नेभिगेसन मेनु

वन्यजन्तुको संरक्षणमा जुट्दै स्थानीय
सम्पादक:南亚网络电视
समय:2023-05-04 13:23

Untitled-1

भरतपुर महानगरपालिका–१३, गङ्गानगरका ५१ वर्षीय  शुकदेव न्यौपाने अहिले वन र वन्यजन्तुको संरक्षणमा क्रियाशील हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वेलसहर मध्यवर्ती सामुदायिक वनमा वनरक्षक रहेका न्यौपाने बाघ, गैँडा, भालुजस्ता जनावरको संरक्षणमा हरदिन जुटिरहनुभएको छ। 

“बाघ, भालु, गैँडाजस्ता जनावर नेपालकै गहना हुन्। यिनलाई बचाउनुपर्छ, वन्यजन्तु हाम्रा सम्पत्ति हुन्। जङ्गली जनावरले खेतीबालीमा नोक्सानी गर्दा पीडा त हुन्छ तर यिनको संरक्षण गर्न जरुरी छ,” उहाँले भन्नुभयो। कुनै बेला निकुञ्जबाट मानव बस्तीमा निस्किएको बँदेल मारेर मासु खाने प्रयास गर्दा उल्टै बँदेलकै आक्रमणमा परी घाइते भएका न्यौपाने पछि बँदेललगायत जङ्गली जनावरकै संरक्षणमा जुट्नुभएको हो। बँदेलको आक्रमणले उहाँले एउटा हात पनि गुमाउनु परेको छ। 

यसैगरी भरतपुर–१३, बाघचोकका बलभद्र पौडेललाई पनि भालुले घाइते बनायो। अहिले ८३ वर्ष पुगेका उहाँको आँखामुनि, टाउको र गालामा खत अझै देखिन्छ। 

“हामी जङ्गलको छेउमा बस्छौँ। गाईभैँसी पाल्ने भएपछि घाँस दाउरा त जङ्गलबाट ल्याउनु परिहाल्यो। एक दिन जङ्गलबाट घाँस बोकेर आउँदै गर्दा पछाडिबाट भालुले आक्रमण गरेर घाइते बनायो। त्यो अज्ञानी थियो, मान्छेलाई हान्यो। हामी ज्ञानी छौँ, ऊजस्ता जनावरलाई पनि माया गर्नुपर्छ,” पौडेलले भन्नुभयो। गाउँमा पौडेलका दौँतरी भेट्न गाह्रो छ तर उहाँ अहिले पनि गाउँटोल, छिमेकी जम्मा गर्दै बाघ, गैँडाजस्ता जङ्गली जनावरको संरक्षणमा जुट्न उत्प्रेरणा जगाउनुहुन्छ।  शुकदेव र बलभद्र त प्रनितिधि पात्र हुन्; जो अहिले पनि चितवन राष्ट्रिय निकुञ्ज वरपर बसोबास गर्दै जङ्गली जनावरको संरक्षणमा जुटेका छन्। 

९३२ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग किलोमिटरमा फैलिएको मध्यवर्ती वन क्षेत्र वरपर २४ वर्षको अवधिमा वन्यजन्तुले २४० जनाको ज्यान लिएको छ। घाँस दाउराका लागि निकुञ्जकै वनमा भर पर्नुपर्ने तर वन जाँदा जङ्गली जनावरले आक्रमण गर्ने र ज्यानसमेत लिने गरेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले २०५४/५५ देखि २०७८/७९ सम्म  वन्यजन्तुबाट २४० जनाको मृत्यु र ८०७ जना घाइते भएका छन्। यसैगरी दुई हजार ७४२ पशुधन, ४८९ घरगोठ, २२२ क्विन्टल भण्डारण गरिएको अन्न र तीन हजार ४८४ बिघा जमिनमा कृषि बालीमा क्षति पु-याएको जानकारी उहाँले दिनुभयो। चालु आर्थिक वर्षको चैतसम्ममा जङ्गली जनावरबाट नौ जनाको मृत्यु भएको छ। 

पाँच वर्षमा ३० बाघ र २२० गैँडा मरे 

निकुञ्जको तथ्याङ्कअनुसार विगत पाँच वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज  र यस वरपर रहेका मध्यवर्ती वन क्षेत्रमा ३० वटा बाघ र २२० वटा गैँडा मरेका छन्। आव २०७२/७३ देखि २०७८/७९ सम्म मरेका गैँडामध्ये आठवटा चोरी सिकारीले, आठ विद्युतीय धरापमा परेर, पाँचवटा विष खाएर र अन्य कालगतिले मरेका हुन्। आव २०७९/८० को चैत मसान्तसम्म भने ९६ वन्यजन्तु मरे र ९६ कै उद्धार गरिएको निकुञ्जमा तथ्याङ्क छ।

जङ्गली जनावरले मान्छे मार्ने र मान्छेले जनावर मार्ने यो तथ्याङ्कले वन्यजन्तु–मानिसबीच द्वन्द्व बढेको देखाउँछ। द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले आम्दानीको झन्डै आधा बजेट स्थानीयको विकास निर्माण, आय आर्जन र सीपमूलक क्षमता अभिवृद्धिमा खर्चिनुका साथै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ। 

राहतमा साढे १४ करोड खर्च

चौबीस वर्षकै अवधिमा चितवन राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा एक अर्ब १२ करोड रुपियाँभन्दा बढीको विकास खर्च भएको छ भने साढे १४ करोड रुपियाँ त वन्यजन्तुबाट पीडित भएकाले राहत/क्षतिपूर्ति पाएका छन्। 

निकुञ्जको तथ्याङ्कअनुसार आव २०५४/५५ देखि २०७८/७९ सम्म वन्यजन्तुबाट भएको क्षतिको १४ करोड ५३ लाख ५२ हजार ९०२ रुपियाँ क्षतिपूर्ति वितरण भइसकेको छ भने एक अर्ब १२ करोड २० लाख ७३ हजार ८८४ रुपियाँ विकास निर्माण एवं पूर्वाधार विकासमा खर्च भएको छ। यसरी खर्च भएको रकममध्ये संरक्षणमा ३० प्रतिशत, सडक, विद्यालय, मठमन्दिर निर्माणजस्ता सामाजिक विकासमा ३० प्रतिशत, आयआर्जन तथा सीप विकासमा २० प्रतिशत, संरक्षण शिक्षामा १० प्रतिशत र प्रशासनिक खर्चमा १० प्रतिशत बजेट खर्च गरिएको छ। 

वन्यजन्तु–मानिस द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। यसकै फलस्वरूप मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तु संरक्षणमा जुटेका छन्। सूचना अधिकारी तिवारीले भन्नुभयो, “जनतामा अहिले वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने भावना विकास भएको छ। निकुञ्जले पनि संरक्षणसँगै स्थानीयको विकास निर्माणमा टेवा दिएको छ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर