजारमा गुणस्तरहीन तरकारी र फलफूल जान नदिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रातको समयमा पनि तरकारीको गुणस्तर परीक्षण गर्न सुरु गरेको छ। उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा रातको समयमा तरकारी भित्रिने भएकाले विभागले ल्याबसहितको घुम्ती भ्यान मार्फत ‘अन द स्पट’ (ठाउँको ठाउँ) परीक्षण गर्न थालेको छ।

बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोका बीच ‘अन द स्पट’ खाद्य वस्तुको गुणस्तर परीक्षण सुरु गरेको विभागले पछिल्लो पटक तरकारी बजारमा भित्रिने तरकारी तथा फलफूलको परीक्षण गरेको छ।

रातमा अत्याधुनिक ल्याबसहितको भ्यान कालीमाटी तरकारी बजारमा पठाएर विषादीको मात्रा परीक्षण गर्न सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। ‘कालीमाटीमा भित्रिने तरकारीका ट्रकबाट नमुना संकलन गरी घुम्ती ल्याबमा तत्काल परीक्षण गर्छौं,’ कर्णले भने, ‘अन्य तरकारी बजारमा पनि पठाउने तयारी गरेका छौं।’

विभागले गत साता रातको समयमा ४७ वटा ट्रकबाट भित्रिएको तरकारी परीक्षण गरेको थियो। तीमध्ये चार वटा भारतबाट तरकारी लिएर आएका ट्रक थिए। विगतमा दिउँसोको समयमा प्रवेश गर्ने ट्रकबाट नमुना संकलन गरेर परीक्षण गर्ने गरिएको थियो। तरकारीमा ‘इन्जाइम इन्एक्टिभेसन रेट’ को मात्रा परीक्षण गरिएको विभागका महानिर्देशक कर्णले बताए। उनका अनुसार तरकारीमा ‘इन्जाइम इन्एक्टिभेसन रेट’को मात्रा ३५ प्रतिशत भन्दा मुनी भए उपभोग गर्न मिल्छ। ३५ देखि ४५ प्रतिशत रेट भए होल्ड गरेर राख्ने गरिएको छ।

त्यसैगरी, ४५ प्रतिशत भन्दा बढी भए नष्ट गर्नुपर्ने उनले बताए। आरबिपिआर विधिबाट तरकारी फलफूलको परीक्षण गरिएको थियो। तरकारी परीक्षण गर्दा अधितम २७ प्रतिशत पाइएको थियो। विभागले कालीमाटीसहित अन्य तरकारी बजारमा पनि रातको समयमा घुम्ती भ्यान पठाएर परीक्षण गर्ने तयारी गरेको छ।

खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउने प्रयोगशालासहितको भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेर दिउँसोको समयमा अन्य खाद्यवस्तुको परीक्षण गर्दै आएको थियो। विभागसँग अहिले अत्याधुनिक प्रयोगशालासहितका चार वटा भ्यान रहेका छन्। एक भ्यान विराटनगर, अर्को भैरहवा पठाउने भएको छ। एक भ्यान काठमाडौंमा चलाउने र थप एक भ्यान धनगढी वा पोखरा पठाउने विभागको तयारी छ।

प्रयोगशलासहितका घुम्ती भ्यान सञ्चालनमा आएपछि बजारमा गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बिक्री कार्य नियन्त्रण हुने विश्वास लिइएको छ। स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमुना भ्यानको सहयोगमा तत्काल परीक्षण हुन्छ। परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त भ्यान सञ्चालनमा ल्याइएको हो।

तरकारीसहित होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दुध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु र खाद्य वस्तुमा प्रयोग हुने रङको नमुना संकलन गरेर तत्कालै ल्याब परीक्षण हुँदै आएको छ। प्रयोगशालासहितको भ्यान बजारमा पठाएर खाद्यवस्तुको अन द स्पट परीक्षण गर्ने भएकाले खाद्य स्वच्छतामा टेवा पुग्ने विश्वास लिइएको छ।

परीक्षण गरेपछि खाद्यवस्तु प्रयोग गर्न मिल्ने नमिल्ने ततकाल पत्ता लाग्छ। खाद्यवस्तु गुणस्तरीय (खानयोग्य) भए, नभएको तुरुन्त पत्ता लगाउन सकिन्छ। घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्ने विभागले जनाएको छ। अखाद्य वस्तु भए विभागका अधिकारीले तत्काल बिक्री वितरणमा रोक लगाउन सक्छन्।

विगतमा बजार अनुगमनमा गएर खाद्यवस्तुको नमुना संकलन गरेर ल्याइ प्रयोगशालामा परीक्षण गर्दै आएकोमा अहिले अनुगमनकै क्रममा तत्काल गर्न सुरु गरिएको हो। वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ। परीक्षणमा खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए, नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो हुन्छ।

भ्यानमा ४८ प्रकारका मेसिन र किट रहेको विभागले जनाएको छ। अहिले सञ्चालनमा ल्याएका वेल इक्विपमेन्ट ल्याबोरेटोरी मोबाइल भ्यानले बजारमा सचेतना जगाउन पनि सघाउ पुग्नेछ। यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ। अनुगमनमा खाना पकाउने तेलसहित खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाइमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्री–वितरण गरेको भेटिने गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर