
काठमाडौँ, फागुन २९ गते । खाडी क्षेत्रको हालको परिस्थितिले प्रभावित भई दुबईमा अलपत्र परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता गराउन हिमालय एयरलाइन्सले हालसम्म पाँचवटा विशेष उडान सञ्चालन गरेका छन्। एयरलाइन्सले ८ मार्च २०२६ देखि काठमाडौँ–दुबई–काठमाडौँ रुटमा यी उडानहरू सञ्चालन गर्दै आएको हो।
नेपाल सरकार र सम्बन्धित निकायहरूसँगको समन्वयमा सञ्चालित यी विशेष उडानहरूमार्फत हालसम्म ७६५ नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गराइएको छ। नियमित उडानहरू प्रभावित हुँदा यात्रा गर्न नसकेका नेपालीहरूका लागि हिमालय एयरलाइन्सको विशेष उडानले धेरै राहत प्रधान गरेको छ।
यस अवधिमा एयरलाइन्सले दुबईका लागि दैनिक एक नियमित उडान समेत सञ्चालन गरिरहेको जनाएको छ। चुनौतीपूर्ण यस परिस्थितिमा नेपाली नागरिकलाई सहयोग पुर्याउन प्रतिबद्ध रहेको एयरलाइन्सले विमानस्थल प्राधिकरण, कूटनीतिक नियोग तथा अन्य सरोकारवालासँग समन्वय गर्दै यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गरिरहेको छ।
हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सन् २०१४ मा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो। यसले नेपाल र विभिन्न देशबीच जनस्तरको सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याइरहेको छ।
हिमालय एयरलाइन्स दक्षिण एसियाकै अग्रणी एयरलाइन्स मध्ये एकका रूपमा स्थापित छ। यसले सन् २०१७ मा ‘साउथ एसियन ट्राभल अवार्ड्स’ मा उत्कृष्ट नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सको अवार्ड हासिल गरेको थियो। यसैगरी, सन् २०२० र २०२१ मा आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गर्दै गुणस्तरीय सेवा र प्राविधिक उत्कृष्टता कायम राखेको छ। यसले सन् २०२१ देखि आफ्ना जहाजमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एईडी) समेत जडान गरेको छ।





