नेभिगेसन मेनु

राष्ट्रसङ्घीय खाद्य सुरक्षा कार्यक्रम र रोम यात्रा
सम्पादक:南亚网络电视
समय:2023-07-28 15:49

ण

काठमाडौं, साउन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिन लामो इटली भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुभएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणको विषयमा जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलन र इटलीको चार दिनलामो बसाइँ फलदायी भएको उहाँको निष्कर्ष छ ।

संयुक्त राष्ट्रसङ्घ, इटली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा सहभागी हुँदा र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाट फलदायी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री निर्वाचित भएपछि भारतको औपचारिक भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड इटाली पुग्नुभएको हो । उहाँले इटालीको राजधानी रोममा साउन ८ गतेदेखि १० गतेसम्म आयोजना भएको राष्ट्रसङ्घीय खाद्य प्रणालीको सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । साथै उहाँले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, बङ्गलादेशका प्रधानमन्त्रीसहित सम्मेलनमा सहभागी हुन पुगेका विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, प्रधानमन्त्रीकी स्वकीय सचिव गङ्गा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतसहित नेपाल सरकार र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो ।

१ रोममा प्रधानमन्त्रीको स्वागत

प्रधानमन्त्री ‘प्रचण्ड’ स्थानीय समय अनुसार आइतबार बिहान ७ः३० बजे इटालीको रोम पुग्नुभयो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने  ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन रोम पुग्नुहुँदा रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारी लगायतले स्वागत गर्नुभएको हो । 

२ रोमबाट चिनियाँ नेता जियाजुनसँग भर्चुअल संवाद

रोम पुगेकै दिन प्रधानमन्त्री प्रचण्डलेसँग नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका नेता युआन जियाजुनसँग भर्चुअल संवाद गर्नुभयो । पूर्व निर्धारित कार्यक्रम अनुसार आफू रोम पुग्दा नेपाल आइपुग्नुभएका नेता जियाजुनसँग उहाँले आइतबार दिउँसो (भदौ ७ गते) भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको हो । कुराकानीमा दुई देशको आपसी हितका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ ।

३ राष्ट्रसङ्घीय खाद्य सम्मेलनलाई सम्बोधन

प्रधानमन्त्रीको इटली भ्रमणको प्रमुख कार्यक्रम खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन हो ।

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभयो । ‘‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘परिणामस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधार जस्ता फाइदा देखापरेका छन् ।’’

उहाँले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनमा सम्बोधन गर्नुभएको हो । सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रुपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चितता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधीकरणमा जोड दिएको बताउनुभयो ।

४ राष्ट्रसङ्घका महासचिवसँग भेट

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेट गर्नुभएको हो । भेटमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको छ ।

५ नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट

प्रधानमन्त्री प्रचण्डले युरोपमा रहेका नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट गर्नुभएको छ । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग भेट गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीका समस्या समाधान गर्न आफू लागि पर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो ।

६ बङ्गलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भेट गर्नुभएको छ । भेटमा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो । भेटमा कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा  महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बङ्गलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।

बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही हत्त्वपूर्ण जलविद्युत् आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत् व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण बनेको छ ।

७ इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखसँग भेट

प्रधानमन्त्री प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ । भेटमा आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समीक्षा, आइएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा छलफल भएको छ । नेपालको कृषि क्षेत्रमा आइएफएडीले विभिन्न परियोजना सञ्चालित छन् । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

८ विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकसँग भेट

प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा मङ्गलबार भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको छ । विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

९ एनआरएन इटलीको कार्यक्रमलाई सम्बोधन

प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको हो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको उहाँले बताउनुभएको छ ।

१० ‘खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ’

प्रधानमन्त्री प्रचण्डले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढवा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उहाँले बताउनुभयो । खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराउनुभयो । स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्त्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ ।

स्थानीय र परम्परागत खाद्य प्रणालीको पुनरुत्थान गर्नु आफूहरूको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले कोदो जस्ता बालीमा लगानीका अलावा चासोसमेत बढेको स्पष्ट पार्नुभयो । अल्पविकसित देशले पर्याप्त भण्डारणको अभाव, बजार, शीत भण्डारण, न्यून यान्त्रिकीकरण, उच्च उत्पादन लागत, कमजोर बजार पहुँच र असमान वितरण प्रणाली जस्ता समस्या भोग्नुपरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

११ स्टुडियो ओलम्पिकको अवलोकन

प्रचण्डले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो । ७० हजार दर्शक अट्ने रङ्गशालामा खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्षको प्रधानमन्त्री प्रचण्डले अवलोकन गर्नुभएको थियो ।

उहाँले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गर्नुभयो । प्रधानमन्त्री प्रचण्डलाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।

उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

शुक्रबार स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । शुक्रबार बिहान १० बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुनुभएको हो ।  उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्रीको यो भ्रमणलााई महत्त्वका साथ हेरिएको छ । स्रोत : प्रधानमन्त्रीको निजी सचिवालय

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर