नेभिगेसन मेनु

फोहोरबाट ग्यास निकालेर पाइपमार्फत् घर-घरमा बाँडिन्छ गरूवा गाउँमा
सम्पादक:南亚网络电视
समय:2023-03-07 15:22

1

दाङको घोराही उपमहानगरपालिका वडा नं. १६, करौती डाँडामा पाइपमार्फत् घर-घरमा बायो ग्यास पठाउन सुरू भएको छ। 

स्थानीय गरूवा गाउँका ३४ घरमा पाइपमार्फत् ग्यास वितरण गरिएको छ। नेपाल उर्जा विकास कम्पनी प्लान्टका म्यानेजर हरिशरण श्रेष्ठले आसपासका अन्य गाउँघरमा पनि ग्यास वितरणको लागि पाइप विस्तार गर्ने कार्य सुरू भएको जानकारी दिए। 

प्लान्टबाट पाइपलाइन बिच्छाएर सिधै आसपासका घरमा अहिले ग्यास वितरण गरिएको हो। प्लान्टबाट जमिनमूनि बिच्छाएर पाइप घर-घरमा लगिएको छ। बिच्छाइएका पाइप भारतबाट ल्याइएका हुन्। 

प्लान्ट फुलफेजमा सञ्चालन गर्नका लागि चाहेजति फोहोर पाउन नसक्दा समस्या भइरहेको म्यानेजर श्रेष्ठले बताए। प्लान्टबाट दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ।  

प्लान्टलाई दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि जम्मा आधा टन फोहोर मात्रै पाउन सकेको उनले जानकारी दिए।

‘दैनिक कम्तीमा १४ टनसम्म फोहोर प्राप्त हुन सके पनि सोचअनुसार ग्यास उत्पादन हुने थियो,’ उनले भने, ‘पैसा हालेर किन्छौं भन्दा पनि प्लान्टलाई पूर्ण रूपमा चलाउन चाहिने फोहर हामीले पाउन सकिरहेका छैनौं।’ 

भनेजति फोहोर पाउन नसक्दा सोचेअनुसार ग्यास उत्पादन हुन नसकेको उनले बताए। उत्पादन थोरै भइरहेको हुँदा आसपासका अन्य गाउँमा पाइप बिस्तार गर्न तथा घर-घरमा ग्यास पुर्‍याउने काम प्रभावित बनेको उनले बताए। पहिलो चरणमा प्लान्ट आसपासका ७ सय ५० घर परिवारका भान्सामा पाइपमार्फत् ग्यास पुर्‍याउने उद्देश्यले सर्भे गरिएको भए पनि त्यो अनुरूप काम हुन सकेको छैन। 

म्यानेजर श्रेष्ठले नजिकको तुलसीपुर उपमहानगरपालिकाले फोहोर दिन नमान्दा पनि समस्या भइरहेको जानकारी दिए।

आवश्यक फोहोर जम्मा गर्न आसपासका अन्य स्थानीय तहसँग पनि छलफल गरिएको भए पनि कठिनाइ भइरहेको उनले बताए। 

भनेअनुसार उत्पादन सुरू भए घोराही-१० को नारायणपुर बजारलगायत आसपासका गाउँहरूमा ग्यास पाइपमार्फत् घर-घरमा पुर्‍याउने योजना श्रेष्ठले सुनाए। 

चाहिने जति मल नपाउँदा गाइभैंसी र  कुखुराको मल किनेर ल्याउनु पर्दा लागत बढी पर्न गएको श्रेष्ठले बताए।

‘हामीले पहिले नै किनेको गाइभैंसी र कुखुराका मलबाट ग्यास उत्पादन गर्न केही सहज भयो,’ उनले भने ‘ अब सधैँ त्यसरी किनेर ल्याउन सम्भव देखिँदैन।’  

जिल्लाका दुई उपमहागनरपालिका र लमही तथा भालुवाङ बजार क्षेत्रबाट दैनिक उत्पादन हुने फोहोर सहज रूपमा उपलब्ध हुन सके आफूहरूलाई सहज हुने उनले बताए। 

प्लान्टबाट फोहोरबाट ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्य राखिएको हुँदा गाई-भैंसीको मल भन्दा पनि बजारबाट दैनिक उत्पादन हुने गल्ने फोहरहरू आफूहरूको आवश्यकता रहेको उनले बताए। 

प्लान्टकै लागि भनेर केही वर्षयता घोराहीले गल्ने र नगल्ने फोहोर छुट्टाछुट्टै उठाउँदै आएको छ। नगल्ने फोहोरसमेत नगरले  स्थानीयबाट खरिद गर्दै आएको छ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाको सहकार्यमा फोहरबाट ग्यास उत्पादन भइ रहेको छ।

उनीहरूका बीचमा २०७५ मंसिर ५ गते सम्झौता भएको छ। कम्पनी र घोराही उपमहानगरका बीचमा २० वर्षे सम्झौता रहेको छ। २० वर्षसम्म कम्पनीले घोराही उपमहानगरपालिकालाई नाफाको ५ प्रतिशत रकम दिने सहमति छ। प्लान्टका लागि घोराही उपमहानगरपालिकाले करिब तीन बिगाहा जग्गा उपलब्ध गराएको छ। ग्यास प्लान्ट २ हजार घन मिटरको रहेकोे छ। सुरूमा  २० करोड रुपैयाँ लागत अनुमान गरिए पनि परिकल्पनाअनुसार पाइपमार्फत् घर-घरसम्म ग्यास पुर्‍याउन झन्डै २२ करोड लाग्ने म्यानेजर श्रेष्ठले बताए। 

प्लान्टले भने जति फोहोर प्राप्त गर्न सक्यो र सोचेअनुरूप ग्यास उत्पादन भयो भने घोराहीको आम्दानीको स्रोत बढ्ने देखिएको छ। 

कम्पोष्ट मलसमेत उत्पादन गर्ने लक्ष्य राखिएको हुँदा सहर बजारमा प्रमुख समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनमा समेत सहज हुने आशा गरिएको छ। त्यसका साथै स्थानीय स्तरमै उत्पादिन बायो ग्यास केही सस्तोमा पाउने हुँदा स्थानीय लाभान्वित हुने प्लान्ट म्यानेजर श्रेष्ठले दाबी गरे।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर