नेभिगेसन मेनु

पर्यटनमा भारत–चीनको आडभरोसा खोज्दै पोखरा
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-10-01 15:36

1678016699_Fewa Boat-1200x560

पोखरा — फेवातालमा भएको चिनियाँ पर्व ‘ड्रागन बोट रेस’ कै छेको पारेर भारतीय दूतावासले गत असारमा पोखरामा योग दिवसको कार्यक्रम आयोजना गर्‍यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहरमा उडान भर्ने र मुस्ताङ–चीन जोड्ने कोरोना नाका खोल्ने मुद्दा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा पुगे ।

त्यतिबेलै विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते भारतीय राजदूत नवीन श्रीवास्तव पोखरा निम्त्याइए । कोरोना महामारीले थलिएको पर्यटनलाई उकास्न पोखराको पर्यटनले भारत र चीनको आडभरोसा खोज्दै छ ।

विसं २०२०/२१ मा सुरु भएर ०२९ मा भारतीय सहयोगमा पोखरा–भैरहवा जोड्ने सिद्धार्थ राजमार्ग बनेको थियो । उता चिनियाँ सहयोगमा काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग ०२४ सालमा सुरु भएर ०३१ मा सकियो । यी दुई राजमार्ग पोखराको सुन्दरतालाई फैलाएर पर्यटन प्रवर्द्धनमा कोशेढुंगा साबित भए । पर्यटन बोर्डको तथ्यांकअनुसार यो गत अगस्टमा ६७ हजार १ सय ५३ पर्यटक हवाईमार्गबाट आए ।

तीमध्ये भारतबाट आउने २६ हजार ६ सय ६५ थिए । चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६ सय २९, श्रीलंकाबाट ३ हजार ८ सय ५८, बंगलादेशबाट ३ हजार १ सय ९०, बेलायतबाट २ हजार ७ सय ११, स्पेनबाट १ हजार ५८, जापानबाट १ हजार ५ सय २०, इटलीबाट १ हजार ४ सय ९६ र अस्ट्रेलियाबाट १ हजार ३ सय ४७ पर्यटक नेपाल भित्रिएका छन् । स्थलमार्गबाट भित्रिने पर्यटकको भने तथ्यांक छैन । यद्यपि, स्थलमार्ग हुँदै भारतबाट धरै पर्यटक नेपाल भित्रिइरहेका छन् । उनीहरू धेरैजसो आफ्नै सवारीसाधन लिएर आउँछन् । पछिल्लो समय चीनले नेपाललाई पर्यटकीय गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटकसमेत स्थलमार्गबाट भित्रिइरहेका छन् ।

भारतको गुजरातबाट काठमाडौं हुँदै शुक्रबार ७ सय बढी पर्यटक सडकमार्गबाट पोखरा आए । मुक्तिनाथको धार्मिक यात्रामा निस्किएको नीलकण्ठवर्णी स्मृतियात्राको टोलीमा रहेका भारतीय पर्यटक शनिबार दिनभर पोखरा घुमे । मुक्तिनाथ पुगेर फर्किएपछि यो टोली पुनः पोखरा बस्ने छ । अहिले पोखराका अधिकांश ठूला होटलमा भारतीय र चिनियाँ पर्यटक देखिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘अहिले समूहमा आउने भारतीय पर्यटक धेरै छन्,’ उनले भने, ‘चिनियाँको संख्यामा पनि वृद्धि भएको छ ।’ उनका अनुसार पोखराको अकुपेन्सी हाल ३० प्रतिशत रहेको छ । पर्यटकीय सिजन सुरु भएसँगै ४० हजार बेड रहेको पोखरामा पर्यटकको आगमन भने सन्तोषजनक नभएको उनी बताउँछन् ।

पर्यटनविद् टीकाराम सापकोटाले अहिले महँगो जहाजभाडा, आर्थिक मन्दी लगायतले आफ्नो महादेशभित्रै घुम्ने पर्यटकको संख्या धेरै रहेको बताए । ‘स्पेन र इटलीमा धेरै पर्यटक आएर जनजीवन नै डामाडोल भएपछि २५ प्रतिशत पर्यटक कटौती गर्ने योजना ल्याएका दलले चुनाव जिते,’ उनले भने, ‘हामीले पनि विशाल जनसंख्या भएका दुई मुलुकबाट पर्यटक भित्र्याउने गरी प्रवर्द्धनात्मक कार्यक्रम बनाउनुपर्छ ।’

नेपालमा भने हालसम्मको धेरै पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार भित्रिएका छन् । सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या २ लाख ३० हजार, २०२१ मा १ लाख ६० हजार र २०२२ मा ६ लाख १४ हजार पुगेको देखिन्छ । २०२३ मा हालसम्म ६ लाख १ हजार ३ सय ६० पर्यटक भित्रिइसकेका छन् । झन्डै कोभिड अगाडिकै लयमा पर्यटन फर्किन खोज्दा र उल्लेख्य पर्यटक नेपाल भित्रिँदा पोखरामा भने पर्यटकको आगमन आशातित छैन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी यसअघि अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकका कारण पनि पोखरा भरिभराउ हुने गरेकामा अहिले न्यून संख्यामा मात्रै उपस्थिति रहेको बताउँछन् । ‘अन्नपूर्ण क्षेत्रमा धेरै पदमार्ग मासिएर मोटरबाटो बने,’ उनले भने, ‘अहिले पदयात्री पर्यटक अन्नपूर्ण क्षेत्रबाट मोडिएर मोटरबाटोको पहुँच नभएको खुम्बु क्षेत्रमा धेरै जान थालेका छन् ।’ यस क्षेत्रमा पर्यटक बढाउन वैकल्पिक पदयात्रा मार्गको विकास गर्नुपर्ने र अन्नपूर्णमा जस्तै धौलागिरि संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने उनको सुझाव छ । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ मनाइएको यस वर्षको विश्व पर्यटन दिवस कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गरिदिन भारतीय राजदूत नवीन श्रीवास्तवलाई आग्रह गरे । राजदूतले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे केही बोलेनन् । बरु आफ्ना नागरिक सडकमार्गबाट आफ्नै साधन लिएर आउन रुचाउने भएकोले सडक निर्माणका काम समयमै सक्नुपर्ने सुझाव दिए ।

पोखराका पर्यटकीय संस्थाले भारतका सीमावर्ती सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएका छन् । होटल संघ पोखरा नेपालले उत्तर प्रदेश, विहारका सहरमा ‘चलिए पोखरा’ अभियान चलाउँछ । पोखरा पर्यटन परिषद् र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी सिलिगुडीमा हरेक वर्ष हुने बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागी हुन्छ । पोखरा महानगरले समेत भारतीय सहरमा पर्यटन प्रवर्द्धन गर्न नाट्टा गण्डकीलाई सहयोग गरेको छ । पर्यटनसम्बन्धी संघसंस्थाको नेतृत्व गर्ने संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपैयाँभन्दा बढी भारु बोक्न नपाउने राष्ट्र बैंकको नीतिले पनि पर्यटकले चाहेर पनि खर्च गर्न नसकेको गुनासो अर्थमन्त्री प्रकाशशरण मत केही साताअघि पोखरा आउँदा गरेका थिए । अर्थमन्त्री महतले उक्त नीति छिट्टै परिवर्तन हुने र अन्तरदेशीय भुक्तानीको पनि तयारी भइरहेको सुनाएका थिए । पोखरामा सन् १९७० देखि पर्यटकीय गतिविधि सुरु भएको हो । संख्यात्मक रूपमा सन् १९८० देखि धेरै संख्यामा विदेशी पर्यटक आउन थाले । हालका ७० प्रतिशत पर्यटन व्यवसाय सन् १९९० पछि सुरु भएका हुन् । सन् २०१९ मा ५ लाख विदेशी र ५ लाख आन्तरिक पर्यटक पोखरा भित्रिएको अनुमान छ । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकमध्ये ४० प्रतिशत पोखरा भित्रिने अनुमान गरिन्छ ।

प्रदेश सरकारले गरेको अध्ययनअनुसार गण्डकीमा ७ सय पर्यटकस्तरका होटल, १ सय ५० पर्यटकस्तरका रेस्टुरेन्ट, २ सय ३ ट्राभल एजेन्सी, १ सय ५९ ट्रेकिङ एजेन्सी, ६५ प्याराग्लाइडिङ कम्पनी, ३ अल्ट्रालाइट कम्पनी, १ सय १५ ट्रेकिङ सामग्री पसल, ८७ वटा पर्यटक बस, ३ सय ४१ होमस्टे, ४२ मुद्रा सटही, १२ र्‍याफ्टिङ एजेन्सी, ५ सय २ डुंगा, ७५ गार्मेन्ट पसल, ६३ स्पा, १५ पर्यटक किताब पसल, ३ बन्जी, जिप लाइन, केबल, कार, हट एयर बेलुनलगायत छन् । पर्यटनमा ५ खर्बको लगानी छ ।

आन्तरिक पर्यटकलाई बाटोले सास्ती

दसैंको मौसम सुरु भएपछि लेकसाइड आन्तरिक पर्यटकले खचाखच हुन्थ्यो । विद्यालय, कलेज, आमा समूह, सहकारी, युवा क्लब लगायत विभिन्न संघसंस्थाबाट समूहमा घुम्न आउने आन्तरिक पर्यटकले लेकसाइड भरिभराउ हुन्थ्यो । चाडबाड सुरु भइसक्दा पनि यतिबेला भने आन्तरिक पर्यटकको संख्या निकै न्यून छ । बन्दै गरेको मुग्लिन–पोखरा राजमार्ग विस्तार तथा स्तरोन्नतिकै कारण आन्तरिक पर्यटक नआएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए । ‘काठमाडौं–पोखरा ५ घण्टाको बाटो अहिले १०–१२ घण्टा लाग्छ,’ उनले भने, ‘बाटो बनिरहेको पनि छ तर कामको गति छिटो नहुँदा आन्तरिक पर्यटक आउन मन गरेका छैनन् ।’ एसियाली विकास बैंकको ऋण सहयोगमा चिनियाँ ठेकेदार कम्पनीले दुई खण्डमा बनाइरहेको उक्त बाटो समयमै सक्न संघ, प्रदेश र स्थानीय सरकारले निरन्तर दबाब दिनुपर्ने उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर