नेभिगेसन मेनु

‘एमसिसी निर्धारित समयमै सक्न सरकार प्रतिबद्ध’
सम्पादक:南亚网络电视
समय:2024-06-05 11:58

IMG-20240604-WA0003

जेठ २३ गते । अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गतका सबै काम निर्धारत मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका एमसिसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससँगको भेटमा सरकार पूर्वनिर्धारित समयमा एमसिसी सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो । 

आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उहाँको भनाइ थियो । “एमसिसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,” उहाँले भन्नुभयो । 

एमसिसी परियोजना अन्तर्गतका आयोजनाको काम खण्ड खण्डमा भइरहेकाले पनि समयमै सकिनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । परियोजना कार्यान्वयनका क्रममा आउने जमिनको मुआब्जा, वन क्षेत्रको प्रयोग जस्ता समस्या एमसिए नेपालमार्फत समाधान हुने उहाँले बताउनुभयो । 

उपाध्यक्ष ब्रुक्सले एमसिसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगति जानकारी गराउनुभएको थियो । आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको पनि उहाँले बताउनुभयो । 

करिब ६० अर्ब रुपियाँ बराबरको एमसिसी सम्झौता अन्तर्गत पाँच वर्षभित्र ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुने छ । सम्झौता अनुसार ६० अर्बमध्ये ४५ अर्ब एमसिसीले अनुदानमा उपलब्ध गराउने छ भने १५ अर्ब रुपियाँ नेपाल सरकारका तर्फबाट लगानी हुने अर्थ मन्त्रालयले जनाएको छ । 

एमसिसीबाट नेपालले पाउने ४५ अर्ब अनुदानमध्ये अधिकांश रकम नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने छ । आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माण गर्ने छ । जस अन्तर्गत ३१५ किलोमिटर लामो डबल सर्किट चार सय केभी प्रसारण लाइन निर्माण हुने छ । 

हाल नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भुमहीमा सबस्टेसन निर्माणको काम अघि बढेको छ । यस्तै रातमाटेबाट काठमाडौँको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सबस्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणकै चार सय केभी सबस्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह हुने छ ।  

चार सय किलोभोल्ट उच्च क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो नेपालको हालसम्मकै ठुलो प्रसारण लाइन हो । आयोजना अन्तर्गत ८५६ वटा टावर बन्ने छन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र नवपरासीपश्चिम जिल्लालाई प्रसारण लाइनले छुन्छ । 

परियोजना अन्तर्गत ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भार र गुणस्तर सुधारको काम हुने छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ । एमसिसी अन्तर्गत मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विस्तारको काम करिब सकिएको छ । 

नेपाल र अमेरिकी सरकारको एमसिसीबिच सन् २०१७ मा आयोजनासम्बन्धी हस्ताक्षर भए पनि दुई वर्षअघि नेपालको संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर