नेभिगेसन मेनु

घोडा धपाउँदै उक्लिए मुगाली भोटे
सम्पादक:南亚网络电视
समय:2024-02-26 12:55

villegers-mugu-hari

फागुन १४ गते । जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय गाउँ फर्कन थालेका छन् ।  जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए ।

उत्तरी छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिकाका पाँच वटा बस्ती मुगुगाउँ, डोल्फुगाउँ, चितैगाउँ, किम्रीगाउँ र कार्तिगाउँका  समुदाय कात्तिक महिनादेखि चिसो बढ्न थालेपछि बेँसी झर्ने गर्छन् । स्थानीय तोर्चे लामाका अनुसार चिसो छल्न बेँसी झरेकाहरू अब गाउँ फर्कन लागेका छन् । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने घोडा र भेडाबाख्रा पाल्दै आएका भोटे समुदाय हिउँदका केही महिना हिमाली क्षेत्रमा हिउँ जम्ने र घोडा, भेडाबाख्रालाई खुवाउन घाँसपात नहुने भएकाले चरन र न्यानोको खोजी गर्दै बेँसी झर्दछन् । गर्मीमा हिउँ पग्लेर घाँसपात उम्रन थालेपछि घोडाघोडी, भेडाबाख्रालगायत सबै बस्ती गाउँ फर्कने गरेका छन् । चिसो छल्न कात्तिकको दोस्रो सातादेखि  फागुनको पहिलो सातासम्म गाउँ छोड्ने चलन रहेको स्थानीय तेन्जी लामाले बताउनुभयो । गाउँमा गर्मी बढ्न थालेपछि कात्तिके बाली आलु र चिनो लगाउन गाउँको थातथलोमा फर्किन लागेको मुगमकार्मारोङ गाउँपालिका–३, चितैगाउँका स्थानीय पेमा लामाले  बताउनुभयो । उहाँले चिसो छल्न गएका भोटे समुदाय र चरनका लागि लगिएका घोडाघोडी,  भेडाबाख्रा गाउँ फर्काउन लागिरहेको बताउनुभयो ।

भोटे जातिका अधिकांश बालबालिकाले मौसमी बसाइँसराइका कारण विद्यालयमा पढाइ पूरा गर्न समेत पाउँदैनन् । त्यसका लागि राज्यले कुनै व्यवस्था नगरेको उनीहरूको गुनासो छ । यता मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कार्मारोङ गाउँपालिकाका भोटे जातिका बालबालिकालाई गाउँमै विद्यालय सञ्चालन गरेर पठनपाठनको व्यवस्था गरेको भएता पनि हिउँद मौसममा अत्यधिक चिसो हुने हुँदा एक महिना बिदा दिने गरेको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकासँगै लिएर चिसो छल्न बेँसी जाने गरेको उहाँको भनाइ छ । हिमाली भेगमा बसोबास गर्ने भएको हुँदा हिउँले चिसो बढेपछि केही महिना चिसो छल्न भोटे जाति बेँसी झर्ने गरेको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार चार/पाँच महिना चिसो छल्नलाई यहाँका पाँच वटा गाउँबस्तीका घरमा ताला लाग्ने गर्दछ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर