नेभिगेसन मेनु

यी विद्रोही महिलाहरू
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:32

thumb (2)

एक अन्तरजातीय दम्पतीको निःसन्तानपन ! गाउँबाट भागेर काठमाडौं आइपुग्दा सहेका विभेदका चरम रूप ! जीवन संघर्षलाई जित्ने प्रेमिल साथ ! सरल कथावाचन र त्यसले उठाउन खोजेको विषयवस्तुले ‘प्रसाद’ मौलिक थियो । तर, फिल्मले निर्माण गर्न खोजेको भाष्यमा दिनेश राउत निर्देशित ‘प्रसाद’ चुक्यो । फिल्ममा बलात्कारबाट जन्मिएको सन्तानलाई ‘प्रसाद’ का रूपमा स्वीकार गरिएको छ ।

महिलाको गर्भलाई मन्दिरको बिम्ब बनाउँदै बलात्कारजस्तो जघन्य अपराधलाई सहजै स्वीकार गरिएको कथाले ‘प्रसाद–२’ को मौलिकपन संकटमा पर्‍यो । तर, ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद– २’ मा भने यो भाष्यलाई घुमाउरो शैलीमा सच्याउने कोसिस गरिएको छ । हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा बाबुराम (विपिन कार्की) र नारायणी (केकी अधिकारी) ले बलात्कार, विभेद अनि दमनविरुद्ध आवाज उठाएका छन् । ‘प्रसाद’ को पुरानै भाष्यमा अल्झिएको छैन फिल्म, तर चलाखीपूर्ण ढंगले त्यसलाई भत्काउने प्रयास भने छ । फिल्मको एक दृश्यमा रमेश (अर्पण थापा) ले फेरि नारायणीलाई बलात्कार गर्न खोज्छ । नारायणी बचाउमा लागिरहन्छिन् । रमेशलाई छप्काउन खुकुरी लिएर बाबुराम उसको पछि दौडिन्छ । त्यतिबेला नारायणी बोल्छिन्, ‘यसलाई मार्नैपर्छ !’ बलात्कारीविरुद्धको सशक्त कदमलाई फिल्मको समाप्ति (रेजुलेसन) मा पनि प्रस्तुत गरिएको छ ।

१२ वर्षपछि बाबुराम र नारायणी गाउँ (सुन्दरबस्ती) फर्किएको दृश्यबाट सुरु हुन्छ, ‘प्रसाद २’ । गाउँ छोड्दा उनीहरू दुई जना मात्रै थिए, फर्कंदा साथमा छ– छोरा प्रसाद (९ वर्ष) । सुन्दरबस्तीलाई छुवाछूतमुक्त घोषणा गरे पनि गाउँमा विभेद छँदै छ । पँधेरामा नारायणीले विभेद सहन्छे । बुधे

(कमलमणि नेपाल) लाई काजीकै घरमा विभेद हुन्छ । बाबुराम त्यही विभेद हटाउन चुनावमा उठ्ने निर्णयमा पुग्छ । ‘सत्ताले शक्ति दिन्छ अनि त्यही शक्तिले न्याय मिल्छ’ भन्नेमा ऊ विश्वस्त छ । त्यसैले काजीका छोरा अजय (महेश त्रिपाठी) अर्थात् जेठानसँग चुनावमा भिड्ने तयारी थाल्छ । चुनावको गर्मागर्मीबीच रमेश (पहिलो संस्करणमा नारायणीलाई बलात्कार गर्ने पात्र) गाउँ फर्किन्छ । रमेशको गाउँ–प्रवेशसँगै बाबुराम र नारायणीको जिन्दगीमा आउने आरोह–अवरोह, उनीहरूले गर्ने संघर्षको कथा हो– प्रसाद–२ ।

सिक्वेलका हिसाबले हेर्दा ‘प्रसाद–२’ त्यहींबाट सुरु हुन्छ, जहाँ पहिलो संस्करण ‘प्रसाद’ को अन्त्य भएको थियो । यस अर्थमा लेखक सुशील पौडेलले सार्थक सिक्वेल लेखेका छन् । अन्तरजातीय प्रेम, विभेदविरुद्धको आवाज अनि परम्परागत राजनीतिमाथिको व्यंग्य छ फिल्ममा । ‘प्रसाद–२’ ले धर्मको आडमा हुने जातीय विभेद, अन्तरजातीय प्रेमले जात व्यवस्थामा ल्याउने परिवर्तन अनि वैदेशिक रोजगारीका नाममा हुँदै आइरहेको ठगीका विविध प्रसंगलाई छोएको छ । तर, प्रस्तुतीकरण फितलो हुँदा फिल्मको समग्र उद्देश्य र पात्रहरूको लक्ष्यमा दर्शक बाँधिन पाउँदैनन् ।

सिक्वेल फिल्ममा पात्रको स्थापनामा खासै समय खर्चिनु पर्दैन । उनीहरूको अनुहारलाई दर्शकले चिनिसकेका हुन्छन् । तर, यस्तो अवस्थामा पात्रको लक्ष्य–प्राप्ति र भावनामा दर्शकलाई डोर्‍याउनु चुनौतीपूर्ण हुन्छ । निर्देशक सुदर्शन थापा दृश्यमार्फत फिल्ममा दर्शकलाई बाँध्न चुकेका छन् । फिल्मको एक दृश्यमा प्रसाद हजुरबुबाको ढोका ढकढक्याइरहन्छ । तर, हजुरबुबा ढोका खोल्दैनन् । त्यसपछि रुँदै ढोका ढकढक्याउन थाल्छ । क्यामेराले उसको बलिन्द्र आँसु खिचिरहन्छ । हजुरबुवाले नातिलाई अचानक त्यसरी रुवाउने गरी किन बेवास्ता गर्छन्, ९ वर्षको प्रसादलाई के कुराले भक्कानिने गरी रुवायो ती कुरालाई दृश्यमा मज्जाले स्थापित गर्न नसक्दा जबर्जस्ती भावना घुसाउन खोजिएको लाग्छ । गाउँ भेलामा भएको असरले यी दुईको सम्बन्धमा यस्तो आयाम देखिएको भन्नेमा दर्शकले विश्वास गरिदिनुपर्ने हुन्छ । तर, दृश्यमार्फत दर्शकमा त्यो कुराको आभास/महसुस गराइँदैन । दृश्यलाई विश्वासिलो ढंगले स्थापना गर्न नसक्दा भावनाका थुप्रै पक्ष अति रञ्जित लाग्छन् । त्यसैले पर्दामा नारायणीको आँसु झरिरहादा दर्शकको मन चसक्क पनि दुख्दैन ।

फिल्ममा अर्को एउटा दृश्य छ, जहाँ बुनु (अपांग पात्र) की आमा अचानक बलात्कारविरुद्ध आवाज उठाइरहेकी देखिन्छिन् । छोरीमाथि दुर्व्यवहार हुँदा चुइँक्क बोल्न नसक्ने आमाले ठुल्ठूला कुरा गरेको उक्त दृश्य क्लिसे लाग्छ । त्यही समय बुधे र नारायणीमा आएको परिवर्तनलाई पनि विश्वासिलो ढंगमा प्रस्तुत गर्न सकिएको छैन । नारायणीले बाबुराममाथि सहजै शंका गर्ने दृश्यमा पनि यो समस्या छ । फिल्मका कति दृश्य त सहजै अनुमान गर्न सकिने किसिमका छन् । बिर्खे र बुनुको उपकथाले मूल कथालाई खासै प्रभाव पारेको देखिँदैन । उनीहरूको दृश्य फिल्मबाट हटाइएको भए पनि कथा सलल बग्ने थियो ।

यो फिल्मको सबैभन्दा राम्रो पक्ष चोटिला संवाद हुन् । फिल्ममा बाग्लुङको लवज समातेर छोटा अनि छरिता संवाद लेखिएका छन् । ‘का’ लवजको मिठास अनि सौन्दर्यले कथावाचनमा मद्दत पुर्‍याएको छ । अभिनेता विपिन र महेशले यो लवजलाई मज्जैले पक्रेका छन् । विपिनले यो लवजलाई डायलग डेलिभरीमा गजबसँग प्रस्तुत गरिदिएका छन् । फिल्ममा प्रयोग भएको पार्श्व संगीतले कथावाचनमा खासै टेवा पुर्‍याएको छैन । पार्श्व संगीतमा अझै मिहिनेत गरिएको भए कथाको भावमा दर्शक जोडिने थिए । अभिनेता विपिन कार्कीले बाबुरामको विद्रोह, निर्दोषपना अनि दृढतालाई अभिनयमार्फत सुन्दर ढंगले पस्केका छन् । अजयको भूमिकामा महेश त्रिपाठीले अब्बल अभिनय गरेका छन् । अभिनेत्री केकी अधिकारीले पुरानो फिल्मकी नारायणीलाई बिर्साइदिने अभिनय गरेकी छन् । यसअघि नारायणीको भूमिकामा नम्रता श्रेष्ठ थिइन् । कलाकार परिवर्तन भएपछि नारायणीको भूमिकामा नयाँ अनुहार फिट होलिन् ? यो प्रश्न कायमै थियो । तर, केकीले आफ्नो अभिनयकलाले त्यस पात्रको मर्मलाई सुन्दर प्रस्तुत गरिदिएकी छन् । अर्पण थापाले रमेशको भूमिकामा गरेको अभिनय बेजोड छ ।

महिला चरित्र चित्रणमा अधिकांश नेपाली फिल्म चुकिरहेका हुन्छन् । तर, यो फिल्ममा अधिकांश महिलालाई विद्रोही देखाइएको छ । सीता, बुनुकी आमा त्यसका उदाहरण हुन् । नारायणीलाई पनि विद्रोही देखाउने प्रयास गरिएको छ । बुनुमाथि दुर्व्यवहार हुँदा उनी आमालाई प्रहरी चौकीसम्म डोर्‍याएर लैजान्छिन् । विभेदविरुद्ध प्रस्ट धारणा राख्छिन् । आफूमाथि भएको बलात्कारलाई गाउँ/समाजका अघि स्वीकार गर्न सक्ने नारायणीले ९ वर्ष त्यही अपराधलाई किन लुकाइरहिन् ? यो प्रश्न भने छँदै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर