नेभिगेसन मेनु

उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
सम्पादक:南亚网络电视
समय:2023-11-19 12:54

cricket12023-11-19-09-10-32

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ उपाधिका लागि आज घरेलु टोली भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । अस्ट्रेलिया सर्वाधिक पाँचपटक र भारत दुईपटकको च्याम्पियन हो । अस्ट्रेलिया भारतलाई स्तब्ध बनाउँदै छैटौँपटक ट्रफी उचाल्न चाहन्छ । एक लाख दर्शक अट्ने अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारत अपराजित रहँदै तेस्रोपटक ट्रफी उचाल्ने दाउ छ । भारत विश्वकपमा १० खेलमा अपराजित छ । 

डे नाइट फाइनल खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे हुनेछ । भारत र अस्ट्रेलिया प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बलरदेखि ब्याट्सम्यानसम्म उनीहरूका फर्ममा छन् । पहिलो दुई खेल गुमाएको अस्ट्रेलिया पछिल्लो आठ खेलमा अपराजित रहँदै लयमा देखिन्छ । दुवै टोली सेमिफाइनलमा खेलेका खेलाडीलाई उपाधि भिडन्तमा नियमित स्थान दिने तयारीमा छन् । भारतले फाइनल प्रवेश क्रममा न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको थियो । न्युजिल्यान्डविरुद्ध विराट कोहली र श्रेयस ऐयरले शतक बनाएका थिए । कोहली सोही खेलमा भारतका लिजेन्ड सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान भंग गरेका थिए । 

श्रेयसको विश्वकपमा लगातार दोस्रो शतक हो । न्युजिल्यान्डसँगको खेलमा ओपनरद्वय कप्तान रोहित शर्माले ४७ र शुभमन गिलले ८० रन बटुले । गिल घाइते हुँदा रिटायड हर्ट भए । बलिङतर्फ मोहम्मद सामीले ९.५ ओभरमा ५७ रन खर्चँदै ७ विकेट लिएका थिए । उनको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । अस्ट्रेलियाले रोचक बनेको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई १६ बल बाँकी रहँदा तीन विकेटले हरायो । प्लेयर अफ दी म्याच ट्राभिस हेडले दुई विकेटसहित ६२ रनको योगदान गरेका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै आफू लयमा रहेको जनाए । म्याक्सवेल भारतविरुद्ध सधैँ राम्रो खेल्न सक्छन् । उनीसँग भारतीय पिचको अनुभव छ । ओपनर डेभिड वार्नर लयमा रहँदा भारतीय बलर दबाब पर्न सक्छन् । अस्ट्रेलियाका कप्तान प्याट क्युमिन्सले भारतलाई स्तब्ध बनाउन खेल्ने बताएका छन् । उनले सुरुवाती खेल नराम्रो भए पनि बाँकी खेल राम्रो भएको प्रतिक्रिया दिएका छन् । क्युमिन्सले पुरानो खेललाई बिर्सिएर खेल्ने पनि बताए । ‘हामीलाई थाहा छ, अहमदाबादमा धेरै समर्थक हुनेछन् । स्तब्धपूर्ण नतिजा निकाल्नेछौँ,’ उनले भने, ‘हाम्रो सुरुवाती खेल राम्रो हुन सकेन । त्यसपछि राम्रो भएको छ । सोही प्रदर्शन जारी राख्छौँ,’ कमिन्सले भने । 

भारतका कप्तान रोहितले अपराजित यात्रालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताए । ‘हामीले उत्कृष्ट प्रदर्शन गरिरहेका छौँ । जसरी अगाडिका खेल खेल्यौँ, फाइनल त्यसरी नै खेल्नेछौँ,’ रोहितले भने, ‘हामीले दुई वर्षदेखि नै यसका लागि तयारी गरेका थियौँ । सबै खेलाडी खेल्न तयार छन् ।’

प्लेयर टु वाच

विराट कोहली (भारत)

घरेलु मैदानमा चलिरहेको विश्वकपमा विराट कोहलीले सानदार प्रदर्शन गरिरहेका छन् । उनले १० इनिङ्स खेल्दै सर्वाधिक सात सय ११ रन बनाए । उनको औसत १०१.५ रहेको छ । ओपनर शुभमन गिलअघि रहँदै कोहलीले तीन शतक बनाइसकेका छन् । उनको नाममा पाँच अर्धशतक रहेको छ । विश्वकप भर उनले ६४ चौका र ९ छक्का हिर्काएका छन् । आक्रामक ब्याट्सम्यान कोहली सर्वाधिक रन बनाउने खेलाडीमा शीर्षस्थानमा छन् । कोहलीले यसै विश्वकपबाट सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै सर्वाधिक ५० शतकीय इनिङ्स शतक पूरा गरेका हुन् । 

मोहम्मद सामी (भारत)

वैकल्पिक बलरको रूपमा खेल्दै आएका मोहम्मद सामीले सेमिफाइलनमा न्युजिल्यान्डविरुद्ध चामत्कारिक प्रदर्शन गरे । सेमिफाइलनमा एक बलरले सात विकेट लिएको यो पहिलोपटक हो । सामीले उत्कृष्ट प्रदर्शन गरेको खेलमा भारतले न्युजिल्यान्डलाई सहजै पाखा लगायो । सामीले विश्वकपमा १० मध्ये ६ खेल मात्रै खेलेका छन् । २३ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । तीव्र गतिका सामीले ६ खेलमा दुई सय ५१ बल डट फयाकेका छन् । समग्रमा तीन मेडन राखेका उनले दुई सय १० रन खर्चिएका छन् । 

डेभिड वार्नर (अस्ट्रेलिया)

डेभिड वार्नरले अस्ट्रेलियाको ओपनिङ थाम्दै आएका छन् । उनी विश्वकपमा सर्वाधिक रन बनाउने पहिलो अस्ट्रेलियन हुन् । १० इनिङ्समा पाँच सय २८ रन जोडेका वार्नर समग्रमा धेरै रन बनाउने खेलाडीको छैटौँ स्थानमा छन् । वार्नरले ४९ चौका र २४ छक्का प्रहार गरेका छन् । अफगानिस्तानविरुद्ध ग्लेन म्याक्सवेलको प्रदर्शनलाई बिर्सनाले हो भने वार्नरले अस्ट्रेलियाका लागि सानदार प्रदर्शन गर्दै आएका छन् । विश्वकपमा वार्नरले पाकिस्तानविरुद्ध सर्वाधिक एक सय ६३ रनको इनिङ्स खेलेका थिए । उनको नाममा दुई शतक र दुई अर्धशतक छ ।  

एडम जाम्पा (अस्ट्रेलिया)

कीर्तिमानी छैटौँपटक विश्वकप उपाधि जित्ने योजनामा रहेको अस्ट्रेलियाका लागि स्पिनर एडम जाम्पाले सानदार प्रदर्शन गर्दै आएका छन् । उनको सानदार प्रदर्शनसँगै अस्ट्रेलियाले लगातार आठ खेलमा जित निकालेको छ । जाम्पाले १० खेलमा २२ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने दोस्रो खेलाडीमा पर्छन् । दक्षिण अफ्रिकाविरुद्ध उनी विकेटविहीन भएका थिए । विश्वकपमा चार सय ७१ बल फ्याँकेका पाँच सय १६ रन खर्चिए । एक मेडन राख्न सफल भएका उनले नेदरल्यान्ड्सविरुद्ध नयाँदिल्लीमा खेल्दा तीन ओभर बलिङ गर्दै चार विकेट लिएका थिए । जुन खेलमा मात्र ८ रन खर्चिएका छन् । 

अहिलेसम्मको एकदिवसीय विश्वकप फाइनल

भारतमा चलिरहेको एकदिवसीय विश्वकप १३औँ संस्करण हो । सन् १९७५ मा पहिलोपटक इंग्ल्यान्डले आयोजना गर्न अवसर पायो । सो प्रतियोगिता ६० ओभरको भएको थियो । सन् १९८७ देखि प्रतियोगिता ५० ओभरमा झारियो । एकदिवसीय विश्वकपमा ५० र ६० ओभरको विश्वकप जित्ने भारत मात्र एक्लो राष्ट्र हो । वेस्ट इन्डिज र भारतले समान दुईपटक उपाधि हात पारेका छन् । अस्ट्रेलिया सर्वाधिक ५ पटकको विजेता हो । इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक–एकपटक उपाधि जितेका छन् । तथ्यांकमा पछिल्ला १२ विश्वकप फाइनल यस्तो छ । 

सन् १९७५ : विश्वकपअघि टेस्ट म्याचले क्रिकेटमा जगजगी थियो । भौतिक पूर्वाधारले सम्पन्न इंग्ल्यान्डले पहिलो संस्करण गर्‍यो । लर्डस्मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीच फाइनल भयो । वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले निराश पार्दै विश्व च्याम्पियन ट्रफी उचाल्यो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले ६० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन जोड्यो । अस्ट्रेलियाले ५८.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रन जोडेको थियो । च्याम्पियन टोलीका ग्यारी गिल्मोरले सर्वाधिक पाँच विकेट लिएका थिए । 

सन् १९७९ : वेस्ट इन्डिजले ब्याक टु ब्याक विश्वकपको उपाधि उचाल्यो । आयोजक इंग्ल्यान्ड फाइनलमा पुग्दा ब्याटिङ प्रदर्शन भएको थियो । लर्डस् मैदानमा वेस्ट इन्डिजले नौ विकेट गुमाएर दुई सय ८६ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा इंग्ल्यान्ड ५१ ओभरमा एक सय ९४ रनमै समेटिँदा वेस्ट इन्डिजले फाइनल ९२ रनले जित्यो । फाइनलमा वेस्ट इन्डिजका भिभ रिचार्डले एक सय ५७ बलमा एक सय ३८ रन बनाए ।  

सन् १९८३ : इतिहासमा लगातार तेस्रोपटक विश्वकप आयोजना गर्ने राष्ट्र इंग्ल्यान्ड हो । यसपटक पनि फाइनलमा वेस्ट इन्डिज नै पुगेको थियो । तत्कालीन समयमा वेस्ट इन्डिजको ब्याटिङ र बलिङ खतरनाक मानिन्थ्यो । लर्डस् मैदानमा नपत्याउँदो रूपमा भारतले स्थान बनाएको थियो । भारतले दुईपटक साबिक विजेता वेस्ट इन्डिजमाथि ४३ रनको सनसनी जित निकाली पहिलोपटक विश्वकप उचाल्यो । कपिलदेवको कप्तानीमा रहेको भारतले पहिलो ब्याटिङ गरी ५४.४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोड्यो । मदनलाल र महिन्द्रा अमरनाथले समान तीन विकेट लिँदा वेस्ट इन्डिज ५२ ओभरमा एक सय ४० रनमै अलआउट भयो । भारतले सहजै ४३ रनले बाजी मार्‍यो । 

सन् १९८७ : भारतले आयोजना गरेको विश्वकपमा अस्ट्रेलिया नयाँ विजेता बन्यो । अस्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई सात रनको झिनो अन्तरले निराश पारेको थियो । इर्डन गार्डेन रंगशालामा अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ५३ रन जोड्यो । इंग्ल्यान्डले ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४६ रन बनायो । अस्ट्रेलियाका ओपनर डेभिड बुमले एक सय २५ बलमा ७५ रन जोडेका थिए । अस्ट्रेलियाका एलान बोर्डरले दुई र स्टिभ वाँले दुई विकेट हात पारे । 

सन् १९९२ : साबिक विजेता अस्ट्रेलियाले पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पायो । इमरान खानको कप्तानीमा रहेको पाकिस्तानले विश्वलाई नै स्तब्ध पार्दै च्याम्पियन ट्रफी उचाल्यो । पाकिस्तानमा अलराउन्डर खेलाडीसँगै तीव्र गतिका बलर थिए । फाइनलमा पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ४९ रनको मध्य–योगफल खडा गर्‍यो । इंग्ल्यान्डले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रन बनायो । यस खेलमा इमरान खानले एक सय १० बलमा ७२ रन जोडेका थिए ।  

सन् १९९६ : भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गर्दा नयाँ विजेता निस्कियो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले विश्वकप उचाल्यो । त्यस समयमा श्रीलंकाले ५० ओभरको फर्म्याटलाई परिवर्तन गर्‍यो । सुरुको १५ ओभरको पावर प्लेमा श्रीलंकाली ओपनर सनथ जयसूर्या र कालुविथरानाले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गरे ।  उपाधि भिडन्तमा अस्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रनको मध्यम योगफल खडा गरेको थियो । पाकिस्तानको गद्दाफी रंगशालामा श्रीलंकाले ४६.२ ओभरमा तीन विकेट गुमाएर दुई सय ४५ रन जोड्यो । 

सन् १९९९ : सन् १९८७ पछि इंग्ल्यान्ड विश्वकपको आयोजक बन्यो । आइसिसीले पहिलोपटक विश्वकपमा सुपर सिक्सको अवधारणा यसै संस्करणमा लागू गरेको थियो । बलिङका भरमा पाकिस्तान आठ वर्षपछि विश्वकपको फाइनलमा पुग्यो । फाइनलमा अस्ट्रेलियासँग पाकिस्तानको भेट भयो । वर्षाले बिथोलेको उपाधि भिडन्तमा पाकिस्तानले पहिलो ब्याटिङ गरी ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र झिनो योगफल बनायो । स्ट्रेलियाले २०.१ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ३३ रन बनाउँदै दोस्रोपटक उपाधि जित्यो ।  

सन् २००३ : दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकप आयोजनाको अवसर पाउँदा भारत र अस्ट्रेलियाबीच उपाधि भिडन्त भएको थियो । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी दुई विकेट मात्र गुमाएर तीन सय ५९ रनको विशाल योगफल खडा गर्‍यो । कप्तान रिकी पोन्टिङले एक सय २१ बलमा एक सय ४० रन बनाए । भारतले ३९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो । यस विश्वकपमा पहिलोपटक केन्याले सेमिफाइनल स्थान बनाएको थियो । 

सन् २००७ : वेस्ट इन्डिजले विश्वकप आयोजना गरेको विश्वकपमा अस्ट्रेलियाले उपाधिमाथि ह्याट्रिक नै लगायो । अस्ट्रेलियाले फाइनलमा श्रीलंकालाई डिएल नियमअनुसार ५३ रनले निराश बनायो । अस्ट्रेलियाले ३८ ओभरमा चार विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो । श्रीलंकाले ३६ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १५ रन जोड्यो । खेलमा एडम गिलक्रिस्टले अस्ट्रेलियाका लागि एक सय चार बलमा एक सय ४९ रन बटुले ।  

सन् २०११ : भारतले तेस्रोपटक विश्वकप आयोजना गर्दा उपाधि घरमै राख्यो । भारत दोस्रोपटक विश्वकप विजेता हुँदा श्रीलंकालाई ६ विकेटले परास्त गरेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले वान्खडे रंगशालामा दुई सय ७५ रनको लक्ष्य ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । यसै विश्वकपबाट सचिन तेन्दुलकरले अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । फाइनलमा श्रीलंकाका महेला जयवद्र्धनेले ८८ बलमा एक सय तीन रन बनाएका थिए । उपाधि दिलाउने क्रममा भारतका कप्तान धोनीले ७९ बलमा ९१ रन र गौतम गम्भीरले ९७ रन जोडे । 

सन् २०१५ :  न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा आयोजक राष्ट्र नै फाइनलमा पुगे । न्युजिल्यान्ड ४५ ओभरमा एक सय ८३ रनमै धराशायी भयो । अस्ट्रेलियाले ३३.१ ओभरमा तीन विकेट गुमाएर एक सय ८६ रन बनायो । अस्ट्रेलियाले पाँचौँपटक विश्वकप उचाल्दा डेभिड वार्नरले ४६ रन, स्टिभ स्मिथले ५६ र कप्तान माइकल क्लार्कले ७४ रन बटुले । 

सन् २०१९ : दुई दशकपछि इंल्यान्डले विश्वकप आयोजना गर्‍यो । क्रिकेट जन्म भएको राष्ट्रमा विश्वकप हुँदा इंग्ल्यान्डले पहिलोपटक उपाधि उचाल्यो । उपाधि भिडन्त न्युजिल्यान्ड र इंग्ल्यान्डबीच भएको थियो । न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनायो । इंग्ल्यान्डले पूरै ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ४१ रन बनायो । विश्वकपको इतिहासमा पहिलोपटक फाइनल टाई भयो । सुपर ओभरमा समेत खेल टाई नै भयो । त्यसपछि अम्पायरले सर्वाधिक बाउन्ड्री प्रहार गरेका आधारमा इंग्ल्यान्डलाई च्याम्पियन बनाए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर