
बागलुङ, फागुन २८ गते । चैतदेशैं मेला नजिकिँदै गएपछि कालिका भगवती मन्दिर परिसरमा भक्तजनको चहलपहल बढ्न थालेको छ । आगामी चैत १० देखि १४ गतेसम्म कालिका परिसरमा जिल्लाको ऐतिहासिक चैतेदशैं मेलाको आयोजना गरिएको छ ।
चैतेदशैंमा विशेष गरी मौलीक कला र संस्कृतिको पहिचान बढाउने, लोकदोहोरी गीत र खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताले धेरैको मन तान्ने गर्छ । मौलीक र परम्परागत रुपमा चल्दै आएको मेलालाई बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले सफल बनाउन सबै क्षेत्रको सहकार्य खोजी गरेको छ ।
‘‘यो पटकको मेलाले बागलुङमा पर्यटन प्रवर्धनको पहल गर्दैछौं’ गुठीका अध्यक्ष भुपेन्द्र खड्काले भन्नुभयो, ‘‘मौलीक कला र संस्कृतिसँगै जिल्लाबासीले अपनत्व लिने बनाउँछौं ।’’ त्यसका लागि मौलीक कला संस्कृतिलाई प्राथमिकता दिएर मेलामा प्रस्तुत गरिने छ ।
त्यसबाहेक दुई लाख पुरस्कार राशीको खुला लोकदोहोरी गीत प्रतियोगिता आयोजना हुनेछ । खेलकुदतर्फ ‘कालीका कप’ खुला पुरुष तथा महिला भलिबल आयोजना गरिएको छ । प्रथम हुनेले तीन लाख पुरस्कार पाउने छ । विभागीय टिमदेखि विभिन्न स्थानका चर्चित क्लबहरुले सम्पर्क गरिरहेको खेलकुद समितिका संयोजक किशोर छन्त्यालले बताउनुभयो ।
चैतेदशैंको पहिचान बोकेको छेलो प्रतियोगिता, रमाइलो मेला र बालउद्यान समेत आयोजना गरिएको छ । अघिल्ला वर्षझै यो वर्ष औपचारिक कार्यक्रम र भाषण राखिने छैन । यसले दर्शक, भक्तजनलाई रमाइलोमा लाग्ने समय पर्याप्त हुने अध्यक्ष खड्काले बताउनुभयो । ‘‘होटलहरु भरिभराउ बनाउने र ग्रामीण क्षेत्रका उत्पादनले पर्याप्त बजार पाउने व्यवस्था गरिन्छ’’ उहाँले भन्नुभयो, ‘‘मेला नाफामुखी होइन, कला र संस्कृति जोगाउने हो ।’’
विसं १५०० देखिनै कालीकामा चैतेदशैँको अवसरमा चैत्राष्टमी मेला लाग्दै आएको किंवदन्ती छ । पछिल्लो समय भने गुठीले व्यवस्थापकीय काम गर्दै आएको छ । मेलामा आयोजकले झण्डै ५५ लाख रुपियाँ खर्च गर्ने लक्ष्य पनि राखेको छ । त्यसका लागि केही दातृ संस्थाको खोजी गरिएको छ भने केही अन्तरिक श्रोतबाट पनि खर्च गरिनेछ ।
मेलामा तस्विरसँगै जिल्लाको मौलीक कला र संस्कृति झल्कने डकुमेन्ट्रीहरु समेत प्रद्र्दशन गरिने छ । कालीका मन्दिरमा आउने भक्तजनले पूजा गर्न सहज बनाउने, पुजा सामाग्रीहरु सहज र सुलभ बनाउने लक्ष्य छ । त्यसका लागि गुठी व्यवस्थापन समितिले आन्तरिक गृहकार्य गरिरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।





