नेभिगेसन मेनु

मनाराशिसवा नगरपालिकामा वृहत योग शिविर
सम्पादक:南亚网络电视
समय:2023-06-20 17:11

0

बर्दिबास, असार ५ गते । विश्व योग दिवसको अवसरमा मनराशिसवा नगरपालिकाले भोलि वृहत् योग शिविर आयोजना गर्ने भएको छ । विद्यालय तहमा योग र संस्कृत शिक्षालाई अनिवार्य गरेर चर्चामा आएको मनराशिसवाले स्थानीय दुर्गा माविको प्राङ्गणमा नवौँ विश्व योग दिवस मनाउने तयारी गरेको हो । 

नगर प्रमुख मोहन पाण्डेले ‘वन वर्ल्ड वन हेल्थ’ भन्ने मूल नाराकासाथ नवौँ विश्व योग दिवसको अवसरमा वृहत् र विशेष योग शिविरको तयारी गरिएको जानकारी दिनुभयो । यस अवसरमा शिक्षक विद्यार्थी, राजनीतिकर्मी, नगर कार्यापालिकाका पदाधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज तथा योग प्रेमीसमेत योग शिविरमा तीन हजार बढीको सहभागिता हुने नगर प्रशासनले जनाएको छ।

मनराशिसवा नगरपालिकाका विद्यालयमा विगत एक वर्षदेखि प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म नियमित योग अभ्यास हुँदै आएको छ । नियमित अभ्यासको समापनपछि नवौँ विश्व योग दिवसको उद्घाटन गरिने नगरपालिकाको तालिका छ । करिब तीन घण्टा लामो योग कार्यक्रमलाई अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार तीन चरणमा विभाजन गरिएको छ । योग दिवस वर्षकै सबैभन्दा लामो दिन जुन महिनाको २१ तारिखमा मनाइन्छ । यसैको आभास गराउन सहभागीलाई पहिलो चरणमा २१ आसनको अभ्यास गराइने तालिका मिलाइएको छ । दोस्रो चरणमा पाँच सक्षम व्यायाम  र अन्त्यमा पाँच प्रकारका प्रणायामको अभ्यास गराइने नगर प्रमुख पाण्डले जनाउनुभयो ।  

करिब तीन घण्टा लामो योग शिविरमा कपालभाती, अनुलोम विलोम, भ्रामरी, शीतलीलगाएतका अभ्यासका साथै त्रिकोणासन, ताडासन, भद्रासन, वज्रासन लगायतका जीवनोपयोगी आसनको प्रशिक्षणका साथै भावपूर्ण प्रार्थनाको समेत अभ्यास गराइने नगर प्रमुख पाण्डेले जनाउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार यसका लागि काठमाडौं र बुटवलबाट आउनुभएका दुई जना योग गुरुले यसको अभ्यास गराउनुहुने भएकाले यसप्रति सर्वसाधारणको उत्सुकता र आकर्षण बढेको बताउनुभयो ।

नगर प्रमुख मोहन पाण्डेकाअनुसार योग गुरुले आसन र प्राणायामको परिचय, त्यसबाट हुने फाइदा र अभ्यासका तरिकाबारे प्रयोगात्मक ढङ्गले प्रशिक्षण दिनुहुने भएकोले पहिलोपटक हुन लागेको वृहत् योग शिविरमा सबैको सहभागिताका लागि आग्रह गर्नुभयो । 

“शरीर, मन, बुद्धि र आत्मशुद्धिका लागि अपरिहार्य मानिएको योगाभ्यासलाई जनस्तरसम्म फैलाउने उद्देश्यले मनराशिसवा नगरपालिकाले निःशुल्क योग शिविर आयोजन गर्न लागेको हो,” नगर प्रमुख पाण्डले भन्नुभयो, “यसका लागि सबैको साथ, सहयोग र शुभेच्छा र सहभागिताका लागि आग्रह गर्दछु ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर