खस राजा नागराजको शीतकालीन राजधानीको रूपमा रहेको दुल्लुलाई प्राचीन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्यो । दुल्लु कृतिखम्मस्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्म, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासिक वर्णन कुदिएको छ ।
२०१८ सालदेखि दुल्लु गाउँ पञ्चायतका रूपमा रहन पुग्यो । २०४६ सालको परिवर्तनपछि छ वटा गाउँ विकास समिति (दुल्लु, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) समायोजन गरी विसं २०७१ मा दुल्लु नगरपालिका घोषणा गरिएको थियो । सोही नगरपालिकामा २०७३ सालमा साबिकका गमौडी, कालभैरव, गौरी र मालिका गाउँ विकास समिति समायोजन गरिएको थियो । दुल्लु नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट भरतप्रसाद रिजाल हुनुहुन्छ । ऐतिहासिक दुल्लु नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गर्दै आएको छ । प्रस्तुत छ, नगर प्रमुख भरतप्रसाद रिजालसँग गोरखापत्र देनिकका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :
जनप्रतिनिधिका रूपमा एकवर्षे कार्यकालको अनुभव कस्तो रह्यो ?
जनताका बिचमा सत्ताबाहिर हुँदा गर्ने कुरा सत्तामा हुँदा गर्न सकिने कुरामा केही फरक पार्दो रहेछ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नगरको विकासका लागि सबै दल, नागरिक समाज र सामाजिक संस्थाको सहयोगबिना एक्लो नगर प्रमुखले केही गर्न सक्ने रहेन छ । दुल्लु नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेपाली कांग्रेसबाट निर्वाचित सदस्य बराबर भए पनि दुल्लुको विकासका लागि हामी एकै ठाउँमा छौँ । यो अवधि हामीले निर्विवाद रूपमा २५ वटा कार्यपालिकाका बैठक र तीन वटा नगर सभा गरेका छौँ । नगरवासीका धेरै आवश्यकता छन् तर सीमित स्रोत र साधनका कारण सबै समस्या र आवश्यकता परिपूर्ति गर्न सकेका छैनौँ तर सबै कामलाई पूर्णता दिनका लागि पाइप लाइनमा लिएका छौँ ।
यो अवधिमा नगरपालिकामा के काम गर्नुभयो ?
दुल्लु नगरपालिकाको आन्तरिक आम्दानी छैन । प्रदेश सरकार र सङ्घीय सरकारबाट आएको बजेटबाट पालिका सञ्चालन गर्नुपर्ने अवस्था छ । मुलुकमा देखिएको आर्थिक मन्दीका कारण सङ्घीय र प्रदेश सरकारबाट समेत बजेट घटेर आएपछि भनेजति पूर्वाधार विकासका काम गर्न सकेका छैनाँै । सङ्घीय सरकारले राजस्व बाडफाँडबाट आउनुपर्ने रकम नआएपछि दुल्लु नगरपालिकामा कार्यरत ४६ जना स्थायी कर्मचारीलाई तलब खुवाउन सकेका थिएनौँ । भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता समस्या प्रमुख रूपमा रहेका छन् ।
त्यसमध्ये तल्लोडुङ्गेश्वरदेखि दुल्लु सडक चाँदनीचोक रातिमाटासम्म १७ किलोमिटर सडक बनाएर कालोपत्रे गरेका छौँ । माथिल्लो डुङ्गेश्वर दुल्लु सडक विनायकमा एक किलोमिटर सडक मात्र कालोपत्रे भएको थियो । अहिले ११ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । दुल्लुको प्रमुख बजार केन्द्र चाँदनीचोकको अवस्था नाजुक थियो । हामी निर्वाचित भएर आएपछि त्यसलाई आरसिसी गरेका छौँ ।
पालिकाका १३ वटै वडामा विद्युत् विस्तार गरी विद्युत् बाल्ने लक्ष्य लिएका थियौँ । यसका लागि नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र र दुल्लु नगरपालिकाको साझेदारीमा तीन करोडको काम भइरहेको छ । सङ्घीय सरकारबाट पाँच करोडको ठेक्का भएको छ तर खरिद पद्धतिका कारण ठेकेदारले नै काम ढिलो गरिदिने समस्याले यो वर्ष विद्युतीकरणको काम सम्पन्न गर्न सकेनौँ । आगामी वर्षमा दुल्लुका प्रत्येक नागरिकको घरमा विद्युत् बाल्ने छौँ ।
दुल्लु नगरपालिकाको ८० प्रतिशत भूभाग गुठीका नाममा दर्ता छ । त्यसको समस्या समाधान गर्न के पहल गर्नुभएको छ ?
दुल्लु नगरपालिकाका ८० प्रतिशतभन्दा बढी जग्गा गुठीमा छ । हामीले गुठीमा रहेको जग्गालाई रैकरमा परिणत कसरी गर्न सकिन्छ भनेर गुठी संस्थानका केन्द्रीय अध्यक्ष ल्याएर दुल्लुमा कार्यव्रmम ग¥यौँ । त्यसले दुई वटा समस्या समाधान ग¥यो । गुठीको जग्गामा बनेका घरले विद्युत्का मिटर नपाउने अवस्थाको अन्त्य भयो । हामीले गुठीको जग्गामा घर भएकाले १० हजार धरौटी राख्नुपर्ने अवस्था थियो । त्यसलाई हामीले रैकर सरह कर बुझाएर विद्युत्का मिटर पाउने व्यवस्था भयो । अर्को, जग्गा जति गुठीमा भएका कारण जनताले हामीले
बैङ्कबाट ऋण लिनसमेत समस्या भएको देखेपछि गुठी संस्थानले नै राष्ट्र बैङ्कलाई पत्राचार गरेको र त्यसको बोधार्थसमेत दुल्लु नगरपालिकाले प्राप्त गरेको छ । गुठीका अन्य समस्या समाधान गर्ने पहल गरिरहेका छौँ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि के कस्ता प्रयास गर्नुभएको छ ?
दुल्लु अस्पतालमा सुत्केरी हुन नसकेका महिलालाई बाह्य जिल्लामा लैजाँदा लाग्ने एम्बुलेन्सको भाडा दिने व्यवस्था मिलाएका छौँ । दुल्लु अस्पतालमा एमडिजिडिपी डाक्टरको व्यवस्था गरेका छौँ । अब कुनै पनि गर्भवती महिलाले बच्चा जन्माउन नसकेकै कारण मृत्युवरण गर्नुपर्ने अवस्था छैन । दुल्लु अस्पतालमै १४ जनाको सिएस र २५ वटा अन्य साना अप्रेसन गरेका छौँ । त्योसँगै दीर्घ रोगी भएका नागरिकलाई समेत निःशुल्क औषधीको व्यवस्थासमेत गरेका छौँ ।
खस राजा नागराजको शीतकालीन क्षेत्र हो, दुल्लु । यहाँको विकास र पर्यटन प्रवर्धन गर्न के के काम भएको छ ?
दुल्लु नगरपालिका ऐतिहासिक पुराताìिवक, धार्मिक हिसाबले अत्यन्तै महìवपूर्ण क्षेत्र हो । यहाँको पञ्चकोशी क्षेत्र (शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वर) मध्ये धुलेश्वर र पादुका यस नगरपालिकामा पर्छन् । शिरस्थान र नाभिस्थान भूगोलले जोडिए पनि भैरवी गाउँपालिकामा पर्छन् । यहाँ अन्य विभिन्न जातजातिको उद्गम थलो भएका कारण पनि महìवपूर्ण छ । त्यस्तै मालिका मन्दिरलगायतका महìवपूर्ण धार्मिक क्षेत्र छन् ।
हाम्रो प्रमुख पर्यटन पूर्वाधार पञ्चकोशी पूर्वाधार हो । पञ्चकोशी क्षेत्र धार्मिक क्षेत्र हो । यसको संरक्षणका लागि हामीले पहल गरेर सङ्घीय सरकारले पञ्चकोशी विकास बजेटसमेत विनियोजन गरेको छ । त्यस्तै प्रदेश सरकारले पनि पञ्चकोशी पर्यटन पूर्वाधार विकास बजेट विनियोजन गरेको छ । पर्यटनका क्षेत्रमा दुल्लुमा रहेको शीतकालीन दुल्लु दरबार, दामुपालको पालामा निर्माण भएको पाथ्थर नाउली कुवा, मालिका मन्दिर र दुल्लुमा निर्माण गरिएको साहित्यिक उद्यान निर्माणलगायत काम पर्यटनका क्षेत्रमा गरेका छौँ ।
नगरपालिकाको ठुलो बजेट शिक्षा क्षेत्रमा खर्च भइरहेको छ तर शिक्षाको गुणस्तर सुधार हुन सकेन । शिक्षा सुधारका योजना पनि छन् कि ?
पञ्चकोशी बहुप्राविधिक शिक्षालयमा चार वटा विषय सञ्चालन गरेका छौँ । अहिले स्वास्थ्यसम्बन्धी थप विषय ल्याउने तयारी गरेका छौँ । इन्जिनियरिङ क्याम्पसको भवन बहुवर्षीय ठेक्का लागेर निर्माण कार्य हुँदै छ ।
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने भनिए पनि ऐन, कानुन बन्न सकेको छैन । नगरपालिकाले चाहेर पनि शिक्षकको बढुवा, दण्ड–जरिबाना, पुरस्कार दिन सक्ने अधिकार छैन । साँच्चै भन्ने हो भने स्थानीय सरकार तलब बाँड्ने अड्डा जस्तो मात्र भएको छ । दुल्लु नगरपालिकामा निजी स्रोतबाट राखिएका शिक्षकलाई हामीले हटाएका छौँ ।